बूढीगण्डकी जलविद्युत् आयोजना तीन ठाउँमा परीक्षण सुरुङ खन्न शुरू

    693

    साउन २७, गोरखा ।

    budhigandaki_testबूढीगण्डकी जलविद्युत् आयोजनाको तीन ठाउँमा परीक्षण सुरुङ खन्न थालिएको छ । गोरखाको घ्याल्चोक गाविसमा दुई र धादिङको सलाङमा एक सुरुङ खन्न थालिएको आयोजना विकास समितिका अध्यक्ष लक्ष्मी देवकोटाले जानकारी दिए । उनका अनुसार ८० मिटर र ३० मिटरका दुईओटा परीक्षण सुरुङ खन्ने काम सकिइसकेको छ । उनले भने, ‘सुरुङ निर्माणस्थलको भौगोलिक अवस्था अध्ययनका लागि परीक्षण सुरुङ खनिएको हो ।’ सुरुङ खन्ने काम फ्रान्सको ट्र्याकबेल्ट कम्पनीले गरेको आयोजनाले बताएको छ । ६ सय मेगावाट क्षमताको सो आयोजना जलाशययुक्त आयोजना हो ।

    आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)को काम करीब २० प्रतिशत सकिएको बताइएको छ । समितिका अनुसार डीपीआर डेढ वर्षभित्र तयार हुने छ । सरकारले चालू आर्थिक वर्षमा सो आयोजनाका लागि रू.२६ करोड बजेट विनियोजन गरेको छ । देवकोटाले डीपीआर तयार गर्न रू.९२ करोड लाग्ने टेलिफोनबाट जानकारी दिए ।

    सरकारको लगानीमा निर्माण हुने सो आयोजनाको अनुमानित लागत करीब २ खर्ब रुपैयाँ रहेको छ । ‘डीपीआर तयार भएपछि मात्र लागत यकिन हुने देवकोटाले बताए । उनका अनुसार निर्माण शुरू भएको ८ वर्षभित्र पूरा हुने सो आयोजनाबाट उत्पादित बिजुली स्वदेशमै खपत हुनेछ ।

    आयोजनाअन्तर्गत बूढीगण्डकी र त्रिशूलीको दोभानबाट २ किलोमिटर माथि रिउरेनीटारको मलायओढारमा बाँध निर्माण गरिनेछ । सो बाँधबाट भूमिगत रूपमा पानी लगेर गोरखाको घ्याल्चोक र धादिङको सलाङघाटनजिकै विद्युत्गृह बनाउने समितिको योजना छ । बाँध २ सय २५ मिटर अग्लो र ५ सय मिटर चौडा हुनेछ । देवकोटाका अनुसार बाँधबाट २ सय ७६ मिटर लामो सुरुङमार्फत टर्बाइनसम्म पानी लगिनेछ । आयोजना निर्माणमा सकेसम्म स्वेदशी लगानी प्रयोग गरिने समितिले बताएको छ । सरकारी अनुदान, गोरखा र धादिङ जिविस तथा ती जिल्लाका गाविसको अनुदान, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सैनिक कोष, सहकारी संस्थाहरू, एनआरएन तथा वैदेशिक रोजगारीमा गएका नेपालीसँग ऋण लिएर आयोजना सम्पन्न गर्ने उनले बताए । आयोजना पूरा भएपछि गोरखा र धादिङ जिल्ला लोडशेडिङमुक्त हुने देवकोटाले दाबी गरे ।

    जलाशययुक्त आयोजना भएकाले तुलनात्मक रूपमा यस आयोजनाको लागत महँगो देखिए पनि राष्ट्रिय अर्थतन्त्रको हिसाबले हेर्दा सस्तो पर्ने उनको भनाइ छ ।  मलायओडारमा बाँध बाँधेपछि ५० किलोमिटर लामो ताल बन्ने उनले बताए । उनले भने, ‘सो ताल फेवातालभन्दा १० गुणा ठूलो हुनेछ, त्यहाँ डुङ्गा चलाउने, र्‍याफ्टिङ गर्ने, प्याराग्लाइडिङ गराउने, बूढीगण्डकी भिलेज बनाउने, तारे होटल र रिसोर्ट बनाउने पनि समितिले परिकल्पना गरेको छ ।’ त्यो परिकल्पना पूरा भएमा सो क्षेत्र नै पर्यटकीय क्षेत्रको रूपमा विकसित हुने उनले बताए । आयोजनाबाट गोरखाका १२ र धादिङका ११ गाविसका गरी ३ हजार ४ सय घरधुरीका २० हजार बासिन्दा विस्थापित हुनेछन् । समितिका अनुसार उनीहरूलाई मुआब्जा दिई स्थानान्तरण गरिनेछ ।