जनकपुरमा अबदेखि लोडसेडिङ नहुने

    1460

    अनियमित लोडसेडिङले आजित रहेको जनकपुर नगर क्षेत्रलाई नेपाल विद्यूत प्राधिकरणले लोडसेडिङ मुक्त घोषणा गरेको छ ।

    नेपाल विद्युत प्राधिकरणले भदौ १ गते मनाउंदै आएको वार्षिकोत्सवको अवसरमा जनकपुर उपमहानगरपालिका भित्र विद्युत आपूर्ति नियमित हुने नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख इञ्जिनियर जितेन्द्र कुमार झाले बताए ।  प्राधिकरणले पछिल्लो एक सातादेखि जनकपुरमा लोडसेडिङ मुक्तका लागि परीक्षण आपूर्ति गरेको थियो । परिक्षण आपूर्ति सफल भएकाले भदौ १ बाट जनकपुर नगर लोडसेडिङ मुक्त भएको प्रमुख इञ्जिनियर झाले बताए । जनकपुरलाई साउन १३ गते विद्युत चुहावट मुक्त घोषणा गरिसकेकोले अगामी दिनमा अनियमित विद्युत लोडसेडिङको समस्या नहुने उनले बताए ।

    प्रमुख इञ्जिनियर झाका अनुसार धनुषा जिल्लामा दैनिक ४० मेगावाट विद्युत खपत हुने गरेको छ । त्यसमध्ये जनकपुर नगर क्षेत्र भित्र १२ मेगावाट, जिल्लाको ग्रामीण क्षेत्रमा १३ मेगावाट र १५ मेगावाट उद्योग कलकारखानामा खपत हुने गरेको छ ।

    ‘भारतको मुजप्mफरपुरबाट दैनिक ५० मेगावाट र कटैयाबाट १ सय २५ मेगावाट ढल्केवर विद्युत स्टेशनमा आपूर्ति भईरहेको छ ’, प्रमुख इञ्जिनियर झाले भने— ‘उक्त आपूर्तिबाट जनकपुरलाई लोडसेडिङ मुक्त घोषणा गरिएको हो । ६ महीनाभित्र धनुषा जिल्लालाई नै लोडसेडिङ मुक्त गर्ने नेपाल विद्युत प्राधिकरणको तयारी रहेको छ । यसका लागि आवश्यक कार्यहरु धमाधम भईरहेको छ ।’