५० मेगावाटको माथिल्लो मर्स्याङ्दी लक्ष्यभित्र बनाएको चाइनिज कम्पनीका प्रमुखले भने- नेपालीहरु अल्छी

    273

    सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले २०६९ माघमा माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजना निर्माण सुरु गर्दा एक वर्षअघिनै सम्पन्न गर्ने लक्ष्य राखेको थियो।

    एक वर्षअघि सक्ने हिसाबले काम गरिरहेका बेला २०७२ बैशाख १२ गते भूकम्प र त्यसपछिको भारतीय नाकाबन्दीले लक्ष्यलाई पर सारिदियो । यति हुँदा हुँदै पनि कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग गरेको सम्झौंता अनुसार निर्माण सम्पन्न गर्न भने सफल भयो ।

    ५० मेगावाटको यो परियोजनाबाट सोमबारदेखि विजुली उत्पादन सुरु हुँदैछ। यही परियोजनाको उद्घाटनका लागि पावर चाइना रिर्सोसेजका अध्यक्ष सेङ युमिङ नेपाल आएका छन्।

    तोकिएको समयभन्दा अगाडीनै कसरी सम्भव भयो परियोजना ?

    जवाफमा अध्यक्ष सेङ युमिङ सफलताको चार वटा मन्त्र सुनाए ।

    समय, सुरक्षा, गुणस्तर र लागत ।

    ‘यही मन्त्रले हामीलाई कुनैपनि परियोजना समयमै सक्न प्रेरित गर्छ,’ उनले भने ।

    उनले नेपाली पत्रकारहरुलाई केही भित्रि कुराहरु पनि सुनाए ।

    माथिल्लो मर्स्याङदी ए परियोजनामा पनि हामीले यही मन्त्रलार्इ प्राथमिकतामा राख्यौ र सफल पनि भयौ। यो परियोजना गर्दा नेपालमा ठूल्ठूला घटना भए। नेपालमा भूकम्प र नाकाबन्दीले हामीलार्इ परियोजना बढाउन अत्यन्तै कठिन भयो। भूकम्पका कारण चीनबाट निर्माणका लागि आवश्यक सामान ल्याउन समस्या भयो।

    निर्माण सामाग्री आइरहेको एक मात्रै चिनियाँ नाकासमेत बन्द हुँदा हामीलाई झनै समस्या पर्यो  । तर यी सबै समस्यालार्इ हामीले समाधान गरेर काम अघि बढाउन सफल भयौ। कुनैपनि परियोजना ढिला हुनु भनेको त्यसले प्रत्यक्ष रुपमा लागत बढ्नु पनि हो ।

    समय बढ्नेवितिकै निर्माण सामाग्रीको मूल्य बढ्छ। कामदारको तलब बढ्दा त्यसले प्रत्यक्ष रुपमा लागत बढेर परियोजनाको रिर्टनलार्इ समेत प्रभावित बनाउँछ। हामीले समयलार्इ कति महत्व दिन्छौ भन्ने कुरा हाम्रा परियोजना प्रमुखलार्इ हेरे मात्रै पुग्छ।

    परियोजनाको निर्माण अवधिभर हाम्रो प्रवन्ध निर्देशक चेन वेन आफ्नो घरनै गएनन्। चार वर्षसम्म घर परिवार छोडेर कुनै पनि परियोजनामा काम गर्छ भन्दा पत्यार नलाग्न सक्छ। तर हामी परियोजना निर्माण तोकिएकै समयमा सक्नका लागि जस्तोसुकै सम्झौंता समेत गर्छौ भन्ने पनि हो।

    चीनको विकासमा यही डेडिकेशन हो। तीस वर्षको अवधिमा चीनले गरेको कडा परिश्रमकै कारण विकासमा फड्को मारेको हो। नेपालमा विकासको बाधा भनेको अल्छीपन हो। नेपालीहरु काम नगरी धेरै विदामै रमाउन्छन्। यही मोजमस्तीमा बढी रमाएको कारण विकासमा पछि परेको हो।

    मध्यमर्स्याङदीमा काम गर्दा हामीले धेरै अनुभव बटुलेका छौ। नेपालमा लगानीको लागि मुख्य समस्या भनेको जग्गा प्राप्ति, वातावरणीय परीक्षण र स्थानीय जनताको समन्वय नै हो।

    हामीले स्थानीय जनताबाट सहयोग नपाएको भन्न खोजेको होइन तर उनीहरुबीचमा समन्वय गर्न सकेमा परियोजना चाँडै सकिन्छ। हामीले विगत २० वर्षदेखि नेपालमा काम गर्दै आएका छौ ।

    हामीले ठेक्का पाएका कम्पनी समयमा किन सकिएको छैन भन्ने आरोप लाग्ने गरेको छ। यो आरोप स्वभाविक पनि हो।

    तामाकोशीदेखि कुलेखानी तेस्रोमा हामीले समयमा काम गर्न नसकेको सत्य हो। आफ्नो लगानी भएको परियोजना समयमै सक्ने तर ठेक्का लिएको परियोजना लामो समय लगाउने भन्ने तपार्इहरुबाट समेत आयो।

    हामीले लगानी गरेको परियोजनामा सबै म्यानेजमेन्ट हाम्रो हुन्छ तर ठेक्का पाएको परियोजनामा म्यानेजमेन्ट अरु हुन्छ। जस्तो कुलेखानी तेस्रोको म्यानेजमेन्ट उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले गरिरहेको छ।

    हामीले गरेको परियोजनामा पैसा चाहिने वितिकै निकाल्न सक्छौ तर कुलेखानीमा उर्जा मन्त्रालयदेखि प्राधिकरणसम्म धाउनुपर्ने अवस्था छ।

    नेपालको सरकारी निकायको काम समयमा हुँदैन यसले परियोजनालार्इ प्रत्यक्ष प्रभावित पार्छ। कुनै समस्या आउनेवितिकै युद्धस्तरमा हामी आफै सल्टाउँछौ तर अर्काको परियोजना सल्टाउन हामी कसरी सक्छौ र ?

     

    स्रोत -बिजमाण्डू