सिङ्गटी हाइड्रो निर्माण तीव्र गतिमा, प्रसारण लाइन नबने ४५ प्रतिशत क्षतिपूर्ति

    2410

    काठमाडौं । सुपर सिक्समध्येको एक सिङ्गटी जलविद्युत् आयोजना (२५ मेवा)को निर्माण तीव्र गतिमा अघि बढेको छ । आगामी वैशाख १ गतेको व्यावसायिक उत्पादन मिति ननाघ्ने गरी आयोजनाको काम अघि बढिरहेको आयोजनाको निर्माता सिङ्गटीखोला हाइड्रोपावर कम्पनीले जानकारी दिएको छ ।

    दोलखा जिल्लामा निर्माणाधीन उक्त आयोजनाको हेडवक्र्सको काम ९८ प्रतिशत र सुरुङको ८१ प्रतिशत काम सम्पन्न भएको छ । त्यसैगरी पेनस्टक र विद्युत्गृहको काम ५०/५० प्रतिशत सकिएको आयोजनाका प्रोजेक्ट डेभलपमेण्ट डाइरेक्टर बटु लामिछानेले जानकारी दिए ।

    जलविद्युत् आयोजना विकासका इतिहासमै तीव्र गतिमा काम भइरहेको उनले बताए । ‘२ वर्षमा ४८ सय मिटर सुरुङ खनिएको छ,’ उनले दाबी गरे, ‘यति छिटो सुरुङ खनिएको यो नेपालकै पहिलो परियोजना हो ।’

    वर्षायाममा रूख काट्न वनले अनुमति नदिने भएका कारण मङ्सिरमा रूख काटी वैशाखभित्र आयोजना सम्पन्न गर्ने लामिछानेले बताए । ‘यदि प्राधिकरणका तर्फबाट प्रसारण लाइन बन्न केही समय मात्रै ढिलो हुने हो भने हामी केही विस्तारै काम गर्छौं,’ उनले भने, ‘तर यदि थप ६ महीनाभित्र पनि बनिसक्दैन भने हामी हाम्रो काम सकेर बस्ने छौं ।’

    नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले ६ ओटा जलविद्युत् आयोजना छनोट गरी प्रतिस्पर्धाद्वारा प्रवद्र्धकमा हस्तान्तरण गरेको थियो । सुपर सिक्सका नाममा परिचित उक्त आयोजनाहरू द्रुत गतिमा निर्माण गरी देशको ऊर्जासङ्कट हल गर्नमा सहयोगी बनाउने प्राधिकरणको योजना रहेको थियो । यसैकारण प्रसारण लाइनको कामलाई पनि उत्तिकै महत्व दिइएको थियो । उक्त आयोजनाका निर्माताहरूसँगको सम्झौतामा यदि आयोजना विद्युत् उत्पादनमा जाँदासम्म पनि प्रसारण लाइनको काम नसकिए प्राधिकरणले ४५ प्रतिशत जरीवाना तिर्नुपर्ने प्रावधान रहेको छ । त्यसैगरी निर्धारित समयभित्र आयोजना सम्पन्न नगरे कम्पनीले प्राधिकरणलाई २८ प्रतिशत जरीवाना तिर्नुपर्ने छ ।

    स्रोत:अभियान