नवीकरणीय ऊर्जा विकासलाई विश्व बैंकको ८६ करोड

1377

शुक्रवार, माघ १८, २०७५

विश्व बैकले नवीकरणीय ऊर्जाका प्रविधिहरूको विकासका लागि पौने ८६ करोड रुपैयाँ बराबरको सहायता दिने निर्णय गरेको छ । विश्व बैकको रणनीति जलवायु कोषमार्फत नेपालमा ७.२१ मिलियन डलर अर्थात ८६ करोड रुपैयाँ बराबरको सहायता दिने प्रस्ताव बिहीबार स्वीकृत गरेको छ । सहायतामध्ये ५.६१ मिलियन डलर अनुदान र २ मिलियन डलर ऋणको रूपमा रहेको छ । निजी क्षेत्रद्वारा नेतृत्व गरेको मिनिग्रिडमा ऊर्जा पहुँच परियोजना अघि बढाउन र नवीकरण ऊर्जाको मिनिग्रिडका लागि ऊर्जा सेवा कम्पनीहरूको क्षमता अभिवृद्धिका लागि सो रकम खर्च हुने बैकले जनाएको छ । विश्व बैकका ऊर्जा विज्ञ सुवोध अधिकारीले विश्व बैकले निजी क्षेत्रमार्फत अघि बढ्ने नवीकरणीय ऊर्जाको विकासका परियोजनालाई सहायता गर्नुका साथै मिनिग्रिडको क्षेत्र र ऊर्जा सेवा कम्पनी र सहायता प्रदान गर्ने बैकहरूलाई सहायतामार्फत दिगो कार्यान्वयनका लागि प्राविधिक सहयोग उपलब्ध गराउने जानकारी दिए ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाउन लागेको परियोजना अघि बढाउन सरकारले हाल नवीकरणीय ऊर्जाको मिनिग्रिड क्षेत्रमा देखिएका समस्याहरूको सम्बोधनमा भर पर्ने छ । विश्व बैकको यो सहायताले भने ग्रामीण क्षेत्रमा विद्युतीय सेवा दिने ऊर्जा सेवा प्रदायकहरूलाई अत्यावश्यक प्राविधिक विज्ञताको विकास, वित्तीय क्षमताको विकास लगायतलाई थप सहयोग पुग्ने विश्वास लिइएको छ । “परियोजनाले दक्षतापूर्ण र दिगो ऊर्जा सेवाका लागि व्यापारिक अवसर र प्राविधिक सम्भाव्यतामार्फत नेपालको निजी क्षेत्रको विकासमा सहयोग गर्नेछ,” नेपालका लागि विश्व बैकका देशीय प्रबन्धक फारिस हाडाड जेरभोसले भने, “परियोजना पीपीपीमार्फत वृहत निजी क्षेत्रको व्यवस्थापन र व्यापारिक लगानीका लागि सरकारको प्रयासमा अधिकतम वित्तिय अवसर प्रदानका लागि सहयोग पुग्नेछ ।” विश्व बैंकले नवीकरणीय ऊर्जाको प्रवद्र्धनमार्फत नेपालको ऊर्जा आपूर्तिको अवस्थालाई सुधार्न, यसको समस्या समाधान गर्न र निजी क्षेत्रको विकासका लागि सहयोगी बन्ने विश्वास लिएको छ ।

ऊर्जा आपूर्तिको उपलब्धिहीनतलाई लगानी, उत्पादकत्व र जीवीकोपार्जनको अवसरका लागि प्रमुख बाधाको रूपमा लिँदै परियोजनाले अघि बढाएको अनुदानबाट व्यापारिक मोडेलमा जाने रणनीतिले दीर्घकालीन ऊर्जा बजारमा सहायता गर्ने र यसबाट ग्रामीण वस्ती विकासमा सहयोग पु-याउने अपेक्षा गरिएको छ ।

 

स्रोत: कारोबार