लकडाउनमा पनि तामाकोशीको काम गरिराख्ने निर्णय

1625

बाहिरबाट नयाँ कामदार नलगिने

२१ चैत, काठमाडौं । सरकारले ठूला आयोजनाले बाहिरका कामदारलाई प्रवेश नदिई स्थानीय प्रशासनको सहजीकरणमा काम गर्नसक्ने निर्णय गरेको छ ।

यसबारे राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको तामाकोशी जलविद्युत आयोजनाले चालू कामहरूलाई पूर्ण रूपमा सञ्चालन गर्न सम्बद्ध सरोकारवाला, आयोजना रहेको वडाका वडाध्यक्ष नारायण गुरुङ र स्थानीय सुरक्षा निकायहरूसँगको उपस्थितिमा सहजीकरणसमन्वय बैठक गरेको थियो ।

बैठकले स्थानीय तह, स्थानीयबासी, स्थानीय प्रशासन र सुरक्षा निकायहरूको आपसी सहकार्य, सहयोग र समन्वयमा हाल आयोजनास्थलमा रहेका कामदार र कर्मचारीहरू मात्रै परिचालन गरी निर्माण कार्यलाई पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरेको आयोजनाका उपप्रवन्धक विमल गुरुङले जानकारी दिए ।

आगामी असारभित्र आयोजनाको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । तर, निर्धारित समयमा काम सक्न सहज स्थिति भने छैन ।

लकडाउन अवधिमा बाह्य आगमन पूर्णरूपमा निषेध गरिएको छ । आयोजनास्थलमा रहेका सबैको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिने पनि निर्णय भएको छ ।

आयोजनाको बाँध तथा बालुवा थिग्राउने पोखरीको सोमबारदेखि परीक्षण भएको छ । यसको कुल भौतिक प्रगति ९९ दशमलव तीन प्रतिशत पुगेको छ ।

स्वदेशी लगानीमा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रमुख काम करिब सम्पन्न हुने चरणमा पुगेको छ ।

मात्रै आयोजनाको जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने काममा भने अपेक्षित प्रगति भएको छैन ।

आयोजनाका अनुसार बाँध, मुहान गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिएको छ र त्यो सफल भएको छ ।

आगामी असारभित्र आयोजनाको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । तर, निर्धारित समयमा काम सक्न सहज स्थिति भने छैन ।

सबैभन्दा जटिल ठानिएको आयोजनाको तल्लो साफ्टमा तीन सय ७३ मिटरमध्ये दुई सय ७० मिटर पाइप जडान र माथिल्लो साफ्टमा ३१० मिटरमध्ये १५० मिटरको काम सकिएको छ ।

पाइप जडानको काम आगामी वैशाख महिनाभर सकिने दावी गरिए पनि लकडाउनका कारण काम रोकिएपछि लक्ष्य प्रभावित हुने अवस्था आएको छ ।

ठाडो सुरुङको कामपछि माथिल्लो र तल्लो ठाडो सुरुङका बीचमा रहेको तेर्सो भागमा पाइप जडान गरिनेछ । त्यसका लागि करिब डेढ महिना लाग्ने अनुमान छ । असारमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन गर्ने र त्यसपछि बाँकी पाँच युनिटबाट पनि क्रमशः उत्पादन गर्ने कार्यतालिका छ ।

सिभिलअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कंक्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ  । विद्युत गृहका सम्पूर्ण उपकरण यसअघि नै जडान भइसकेको छ ।

तर, तोकिएको समयमा काम सक्न चुनौतीपूर्ण छ । जडान गरी चार महिनाभित्रमा सबस्टेसन सञ्चालनमा ल्याउन लक्ष्यका साथ काम भइरहेको छ ।

गोरखा भूकम्प र त्यसपछिका पराकम्पन, बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट–२) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

 

अनलाइनखबर