बत्ती आउने-जाने समस्या बढ्यो, के गर्दैछ प्राधिकरण ?

1787

कुलमान भन्छन् : समस्या समाधान हुँदैछ

१ पुस, काठमाडौं । विद्युत प्राधिकरणले पछिल्ला दिनमा विद्युत उपभोग बढाउन उपभोक्तालाई लगातार आग्रह गरिरहेको छ । तर, विद्युत आपूर्तिको नियमिततामा भने उसले आश्वस्त तुल्याउन सकेको छैन ।

केही दिनयता बेला-कुबेला झ्याप्झ्याप बिजुली जाने समस्याले राजधानीकै उपभोक्ता दिक्क बनिरहेका छन् । मौसम बदलिएर गत हप्ता हल्का वर्षात् भएलगत्तै यस्तो समस्या सुरु भएको हो । उपत्यकाभित्र र बाहिर धेरै स्थानमा बिजुली आउने र जाने भइरहेको छ ।

‘साँझमा इन्डक्सनमा भात बसालेपछि फ्याट्ट बत्ती गयो । आयो, गयो अनि फेरि आयो । भात कच्मचियो, तरकारी पनि भुट्दाभुट्दै सेलायो,’ पाटनकी मोनिका श्रेष्ठ भन्छिन्, ‘लोडसेडिङ त हटिसक्यो, यो झ्याप्प समस्या पनि प्राधिकरणले हटाइदिन पर्‍यो ।’

गोठाटारकी गृहणी सगुन न्यौपाने भन्छिन्, ‘अस्ति राति १२ बजे निभेको बत्ति भोलीपल्ट बेलुकी १० बजेमात्र आयो । लोडसेडिङ हट्यो भनेर ढुक्क भएर बस्नु नहुने रहेछ ।’

कति उपभोक्ता थन्क्याएको इन्भर्टर पनि पुन प्रयोगमा ल्याउन बाध्य भएका छन् भने कति नयाँ किन्ने पनि सोचिरहेका छन् ।

पेप्सीकोलाका सन्तोष घिमिरे भन्छन्, ‘बिजुली यसरी नै आउनेजाने भइरहने हो भने इन्भर्टरको जोहो गर्नैपर्ने भयो ।

विद्युत प्राधिकरणले यस्तो समस्या पूर्णरुपमा प्राविधिक कारणले भएको बताउने गरेको छ । तर, २४ घन्टा उज्यालोमा बस्ने बानी परेका सर्वसधारणलाई ५ मिनेटमात्र पनि बत्ति जाँदा सकस हुन्छ ।

अझ पछिल्लो समयमा प्राधिकरणले बिजुलीको खपत बढाउन इन्डक्सनसहित विद्युतीय उपकरणको प्रयोग गर्न ग्राहकलाई आग्रह गर्दै आएको छ । त्यसमा भर परेर इन्डक्सन प्रयोग गर्न थालेका उपभोक्ता प्राधिकरणसँग क्रुद्ध भएका छन् ।

‘अहिले नै ग्यास चटक्कै छाडेर इन्डक्सनमा जाँदा भोकै बस्नुपर्ने अवास्था आउने डर हुने रहेछ,’ मोनिका भन्छिन् ।

अघोषित विद्युत कटौतीले घरेलु ग्राहकभन्दा बढी व्यावसायिक र औद्योगिक ग्राहकलाई झन् मर्का पर्ने गरेको छ । वर्षाको केही महिना पनि यस्तै समस्या देखिएको थियो । धेरै पानी परेको र हावाहुरी चलेका बेला लाइन ट्रिपिङ हुनु स्वभाविक भए पनि सिमसिमे पानी परेलगत्तै लाइन जानुलाई सर्वसधारणले अस्वभाविक मानेका छन् ।

के गर्दैछ प्राधिकरण ?

