विद्युत खरिद सम्झौता टेक अर पेमा सम्झौता गर्न निर्देशन

    2174

    काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले ऊर्जा प्रवर्द्धकहरुसँग विद्युत खरिद सम्झौता गर्दा टेक अर पे मा गर्ने निर्णय गरेको छ। वैशाख २५ गते ऊर्जा मन्त्री पुनले जारी गरेको श्वेतपत्रको आधारमा १० वर्षमा १५ हजार मेगावाट उत्पादनलाई सघाउन यस्तो निर्णय गरिएको हो।

    टेक अर पे मा विद्युत खरिद सम्झौता गरेपछि उत्पादकले विद्युत उत्पादन गरिसकेपछि नेपाल विद्युत प्राधिकरणले विद्युत लिएपनि नलिएपनि उत्पादकलाई पैसा तिर्नुपर्छ। विद्युत किन्ने ग्यारेन्टि हुने भएकाले बैंक तथा वित्तीय संस्थाले पनि आयोजनालाई सहजै ऋण उपलब्ध गराउँछन्।

    टेक एण्ड पे मा विद्युत खरिद सम्झौता गर्दा प्राधिकरणले विद्युत लिएपछि मात्र उत्पादकलाई पैसा तिर्नुपर्छ। त्यस्तोमा उत्पादकको विद्युत किन्ने ग्यारेन्टी नहुने भन्दै बैंक तथा वित्तीय संस्थाले आयोजनालाई आवश्यक पर्ने ऋण दिन इन्कार गर्छन्।

    आर्थिक वर्ष २०८४/८५ सम्ममा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई आधार मान्दै ५ हजार २ सय ५० मेगावाटसम्म रन अफ रिभर प्रकृतिका आयोजनाको टेक अर पे मा विद्युत खरिद सम्झौता गर्ने निर्णय भएको हो। नेपाल विद्युत प्राधिकरणमा बसेको बोर्ड बैठकले यसअघि प्राधिकरणले टेक एण्ड पेमा गरेको सम्झौतालाई पनि संशोधन गर्न निर्देशन दिएको छ।

    बैठकले ४ हजार ५ सय मेगावाटसम्मका पिकिङ रन अफ रिभर प्रकृतिका आयोजनाको विद्युत खरिद सम्झौता पनि टेक अर पे मा गर्न प्राधिकरणलाई निर्देशन दिएको छ।

    निजी क्षेत्रका ऊर्जा प्रवर्द्धकहरुले लामो समयदेखि टेक अर पे मा विद्युत खरिद सम्झौता गर्न माग गर्दै आएका थिए। टेक अर पे मा सम्झौता गर्दा प्राधिकरणलाई कुनै घाटा भए त्यसको शोध भर्नाको लागि सरकारसँग माग गर्ने स्वीकृति पनि बैठकले दिएको छ।

    टेक अर पेमा सम्झौताको प्रावधान राखिएपछि निजी क्षेत्रका ऊर्जा प्रवर्द्धकहरुलाई विद्युत आयोजना निर्माणका लागि सहजै ऋण प्राप्त हुने र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन लक्ष्य हासिल हुने मन्त्रालयको विश्वास छ।

     

    स्रोत:अन्लाईनखबर