माथिल्लो तामाकोसीको उत्पादन मिति अनिश्चित

1272

हवाई उडान अनिश्चित हुँदा आयोजनाको निर्माण तालिका केही प्रभावित हुने भएको छ ।

श्रावण ३०, २०७७

काठमाडौँ — परामर्शदाता कम्पनीका विज्ञहरू नेपाल आउन ढिलाइ हुँदा दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी सञ्चालनमा आउने मिति पनि अनिश्चित बनेको छ । कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदा विभिन्न देशबाट आउनुपर्ने आयोजनाको परामर्शदाता कम्पनीका विज्ञ नेपाल आउन सकेका छैनन् ।

सरकारले नेपालमा पनि भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने घोषणा गरिसकेको छ । ‘जसका कारण विज्ञहरू नेपाल आउन सकेका छैनन्,’ आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले भने, ‘हवाई उडान अनिश्चित हुँदा आयोजनाको निर्माण तालिका केही प्रभावित हुने अवस्था आएको छ ।’

आयोजना परीक्षणका लागि भारतसहित चीन र युरोपेली मुलुकबाट विज्ञ नेपाल आउनुपर्छ । यी विज्ञ भदौ पहिलो साता नेपाल आउने र भौतिक संरचनाको परीक्षण गरी कात्तिकसम्ममा आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो । आयोजनामा सबैभन्दा चुनौतीपूर्ण मानिएको पेनस्टक पाइप जडानको काम सकिने अवस्थामा पुगेकाले आयोजनाको पहिलो युनिटबाट आगामी कात्तिकमा परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य तय थियो ।

जडान गर्नुपर्ने पेनस्टक पाइपमध्ये अब करिब ४० मिटर पाइप जोड्न बाँकी छ । यो पाइप जडानको काम सकिनेबित्तिकै पानी भरेर परीक्षण उत्पादन थाल्ने आयोजनाको तयारी थियो । आयोजनाले यसअघि असारसम्म पहिलो युनिटबाट विद्युत् उत्पादन थाल्ने लक्ष्य तय गरेको थियो । तर कोभिड–१९ का कारण आयोजनाको कार्यतालिका केही पर धकेलिएको भए पनि अन्तर्राष्ट्रिय उडान अनिश्चित हुँदा उत्पादन सुरु गर्ने मिति फेरि पछाडि धकेलिएको हो ।

आयोजनामा पेनस्टक पाइप जडानसहित हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय कम्पनी टेक्सम्याकोले पाएको थियो । भारतीय कम्पनीले काममा ढिलाइ गरेपछि आधा कामको जिम्मा एन्ड्रिज हाइड्रोलाई दिइएको छ । भारतीय कम्पनीले अहिले पनि काममा ढिलाइ गरिरहेको आयोजना व्यवस्थापनको निष्कर्ष छ ।

आयोजना, टेक्सम्याको र एन्ड्रिजबीच ०७५ पुस २३ मा पेनस्टक पाइपको काम मिलेर गर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो । अहिले माथिल्लो सुरुङमा पेनस्टक पाइप जडान एन्ड्रिज र तल्लो सुरुङमा टेक्सम्याकोले काम गरिरहेका छन् । ठेकेदारको ढिलासुस्ती र पेनस्टक पाइपको जडानमा भएको समस्याले आयोजना सम्पन्न हुने मिति पटकपटक संशोधन हुँदै आएको छ । आयोजनामा भइरहेको ढिलाइले यसको निर्माण लागत पनि करिब दोब्बर पुग्ने अनुमान छ ।

०६५ चैतमा आयोजनाका लागि ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार गरिएको थियो । ६ वर्षमा आयोजनामा निर्माण हुने अपेक्षासहित तयार पारिएको अनुमानमा निर्माण अवधिको ब्याज साढे १३ अर्ब रुपैयाँ हुने उल्लेख थियो । सुरुमा निर्माण अवधिको ब्याजसहित आयोजनाको लागत ४८ अर्ब ७९ करोड हुने अनुमान गरिएको थियो ।

पूर्णतः नेपाली लगानीमा निर्माणाधीन आयोजनाको लागत बढेर ७० अर्ब नाघ्ने अनुमान छ । निर्माणमा भएको ढिलाइले निर्माण अवधिको ब्याज साढे ६ अर्ब थपिने र कुल लागतमा साढे २० अर्ब थपिने संशोधित अनुमान गरिएको छ । सरकारले हालसम्म आयोजनाका लागि १२ अर्ब दीर्घकालीन ऋण लगानी गरेको छ । महँगी, विदेशी मुद्राको विनियम दरमा आएको परिवर्तन र आयोजनाको ढिलाइका कारण लागत महँगो हुन गएको आयोजनाले जनाएको छ । आयोजनामा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थानले लगानी गरेका छन् । आयोजनामा प्राधिकरणको ४१, टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत संस्थापक सेयर छ । आयोजनाका लागि सर्वसाधारणबाट १५, दोलखावासीबाट १० प्रतिशत लगानी उठाइएको छ । पिकिङ रन अफ रिभर प्रकृतिको यो आयोजनाले निर्माण पूरा भएपछि नेपाल ऊर्जामा भारत निर्भर हुनु नपर्ने अनुमान छ ।

योसहित अन्य आयोजना निर्माण सम्पन्न भएपछि चालु आवमा एक हजार मेगावाटभन्दा बढी विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने सरकारको आकलन छ । यही आकलनलाई आधार मानेर सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत १ हजार ३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने घोषणा गरेको छ । आयोजनाले उत्पादन सुरु गरेलगत्तै बर्खायाममा नेपाल विद्युत्मा आत्मनिर्भर हुनेछ ।

 

स्रोत:कान्तिपुर