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ गत हप्ता हल्का पानी परेपछि वितरण लाइनमा समस्या देखिएको बताउँछन् । उनका अनुसार सिमसिमे पानी परेपछि इन्सुलेशन कम हुँदा लाइन ट्रिप (आफैं काटिने समस्या) धेरै भएको हो ।

‘देशभर नै यस्तो समस्या आएपछि हामीले सबैतिर समाधानको लागि काम गर्‍यौं, अहिले समस्या निकै कम भएको छ,’ उनले भने, ‘इन्सुलेसन कम हुँदा लिकेज बढ्छ र लाइन काटिन्छ । ठूलो पानी परेको भए जमेको धुलो पखालिन्थ्यो, तर सिमिसिम पानी परेपछि त्यसले झन् वायुमण्डको धुलो पनि टाँसिने समस्याले कटौती बढ्यो ।’

कतिपय स्थानमा सडक विस्तारको काम पनि चलिहरेकाले पोल सार्न पनि लाइन काट्नु परेको घिसिङले बताए । उनका अनुसार जाडो बढेपछि उपत्याकमा विद्युत खपत बढेको छ । करिब ४ सय मेगावाट बिजुली काठमाडौं उपत्यकामै खपत हुन थालेको छ । कतिपय ग्राहकको घरमा नै लाइन स्वीचिङ भइरहेकोले त्यसमा पनि ध्यान दिन उनले आग्रह गरे ।

‘अहिले धेरैले आफ्नो घर तथा कार्यालयमा विद्युतीय उपकरणको प्रयोग बढाउनुभएको छ । तर, आन्तरिक रुपमा विद्युत मिटरको लोड बढाउनुभएको छैन, यसले गर्दा घरभित्रै लोड नधानेर एमसीबी स्वीच झर्ने समस्या पनि बढेको छ,’ घिसिङ भन्छन्, ‘धेरै बिजुली खपत गर्ने उपकरण चलाएपछि घरभित्रका लाइनको क्षमता पनि बढाउनुपर्छ । मिटर र एमसीबी पनि त्यसैअनुसार राख्ननुपर्छ ।’

मागअनुसार बिजुलीको उपलब्धता पर्याप्त भएकाले प्राधिकरणले ट्रान्सर्फमरहरुको क्षमता बढाउने कामलाई प्राधिकरणले तीव्रता दिएको छ । त्यसका लागि पनि ठाउँ-ठाउँमा ट्रान्सर्फमर फेर्ने काम भइरहेको छ । यस्ता प्राविधिक मर्मत र सुधारका काम गर्दा पनि लाइन काट्नु परेको घिसिङ बताउँछन् ।

प्राधिकरणले यही समस्यालाई सम्बोधन गर्न भन्दै झण्डै ७ हजारभन्दा बढी नयाँ ट्रान्सर्फमर राखिसक्यो । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार प्रणालीलाई विश्वसनीय बनाउन पनि विभिन्न योजना कार्यान्वयनमा छन् । त्यसका लागि पनि लाइन काट्नु परिरहेका बेला गत हप्ताको सिमसिमे पानी वितरण लाइनमा अर्को समस्या बनेर आएको हो ।

प्राधिकरण अझै हजारौं ट्रान्सफर्मर फेर्ने योजनामा छ । अब मागभन्दा करिब ५० प्रतिशत बढी आपूर्ति थेग्न सक्ने प्रणाली बनाउने रणनीति प्राधिकरणले लिएको छ । घिसिङले सबै वितरण केन्द्रहरुलाई मागभन्दा ५० प्रतिशत बढी क्षमताको ट्रान्सर्फमरहरु राख्न निर्देशन दिएका छन् । प्राधिकरणमा ट्रान्सर्फमरको कुनै अभाव नरहेको घिसिङले बताए ।

‘कतिपय ठाउँमा सवस्टेसनको क्षमता बढाउनुपर्ने छ, त्यसका लागि पनि धेरै स्थानमा काम हुँदैछ,’ उनले भने, ‘स्वस्टेसनको क्षमता उच्च रहेको ठाउँमा ट्रान्सर्फमर पनि उच्च क्षमताको नै राख्दैछौं ।’

पुरानो प्रणालीले समस्या

प्राधिकरणलाई सन् २०२४ सम्म ५ हजार मेगावाट बिजुली वितरण गर्न सक्ने क्षमता तयार गर्न थप २६ हजार ट्रान्सर्फमर चाहिएको छ ।

