अन्तरदेशीय व्यापार सहजीकरण गर्न समिट

1634

कार्तिक २७, २०७६

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को मूल आयोजनामा आगामी मंसिर ५ र ६ गते अर्थात् नोभेम्बर २१ र २२ मा पावर समिट २०१९ हुन लागेको छ । विद्युत् व्यापारको अवसर र चुनौतीलाई विशेष केन्द्रित गरेर हुन लागेको समिटमा नेपालका साथै भारत, चीन, भुटान, बंगलादेश, नर्वे, क्यानडा, बेलायत, अमेरिका, जापानलगायतका देशबाट ७ सयभन्दा बढी विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि सहभागी हुन लागेका छन् । क्षेत्रीय विद्युत् व्यापार, बजार, नियमन, वित्तीय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजनाहरूको सञ्चालन र सहजीकरण, ऊर्जामा आवश्यक लगानी तथा आयोजना प्रदर्शनीलगायतमा केन्द्रित हुने समिटको प्रधानमन्त्री केपीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा भारत, बंगलादेश र भुटानका ऊर्जा, जलस्रोतमन्त्री समेत सहभागी हुन लागेका छन् । आगामी वर्षदेखि विद्युत् खेरजाने भएकाले विद्युत् व्यापार सहजीकरणका लागि आयोजना गर्न लागेको समिटका साथै यसक्रममा हुने विद्युत् व्यापारको अवसर, चुनौती, अहिलेको अवस्था, कानुनी सुधारको खाँचोलगायतका विषयमा केन्द्रित रहेर भीम गौतमले गरेको संक्षिप्त कुराकानीः

एसियाको ऊर्जा शक्ति केन्द्र नेपाल हो भन्ने सन्देश दिन समिट
शैलेन्द्र गुरागार्इं
अध्यक्ष, इप्पान
नेपालको ऊर्जा क्षेत्रको विकासका लागि हामीले पावर समिट गर्दै आएका छौं । यसको क्रममा पहिलो पावर समिटमा जलविद्युत् आयोजना कसरी बनाउनुपर्छ, यसमा सबैको आकर्षण कसरी गर्न सकिन्छ भनेर थियो । दोस्रो पावर समिटमा १० वर्षमा १० हजार मेगावाट भन्ने विषयलाई केन्द्रमा राखेर गरियो । त्यसपछि सूर्य नअस्ताञ्जेलसम्म ऊर्जा उत्पादनका लागि काम गर्नुपर्छ भनेर गरियो । यसपालिको पावर समिट भनेको अन्तरदेशीय व्यापारलाई लक्षित गरी गर्न लागेका छौ । क्षेत्रीय सञ्जाल एउटै हुनुपर्छ र अबको सेन्चुरी एसियन पावर सेन्टर नेपाल हो भनेर सन्देश दिनका लागि यो समिट हो भन्ने सन्देश दिन यो आयोजना गरिएको छ । यो क्रमबद्ध रूपमा एक सय वर्षमा एक हजार मेगावाटभन्दा बढी उत्पादन हुँदा निजी क्षेत्रबाट ५० प्रतिशतभन्दा बढी उत्पादन भइसकेको छ । यो बढ्दो क्रममा छ । यसलाई रिजनल ग्रिडमा पु-याउनका लागि र नेपाल, भारत, भुटान र बंगलादेशको एउटै ग्रिड बनाउनका लागि नीतिगत रूपमा ती देशका सरकारले पहल गरून भन्ने उद्देश्यले यो पावर समिट गरिएको हो । चारै देशका सरकारका मन्त्रीहरू, नीति÷योजना आयोगका साथै नियमन, सञ्चालन, वितरण, व्यापार गर्ने निकायका प्रतिनिधिहरू सहभागी हुँदैछन् । निजी क्षेत्रले झण्डै ६ सय मेगावाट उत्पादन गरिसकेको र तीन हजार मेगावाटभन्दा बढी उत्पादनको चरणमा रहेको बेला विद्युत् व्यापारका लागि सरकारसँगै हामी पनि सक्रिय हुनुपर्ने अवस्था छ । सरकारले गरेन भनेर चुप लागेर बस्ने अवस्था छैन । हामी यही देशको नागरिक भएको नाताले यो काम आफैंले पहल गर्दा पनि हुने भएकाले गरेको हो । राज्यको समृद्धिका लागि निजी क्षेत्रले गर्दा हुन्छ भनेर यो गरेको हो । हामी सरकारको प्रतिस्पर्धा गर्न निस्केका होइनौ । सरकारलाई सहयोग गर्नका लागि सरकारकै सहभागितामा यो पावर समिट आयोजना गर्न लागेका हौँ । सरकारलाई आवश्यक गर्न, ध्यान नपुगेको ठाउँ र क्षेत्रमा पनि केही पहल गर्न सकेमा त्यसले सकारात्मक नतिजा ल्याउन सक्छ भनेर हामी लागेका हौ । विद्युत् व्यापारको कुरा राजनीतिक रूपमा मात्र चर्चामा छ । सबैले बेच्ने कुरा गरेका छन् तर यसको हालसम्म कुनै नीति आएको छैन । व्यावहारिक र नीतिगत रूपमा गाठो हालसम्म नफुकाइएकाले यसका लागि आवश्यक पहलकदमीको खाँचो छ । विद्युत् व्यापारका लागि परेका अप्ठ्याराबारे सबै देशका प्रतिनिधिहरू राखेर छलफल गर्दा त्यसबाट केही निकास निस्कन सम्भव हुन्छ । फेर्नुपर्ने ऐनहरू संशोधन गर्न पनि सहयोग पुग्छ । सबैलाई एउटै फोरममा ल्याएर छलफल गर्दा विद्युत् व्यापारका लागि सहज हुन्छ भन्ने हाम्रो अपेक्षा छ । आशा छ, पावर समिटमा विस्तृत रूपमा हुने छलफलले विद्युत् व्यापारका लागि आगामी दिनमा गर्नुपर्ने पहलकदमीबारे गति समात्नेछ । यसले अन्तरदेशीय विद्युत् व्यापारका लागि सहज वातावरण बनाउनेछ ।

