जलविद्युत आयोजना निर्माणमा व्यवसायीको अग्रसरता

    212

    सिन्धुपाल्चोक – ब्रह्मायणी नदी भूमिगत सुरुङमार्फत इन्द्रावतीमा खसालेर त्यहाँ बहुउद्देश्यीय जलाशययूक्त जलविद्युत आयोजना निर्माण गर्न जलविद्युत व्यवसायी अग्रसर भएका छन्।

    जलविद्युत विज्ञसहितको अध्ययनबाट दुवै नदीलाई एकै ठाउँमा मिसाएर जलाशयूक्त आयोजना निर्माण सम्भव रहेको निष्कर्ष निकालेका उनीहरुले यो महत्वकांक्षी योजना अघि सारेका हुन् । लामो अध्ययनपछि व्यवसायीले प्रस्तावित योजनालाई इन्द्रावती बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत आयोजना नाम दिएका छन् ।

    सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाको संगमस्थल बन्देउमा जलयाशयूक्त आयोजना निर्माण गर्न सम्भव देखिएको अध्ययन टोलीका एक सदस्य रहेका जलविद्युत प्रवद्र्धक उमेश कसजूले बताए । ‘ब्रह्मायणी नदी सुरुङबाट इन्द्रावतीमा खसालेपछि यो सम्भव देखियो,’ सिन्धुपाल्चोकमै निर्माणाधीन २२ मेगावाटको माथिल्लो चाकु–ए र ३६ मेगावाट क्षमताको अपर बलेफी–ए आयोजनाको नेतृत्व गरिरहेका कसजूले भने ।

    उनका अनुसार ७–८ किलोमिटर लामो सुरुङमार्गबाट हिमाली क्षेत्र गोल्चे र गुम्बाहुँदै बहेर आएको बह्मायणी नदी इन्द्रावतीमा खसालेपछि त्यहाँ ८० मेगावाट क्षमताको जलायशयूक्त आयोजना बनाउन प्राविधिक अध्ययनले सम्भव देखाएको हो । अध्ययनको निष्कर्षपछि जलविद्युत क्षेत्रका सफल स्वदेशी व्यवसायी यो जलायशयुक्त आयोजना बनाउन कस्सिएको उनले बताए । बह्मायणी सुरुङमा छिराउनेस्थलदेखि इन्द्रावतीमा खसाल्नुअघि थप दुई जलविद्युत आयोजना बनाउने उनीहरुको प्रस्ताव छ ।

    यसो गर्न ७–८ किमी सुरुङमार्ग बनाउनु पर्ने कसजू बताउँछन् । ‘बह्मायणीको पानी खसालेको स्थानदेखि बन्देउसम्म १४ किमी लामो जलायश बन्ने छ,’ डेढ वर्षदेखिको अध्ययनको निष्कर्ष सुनाउँदै उनले भने । अध्ययनकर्ताहरुका अनुसार सुरुङको मध्यभागमा ब्रह्मायाणीकै पानीबाट ३९ मेगावाट क्षमताको जलविद्युत उत्पादन सम्भव छ । दुवै आयोजना एकसाथ अघि बढाउने सोचका साथ थप अध्ययनमा जुटिरहेको कसजू बताउँछन् । उनी भन्छन्, ‘ब्रह्मायणी सुरुङमा छिराउनुअघि कुविण्डे आसपासमै अर्को आयोजना बनाउन पनि सम्भव देखिएको छ ।’

    व्यवसायीहरुले इन्द्रावती थुनेपछि बन्ने जलाशयमा बोटिङ सञ्चालन र माछापालन गरेर प्रर्यटन र कृषि प्रवद्र्धन गर्ने सहितको योजना अघि सारेका हुन् । ‘यो आयोजनालाई व्यवसाय मात्र नभएर नमुना पर्यटकीय गन्तव्य बनाउने हाम्रो सोच छ,’ एक मेगावाट क्षमताको हाँडीखोला जलविद्युत आयोजना सफल सञ्चालन गरिरहेका कसजूले भने, ‘अध्ययनलाई थप व्यवस्थित र वैज्ञानिक बनाउँदै आयोजना दर्ता प्रक्रिया र लगानीकर्ता खोजी सुरु भइसकेको छ।’

    इन्द्रावतीमा जलाशययुक्त आयोजना निर्माण प्राविधिक हिसावले सम्भव देखिएकाले लगानी अभाव नहुने व्यवसायी बताउँछन् । जलविद्युत प्रवद्र्धक कसजू त स्वदेशी व्यवसायीबाटै यो आयोजना निर्माण सम्भव देख्छन् । ‘स्वदेशी निजी क्षेत्रका व्यवसायीबाट ठूल्ठूला आयोजना बनिरहेका छन् भने यो असम्भव नै छैन,’ उनी सुनाउँछन् । उनका अनुसार प्रस्तावित सुरुङ र जलायश बन्ने स्थलमा सडक लगायत पूर्वाधार विकासमा खर्च गर्न नपर्ने भएपछि व्यवसायी थप हौसिएका छन् ।

    जाइकाको सहयोगमा नेपाल सरकारको इन्द्रावतीमा जलाशययुक्त आयोजना बनाउन धेरै पहिलादेखि अध्ययन थालेको थियो । चार वर्षअघि मात्र सरकारले यसको प्रारम्भिक सर्भे गर्न बजेट कार्यक्रममार्फत बजेट नै छुट्याएको थियो । इन्द्रावतीको पानीले मात्र जलायशयुक्त आयोजना नबन्ने भन्दै सरकार र जाइका दवै पछि हटेका थिए । त्यही अध्ययनलाई आधार बनाउँदै जलविद्युत व्यवसायीले ब्रह्मायणी मिसाएपछि जलाशययुक्त आयोजनाको सपना देखेका हुन् ।

    इन्द्रावतीमा जलायशयुक्त आयोजना सम्भव देखेसँगै निर्माणमा कस्सिएका व्यवसायीले काभ्रेको दोलालघाट हुँदै जलाशयबाट बाहिरिने पानीलाई सुरुङमार्फतै आसपासका क्षेत्रमा पु¥याएर जलविद्युतका थप आयोजना निर्माण गर्नेबारे उनीहरू अध्ययनमा केन्द्रित छन् । ‘महत्वकांक्षी देखिएपनि आर्थिक र प्राविधिक हिसावले यो सम्भव छ,’ जलविद्युत व्यवसायी कसजूको दाबी छ ।

    स्रोत:नागरिक