नेपालमा बिजुली बेच्न एसएनको प्रस्ताव

    2679

    काठमाडौं, १५ असोज-

    SN Powerनर्वेको एसएन पावरले तामाकोसी–३ जलाशययुक्त आयोजना (६ सय ५० मेगावाट) बाट उत्पादन हुने बिजुली नेपालमै बेच्ने बताएको छ । लगानी बोर्ड र एसएन पावरका अधिकारीबीच मंगलबार भएको आयोजना विकास सम्झौता (पीडीए) वार्ताका क्रममा उसले यस्तो प्रस्ताव गरेको हो  । एसएन पावरले यसअघि विद्युत् खरिद सम्झौता (पीपीए) का लागि नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिइसकेको छ । ठूलो आयोजना भएकाले विद्युत् प्राधिकरणले यस विषयमा प्रक्रिया अघि बढाएको छैन ।
    “एसएन पावरले बिजुली प्राधिकरणलाई बिक्री गर्ने आशय व्यक्त गरेको छ,” बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले भने, “विद्युत् प्राधिकरणले पीपीए गर्छ वा गर्दैन अनिश्चित छ ।” एसएन पावरले आर्कषक पीपीए पाए नेपालमै बिजुली बिक्री गर्न चाहेको बताउँदै आएको छ । उसले पहिलो प्राथमिकता नेपाल र नभए भारत निकासी गर्ने बताउँदै आएको छ ।
    आयोजनाबाट वार्षिक २ अर्ब ४० करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजना बनाउन १ खर्ब ३० अर्ब रुपैयाँ लाग्ने कम्पनीले गरेको अध्ययनले देखाएको छ ।
    कम्पनीले २०६८ फागुनमा विद्युत् उत्पादन लाइसेन्सका लागि विद्युत् विकास विभागमा दरखास्त दिएको थियो । निर्माण सुरु भएको ५ वर्षमा आयोजना सम्पन्न गर्ने तालिका कम्पनीले तयार गरेको छ । सन् २०१७ को अन्त्यसम्म आयोजना निर्माण गरिसक्ने योजना भए पनि पीडीमा भएको ढिलाइले योजनापछि धकेलिएको छ ।
    एसएन पावरले भारतको टाटा पावर लिमिटेडसँग आधा लगानी साझेदारी गरिसकेको छ ।
    निर्माण, सञ्चालन, स्वामित्व र हस्तान्तरण (बुट) नीतिअन्तर्गत आयोजना बन्न लागेका हो । कम्पनीले विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) तयार गर्नुका साथै वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) को काम समेत सकेको छ । ऊर्जा मन्त्रालयले एसएनलाई २०६३ फागुन २१ गते तामाकोसी दोस्रो र तेस्रोबाट विद्युत् उत्पादनका लागि अध्ययन गर्न सर्वेक्षण लाइसेन्स दिएको थियो । उसको लाइसेन्स अवधि २०६८ फागुनमै सकिएको हो ।
    आयोजनाको सुरुङ १७ किलोमिटर लामो हुनेछ । भीमेश्वर नगरपालिका र नाम्दुमा ९६ मिटर अग्लो बाँध निर्माण हुनेछ । आयोजनाबाट दोलखाको १ नगरपालिकासहित १९ गाविस र रामेछापको फुलासी गाविस प्रभावित हुनेछन् । आयोजना निर्माण गर्दा दोलखाको पुरानो व्यापारिक केन्द्र गुमुखोला र नागदह बस्ती पूरै डुबानमा पर्नेछ ।
    यस्तै एसएनले नेपालमा गर्दै आएको जलविद्युत् लगानीसम्बन्धी सबै कारोबार अब नर्वेकै स्ट्याटक्राफ्ट इन्टरनेसनल हाइड्रोले हेर्ने भएको छ । कम्पनीको लगानी संरचना परिवर्तन गरी नेपालको लगायत भारतको सम्पूर्ण कारोबार स्ट्याटक्राफ्ट इन्टरनेसनल हाइड्रोले गर्नेछ । दुई महिनाअघि स्ट्याटक्राफ्ट, नर फन्ड र दक्षिण अमेरिका हेर्ने अगुवा इमाराबीच सेयर संरचना परिवर्तन गर्ने विषयमा सहमति भइसकेको छ । अब सोको कार्यान्वयन हुन बाँकी छ ।
    परिवर्तित लगानी संरचनाअनुसार एसएन पावरमा स्ट्याट क्राफ्टमा ६० प्रतिशत र नरफन्डको ४० प्रतिशत लगानी रहनेछ । यसअघि स्ट्याटक्राफ्ट र नरफन्डको आधा आधा सेयर लगानी रहेको थियो । अन्तर्राष्ट्रिय अगुवा कम्पनी बन्नका लागि सेयर संरचनामा परिवर्तन गरेको एसएनले जनाएको छ ।

    प्रस्तुति: कारोबर