विद्युत् व्यापारबारे छलफल र विश्लेषण
कुमार पाण्डे
उपाध्यक्ष, इप्पान
नेपालमा आयोजना गर्न लागेको समिटमा नेपाल, भारत, बंगलादेश र भुटानका साथै नर्बे, चीन, क्यानडालगायतका देशबाट लगानीकर्ता र विज्ञहरू आउँदैछन् । पावर समिटमा नेपाल, भारत, बंगलादेश र भुटानको उच्च तहको सहभागितामा हुँदैछ । मन्त्रीस्तरसहितको सहभागिता समेत हुन लागेको छ । उहाँहरूसँग ऊर्जाको उत्पादन, वितरण, प्रसारण, व्यापार, नियमनलगायत क्षेत्रमा सक्रिय ती देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू पनि आउनुहुन्छ । विश्व बैंक, एसियाली विकास बैक (एडीबी), अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी), यूएसआईडी, डीफीडलगायतका अन्तर्राष्ट्रिय साझेदारहरूको पनि सक्रिय सहभागिता हुँदैछ । यी साझेदारहरूले नेपालको जलविद्युत् क्षेत्रबारे लामो समयदेखि अध्ययन गरिरहेका छन् । उनीहरूले नेपालबारे गरेको अध्ययनबारे पनि समिटमा जानकारी लिन सकिन्छ । यस्तो किसिमको उच्च सहभागितामा पावर समिट हुँदैछ । नेपालको अहिलेको चुरो कुरो भनेको विद्युत्को व्यापारको कुरा हो । हाम्रो विद्युत् कसरी व्यापार गर्ने भन्ने महत्वपूर्ण छ । पहिला नेपाल विद्युत् आत्मनिर्भर हुनुपर्छ । त्यसपछि व्यापार गर्ने हो । हाम्रो विद्युत्लाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बनाउनुपर्छ । त्यसपछि व्यापारको कुरा हुन्छ । यही सेरोफेरोमा सम्मेलन केन्द्रित हुन्छ । लगानी कसरी ल्याउने, लगानीमैत्री वातावरण कसरी बनाउने र बनेका आयोजनालाई कसरी दिगो बनाउने भन्नेमा पनि समिटमा छलफल र विश्लेषण हुन्छ । यसकारण समिट महत्वपूर्ण छ । नेपाल सरकारले पनि यो समिटबाट धेरै फाइदा उठाउन सक्छ, उठाउनुपर्छ । सरकारले नै क्षेत्रीय बजारमा हाम्रो बिजुलीको व्यापार गर्नुपर्छ भनेर नीति लिइसकेको अवस्थामा यो फोरम निजी क्षेत्रका लगानीकर्ताले तयार गर्दैछौ । यो फोरमको अधिकतम सदुपयोग गर्न सक्यौ भने यहाँ हुने छलफलबाट निस्कने निष्कर्षबाट सरकारलाई पनि अगाडि बढ्नलाई ठूलो मद्दत गर्छ ।

