माथिल्लो तामाकोसी निर्माणस्थलमै बोर्ड बैठक

    1580

    तोकिएको समयमा सक्न दुई सिफ्टमा काम

    दोलखाः चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण २०७५ असारभित्र पूरा गर्न ऋण लगानीकर्ता निकायले जोड दिएका छन् ।

    आयोजनाको स्थलगत अवलोकमा पुगेका कर्मचारी संचय कोष, नेपाल टेलिकम र बिमा संस्थानलगायत निकायका प्रतिनिधिले तोकिएको समयमा आयोजना सक्न जोड दिएका हुन् ।

    माथिल्लो तामाकोसीको उत्पादनपछि विद्युत् भारत निर्यात हुन सक्ने बताएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित लगानीकर्ताका प्रतिनिधिहरू शनिवार आयोजनास्थल पुगेका हुन् ।

    उनीहरूले आयोजनाको हेडवक्स क्षेत्र लामाबगर, सुरुङ, विद्युत् गृह लगायतको स्थलगत निरीक्षण समेत गरे ।

    आयोजनाको काम छिटो गर्नका लागि आयोजनाको प्रबद्र्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर कम्पनी सञ्चालक समितिको बैठक समेत आयोजनास्थल गोंगरमा नै बस्यो ।

    बोर्ड बैठकमा आयोजनाका समस्याहरू माथि छलफल गरेको छ । सञ्चालक समितिका अध्यक्ष प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ आफैँ रहेका छन् ।

    छलफलमा लगानीकर्ताका प्रतिनिधि समेत रहेका बोर्ड सदस्यहरूले २०७५ असारभित्र सबै युनिट सञ्चालन गर्नुपर्ने तथा सम्भव नभए ६ मध्ये पहिलो युनिट मात्रै भए पनि सञ्चालनमा ल्याउने गरी काम सम्पन्न गर्न व्यवस्थापन पक्षलाई आग्रह गरे ।

    सञ्चालक समितिका अध्यक्ष घिसिङसहितको टोलीले आयोजनाको सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकलको ठेकेदार प्रतिनिधिहरूका साथै परामर्शदातासँग पनि छलफल गरेको छ ।

    अध्यक्ष घिसिङले आयोजनाको काम निर्धारित समय अघि नै पूरा गर्नका लागि सिभिलको काम ३ सिफ्टमा गर्न समेत ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेनलाई निर्देशन दिए ।

    अहिले २ सिफ्टमा काम हुँदै आएको छ । आयोजनाको ८.६ किलोमिटर हेडरेस सुरुङमध्ये ९ सय ९० मिटर बाँकी छ । त्यस्तै माथिल्लो २१० मिटर ठाडो सुरुङको काम पनि आधा भन्दा बढी छ ।

    ‘आयोजना निर्धारित समय तालिका अनुसार सम्पन्न हुनुपर्छ,’ ऋण लगानीकर्ता निकायका प्रतिनिधिले भने, ‘आयोजनाका समस्या के के छन् ? अवरोध केमा छ ? आयोजना समयमा ल्याउन समस्या समाधान गरेर जान हामी सहयोगी भूमिका खेल्छौं ।’

    घिसिङसहित सञ्चालक समिति सदस्य हरराज न्यौपाने, मोहनरत्न शाक्य, लेखनाथ कोइराला, नेपाल टेलिकमकी कार्यकारी निर्देशक कामिनी राजभण्डारी, बिमा संस्थानका प्रशासक आश्विनी कुमार ठाकुर, कर्मचारी सञ्चय कोषका राजेन्द्र काफ्ले सम्मिलित टोली आयोजना स्थल पुगेको छ ।

    २०६८ साल असारबाट निर्माण सुरु भएको आयोजनाको ८८ प्रतिशत काम पूरा भएको छ ।  १२ प्रतिशत काम पूरा गरेर २०७५ असारबाट उत्पादन सुरु गर्ने लक्ष्य छ ।

    २०७५ असारदेखि पुससम्ममा आयोजनाबाट व्यावसायिक उत्पादन सुरु हुने अपेक्षाा छ । २ वर्षअघिको भूकम्प र भारतीय नाकाबन्दीको असरका कारण आयोजनाको काम डेढ वर्ष ठप्प भएको थियो ।

    स्रोत:कारोबार