चिलिमेलाई ५८५ मेगावाटको लाइसेन्स

    1621

    काठमाडौं: चिलिमे जलविद्युत् कम्पनीले ५ सय ८५ मेगावाट करनकका दुई जलविद्युत् आयोजनाको सर्भे अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।

    कम्पनीले पाँच जलविद्युत् आयोजनाका लागि ऊर्जा मन्त्रालयमा आवेदन दिएकोमा मन्त्रालयले करिब ७५ अर्ब रुपैयाँको लागतमा बन्न लागेका ४ सय २० मेगावाटको बूढीगण्डकी प्रोक र १ सय ६५ मेगावाटको सेती नदी–३ को सर्भे लाइसेन्स दिएको छ । चिलिमे कम्पनीका प्रमुख कार्यकारी अधिकृत दामोदरभक्त श्रेष्ठले ऊर्जा मन्त्रालयले दुई जलविद्युत् आयोजनाको सर्भे लाइसेन्स दिएको पुष्टि गरे ।

    “दुई जलविद्युत् आयोजनाका लागि अनुमतिपत्र पाएका छौं, जसमध्ये बूढीगण्डकी प्रोकको लागत करिब ५० अर्ब र सेतीनदीको २५ अर्ब रुपैयाँ रहेको छ,” श्रेष्ठले भने । उनका अनुसार सहायक कम्पनी निर्माण गरेर निर्माण गरिने आयोजनामा चिमिलेको ३० देखि ४० प्रतिशतसम्म इक्वीटी (सेयर) पुँजी लगानी हुनेछ । यसको आधारमा दुई आयोजनामा मात्र चिलिमेले ८ अर्बभन्दा बढी लगानी गर्नेछ ।

    • बूढीगण्डकी प्रोक र सेती नदीको सर्भे लाइसेन्स
    • दुई आयोजनाको लागत ७५ अर्ब
    • चिलिमेले मात्र ८ अर्ब लगानी गर्दै

    चिलिमे जलविद्युत् कम्पनीले बूढीगण्डकी प्रोक र सेती नदीबाहेक २ सय ७० मेगावाटको बूढीगण्डकी स्यार तथा ४६ र ४८ मेगावाटका दुई दूधकोसी जलविद्युत् आयोजनाको सर्भे अनुमतिपत्रको लागि आवेदन दिएको छ । बूढीगण्डकी र सेतीनदी जलविद्युत् आयोजनाको दुई वर्षको अवधिको लागि सर्भे लाइसेन्स चिलिमे कम्पनीलाई दिइएको र अन्य प्रकृयामा रहेको विद्युत् विकास विभागका सूचना अधिकारी बाबुराज अधिकारीले जानकारी दिए ।

    २२ बर्ष अघि २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना स्वदेशी लगानी निर्माण सुरु गरेर पूरा गरेको चिलिमे जलविद्युत् कम्पनीले १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी र ५७ मेगावाटको साञ्जेन गरी २ सय ७० मेगावाटका तीन आयोजना निर्माण गरिरहेको छ ।

    निर्माणाधीन तीन आयोजना ५० अर्बभन्दा बढीको लगानीमा निर्माण हुन लागेकोमा स्वँपुजी (इक्वीटी) मात्र साढे १६ अर्ब रुपैयाँबराबर छ । कम्पनीले अहिले १ सय ११ मेगावाटको रसुवागढीको ६ अर्ब ८४ करोड इक्वीटीमध्ये ३३ प्रतिशत तथा १ सय २ मेगावाटको मध्यभोटेकोसीको ६ अर्ब र साढे ४२ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेनको ३ अर्ब ६५ करोड इक्वीटीमध्ये ३८ प्रतिशत लगानी गर्न लागेको छ ।

    स्रोत:कारोबार