विद्युत् व्यापारका लागि समिटमा समझदारी
आशिष गर्ग
महासचिव, इप्पान
नेपालको विद्युत् अरु देशमा बेच्नका लागि हाम्रो देशको ऐनमा स्पष्ट व्यवस्था छैन । ऊर्जा मन्त्रालयले पनि हामीलाई हालसम्मको ऐनमा उत्पादन, वितरण र प्रसारणका लागि मात्र व्यवस्था गरेको हामीलाई बताउँदै आएको छ । व्यापारका लागि प्रष्ट व्यवस्था छैन भनेर मन्त्रालयले भनेको पनि छ । पुरानो विद्युत् ऐनको दफा २२ विद्युत् निर्यातको कुरा भने गर्छ । यसकारण विद्युत् व्यापारबारे ऊर्जा मन्त्रालय आफैं अन्योलमा छ । जबकि विद्युत् नियमन आयोगले निकालेको विद्युत् खरिदसम्बन्धी निर्देशिकामा विद्युत् व्यापारको प्रष्ट व्यवस्था छ । नियमन आयोगले त धारणा प्रष्ट ग-यो तर मन्त्रालय अन्योलमा छ । तर प्रस्तावित विद्युत् ऐनमा व्यापारको प्रष्ट व्यवस्था छ । यसकारण विद्युत् व्यापारबारे पनि प्रष्ट धारणा बन्दैछ । नेपाल बाहिरको खरिदकर्ता को हुने ? प्रसारणलाइन व्यवस्था के हुने ? यसमा भारतको धारणा के हुने ? कति दरमा विद्युत् बिक्री हुन्छ ? भन्ने जुन कुरा छ, पहिला त हामीले स्पष्ट रूपमा नेपालमा जलविद्युत् उत्पादन हुँदैछ, बिक्री गर्नका लागि हामी तयार छौ भनेर भन्नुप-यो । यसमा निजी क्षेत्रको कुरा गर्दा नेपालको विद्युत् उत्पादनमा झण्डै ६० प्रतिशत हिस्सा पुग्न लागेको छ । यसका लागि निजी क्षेत्र भारत, बंगलादेश पुगेर छलफल गरिसकेको छ । यसका लागि पावर ट्रेडिङ कम्पनी पनि स्थापना गरेका छौं । यसको पूर्वतयारी हुँदैछ । ६ महिनादेखि पूर्वतयारी भइरहेको छ । विद्युत् व्यापारको सम्भावनाबारे अध्ययन पनि गरिरहेका छौँ । हामीले अरु देशमा गएर त भन्यौ, हाम्रो बिजुली किन्नुस तर यसका लागि खरिदकर्ता, बजार निर्माताहरू नेपाल आउनुपर्ने हुन्छ । पावर समिटमा विद्युत् व्यापारका सबै सरोकारवाला आएर आँखाले देख्छन् । उनीहरूले विद्युत् किन्नका लागि आफ्ना कुराहरू राख्छन् । यो यो सर्तहरूमा बिजुली किन्न सक्छौ भनेर उनीहरूले भन्छन् । यसका लागि पहिलो त राजनीति सहमतिको कुरा हुन्छ । विशेषगरी यसका लागि नेपाल, भारत, बंगलादेश र भुटान अर्थात् चार देशका ऊर्जा, जलस्रोतमन्त्रीहरू हुनुप-यो । उनीहरू सबै आउँदैछन् । सरकारले गर्नुपर्ने कामका लागि निजी क्षेत्र सक्रिय भएर गर्दैछ । यसमा हामीलाई सरकारले पनि साझेदारको रूपमा सहयोग गर्दैछ । यसले राजनीतिक रूपमा नेपालको बिजुली चारै देशमा उपलब्ध छ भन्ने स्थापित छ । यसका साथ भारत, बंगलादेश र भुटानका विद्युत् व्यापारका सबै सरोकारवाला पनि समिटमा आउँदैछन् । सरकारी र निजी क्षेत्र दुवै आउँदैछन् । विद्युत् खरिदकर्ता, नियमनकर्ता लगायतका मुख्य व्यापारकर्ताहरू आउने भएकाले यसका लागि यो महत्वपूर्ण हुन्छ । यसले विद्युत् व्यापारलाई अर्को चरणमा पुग्छ । भारतका कम्पनीसँग विद्युत् व्यापारका लागि समिटमा समझदारी पनि हुँदैछ । समिटमा भारत र बंगलादेशसँग संयुक्त रूपमा जलविद्युत् आयोजना निर्माणका लागि सम्झौता पनि हुन्छ । भारतीय कम्पनी र नेपाली कम्पनी मिलेर आयोजना बनाउँदा अझ राम्रो हुन्छ । यसले जोखिम पनि न्यूनीकरण हुन्छ । नेसनल हाइड्रोपावर कर्पोरेसन भारतले जसले भारतमा ३० हजार मेगावाट विद्युत् उत्पादन गरेको छ तर नेपालमा कुनै परियोजना छैन । त्यसको अध्यक्षसहित ८ जनाको टोली आउँदैछ । उहाँहरूले पनि नेपालमा जलविद्युत् आयोजना निर्माणका लागि समझदारी गर्दै हुनुहुन्छ । उहाँहरू नेपालमा प्रवेश गरेपछि व्यापारको ढोका खोल्न पनि सहज हुन्छ । निजी क्षेत्रले व्यापार कम्पनी खोलेपछि सरकारले पनि यसको सह्रानीय गरेर विद्युत् व्यापारका लागि आवश्यक कानुन बनाइदिन्छौ भन्नुभएको छ । यसकारण आगामी दिनमा विद्युत् व्यापारका लागि सहज हुने आशा गर्न सकिन्छ ।

