बीपीसीको महशुल बढाउने प्रस्तावमाथि छलफल

    4009

    असोज १५, काठमाडौं (अस) ।

    Butwal Power Company (BPC)बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी)ले विद्युत् महशुल बढाउने प्रस्ताव गरेको छ । बीपीसीले गरेको महशूल वृद्धिको प्रस्तावमाथि मङ्गलवार छलफल भएको महशूल निर्धारण आयोगका अध्यक्ष गणेशप्रसाद सुब्बाले अभियानलाई बताए । उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणसरह नै महशुल कायम हुनुपर्ने माग बीपीसीले राखेको छ ।’ पश्चिमका पाँच जिल्लामा प्रसारण लाइनबाट विद्यत् आपूर्ति गर्दै आएको बीपीसीले लामो समयसम्म महशुल वृद्धि नभएका कारण नोक्सानी हुँदै आएको बताउँदै आएको छ ।

    ‘बीपीसीको महशुल प्राधिकरणको जस्तै (औद्योगिक, सर्वसाधारणलगायत) फरक फरक नभएकाले छुट्टाछुट्टै कायम गर्न प्रस्ताव गरेको छ,’ उनले भने । बीपीसीले पश्चिमका प्यूठान, अर्घाखाँची, रोल्पा, स्याङ्जा र पाल्पामा सीधै आफ्नो प्रसारण लाइनबाट विद्युत् वितरण गरिरहेको छ । बीपीसीले १२ दशमलव ५ मेगावाटको झिमरुक जलविद्युत् आयोजना र ५ दशमलव १ मेगावाटको आँधीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी सो क्षेत्रमा वितरण गर्दै आएको छ ।

    प्रस्तुति: आर्थिक अभियान राष्ट्रिय दैनिक