पीपीएलाई निरन्तरता दिन इपानको माग

    2400

    काठमाडौं, ५ असोज –

    NEA_MD_Meeing स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले नेपाल विद्युत् प्राधिकरणले २५ मेगावाटभन्दा ठूला जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग अघोषित रूपमा विद्युत् खरिद सम्झौता (पीपीए) रोकिएको भन्दै यसलाई निरन्तरता दिन माग गरेको छ ।
    इपान अध्यक्ष डा. सुवर्णदास श्रेष्ठको नेतृत्वमा गएको ऊर्जा उत्पादकको प्रतिनिधि मण्डलले शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीलाई भेटेर यस्तो माग गरेको हो । अघोषित रूपमा पीपीए स्थगन गर्दा ऊर्जामा आत्मनिर्भर हुने राज्यको लक्ष्य प्रभावित हुनुका साथै लगानीकर्तामाझ नकारात्मक सन्देश जाने इपानले बताएको छ ।
    पीपीए गरिसकेका र निर्माणाधीन आयोजनालाई २०७१ चैत मसान्तसम्म व्यावसायिक उत्पादन सुरु गरेको अवस्थामा विद्यमान पोस्टेड विद्युत् खरिद दर ( सुख्खामा ८ रुपैयाँ ४० र वर्षायाममा ४ रुपैयाँ)  दिने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय र ऊर्जा मन्त्रालय र उत्पादकबीचको सम्झौता कार्यान्वयनका लागि आग्रह गरेको छ ।
    ऊर्जा मन्त्रालयले प्रतिस्पर्धात्मक प्रणालीअन्तर्गत सर्वेक्षण लाइसेन्स प्रदान गरेको ६ विद्युत् आयोजना अघि बढ्न नसकेको जानकारी गराउँदै आयोजनाका प्रवद्र्धकसँग चाँडै पीपीए गर्न इपानले माग गरेको छ । यी आयोजनाका प्रवद्र्धकसँग पीपीए नगर्दा लगानीकर्तामाझ नकारात्मक सन्देश गएको प्रतिनिधि मण्डलले कार्कीको ध्यानकर्षण गराएका थिए ।
    विभिन्न कारणले आयोजनाको लागत बढेको भन्दै इपानले विद्युत् खरिद दरमा गत वर्ष गरिएको मूल्य समायोजन अपर्याप्त भइसकेको र यसमा समायोजन गर्न प्राधिकरणलाई सुझाएको छ । आर्थिक वर्ष ०६८÷६९ लाई आधार वर्ष मानेर विद्युत् खरिद दर प्रतियुनिट ५ रुपैयाँ ९९ पैसा, मूल्य वृद्धिदर वार्षिक ५ प्रतिशत ९ वर्षसम्म कायम गर्न माग गरेका छन् ।
    आन्तरिक प्रसारण प्रणालीको अभावले थुप्रै जलविद्युत् आयोजना प्रभावित हुने देखिएकाले सो निर्माण गर्न र निर्माणमा गइसकेकालाई द्रुत गतिमा सम्पन्न गर्न इपानले सुझाएको छ । कावेली करिडोरमा १० महिनापछि विद्युत् उत्पादन सुरु हुने भएकाले सम्भावित ऊर्जा खेर जानबाट बचाउन अहिलेको निर्माण गतिलाई तीव्रता दिन इपानको माग छ ।
    इपानको मागका सम्बन्धमा प्रतिक्रिया दिँदै कार्यकारी निर्देशक कार्कीले रोकिएको पीपीए चाँडै गर्ने आश्वासन दिएका थिए । उनले प्रसारणलाइन निर्माणलाई तीव्रता प्रदान गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष श्रेष्ठले बताए । प्राधिकरणले निर्माण गरिरहेका आयोजनाको निर्माणलाई गति दिने बताएका थिए ।

    प्रस्तुति: कारोबर