‘विद्युत वितरणको गुणस्तर सुधार्ने कुरा नियमित चलिरहन्छ । ट्रान्सर्फमर फेर्न थालेपछि ओभरलोडका कारण लाइन काटिने समस्या घटेको छ । कहिलकाहीँ मौसमको वाधा पर्छ, त्यसलाई पनि न्युनीकरण गर्न खोजेका छौं,’ वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक हरराज न्यौपाने भन्छन् ।

प्राधिकरणले करिब १४ हजार नयाँ ट्रान्सर्फमर ल्याएर प्रणाली सुधारको काम गरिरहेको छ । त्यसको प्रभावकारिता भने कमजोर देखिएको छ । स्थानीय क्षेत्रमा लोड बढ्दा धान्न नसकेर ट्रान्सर्फमर पड्कन्छन् । प्रणालीमा पर्याप्त बिजुली भए पनि पूर्वाधारले धान्न नसके त्यो वितरण गर्न नसकिने अवस्था आउँछ ।

पछिल्लो सयममा बिजुलीको माग र खपत दर बढ्दो छ । मागअनुसार प्रणालीमा बिजुली उपलब्ध भए पनि प्राधिरकणले वितरणका लागि त्यसअनुसारका पूर्वाधार बनाउन सकेको छैन ।

प्राधिकरणले लामो समयसम्म नयाँ ट्रान्सर्फमर फेर्न सकेको थिएन । यसपटक बलियो र कम चुहावट हुने खालको ट्रान्सर्फमर ल्याएर वितरण प्रणालीलाई विश्वसनीय बनाउने काम भरहेको प्राधिकरणको दाबी छ ।

प्राधिकरणको प्रणाली पनि पुरानो छ । यसलाई स्तरोन्नति नगरेसम्म बिजुली काटिने समस्या समाधान गर्न कठिन हुने तर्क प्राधिकरणका अधिकारीहरु गर्छन् । यद्यपि, वितरण लाइनमा लोडअनुसारको ट्रान्सर्फमर थप्ने र काठको पोल हटाउनेदेखि ‘मल्टिपल रिंग बैंक’ बनाउने सम्मको प्रयास सुरु भएको छ ।

अहिले बिजुलीको वितरण सिंगल लाइन सिस्टममा आधारित छ । अब त्यसलाई डबल लाइन सिस्टममा रुपान्तरण गर्न अत्यावश्यक रहेको कार्यकारी निर्देशक घिसिङ बताउँछन् । यसका लागि काठमाडौंमा काम पनि भइरहेको छ ।

प्रणालीलाई विश्वसनीय र प्रभावकारी बनाउन ‘मल्टिपल रिङ बैंक’ को अवधारणाअनुसार पूर्वाधार निर्माण भइरहेको उनले बताए । एक स्थानको सवस्टेशनमा समस्या आउँदा अर्को सबस्टेसनबाट लाइन दिन सकिने गरी यस्तो रिङ तयार गरिँदैछ ।

लोडसेडिङ व्यवस्थापनसँगै प्राधिकरणले बिजुलीको गुणस्तर र सुरक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाएको कार्यकारी निर्देशक घिसिङको दाबी छ । हाल उपत्यकामा विभिन्न स्थानमा नयाँ सबस्टेसन निर्माण भइरहेको छ । यो काम सकिएपछि एकातर्फबाट लाइन काटियो भने अर्को स्टेशनबाट लाइन दिन सकिनेछ ।

वितरण लाइनलाई उच्च भोल्टेजमा लैजान पनि प्राधिकरणले काम थालेको छ । अहिले ११ केभी र ३३ केभीमा मात्रै वितरण भइरहेको लाइनलाई १३२ केभीमा लैजाँदा उपभोक्ताले गुणस्तरीय बिजुली पाउने प्राधिकरण बताउँछ । हाल नेपाल एक सय ३२ केभीको प्रसारण लाइनमै निर्भर छ । यस्तो अवस्थामा काठमाडौंमै बाहिरी चक्रपथमा २२० केभीको प्रसारण लाइन निर्माण गर्ने योजना छ ।