जलविद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण
भीष्म पण्डित
अपरेसन अफिसर, आईएफसी,
नेपालमा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदानको महत्वपूर्ण छ । निजी क्षेत्रको उत्पादनलाई अन्तरदेशीय क्षेत्रसम्म पु-याउन जरुरी सहयोग छ । उनीहरूको कामलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु-याएर लगानीयोग्य ऊर्जाको सम्भावना देखाउनुपर्ने पनि छ । यसका लागि हामीले निजी क्षेत्रलाई हामीले सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ । अहिले नेपालमा जलविद्युत् क्षेत्रको काम निजी क्षेत्रबाट भइरहेको छ, यसलाई दिगो बनाउनुपर्ने खाँचो छ । किनभने अन्तर्राष्ट्रिय बैकयोग्य, व्यापारिक, जुन आईएफसी गुणस्तर अनुसारको सामाजिक र वातावरण पक्ष छ, यी सबैको विश्लेषण गर्दा जलविद्युत् दिगो रूपमा बनेको देखिँदैन । यो समिटमा निजी क्षेत्रलाई सहयोग गर्नुको अर्थ वातावरण र सामाजिक मुद्दाबारे निजी क्षेत्रलाई जानकारी गराउनुका साथै यसको उत्कृष्ट मोडलबारे जानकारी गराउनका लागि पनि आईएफसीले यो सहयोग गरेको हो । नेपालको निजी क्षेत्रले उत्पादनमा मात्र नभएर अहिले व्यापारको कुरा आएको छ, यस क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । समिटमा अन्तर्राष्टिय व्यापारको कुरा हुन लागेको छ । विभिन्न देशहरूको विद्युत् व्यापार गर्ने कुरा छ, यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण देखिएकोले यसमा हामीले सहयोग गरेका हौ । अन्तरदेशीय व्यापारमा अहिले नै हामीले सहयोग गर्ने अवस्था त छैन तर यस्तो व्यापारका लागि धेरै देशमा काम गरेका छौँ । त्यो विज्ञता आवश्यक परेमा हामीले ल्याउन पनि सक्छौ । हामीले लामो समयदेखि इप्पानलाई सहयोग पनि गर्दै आएका छौ । क्यासकेड म्यानेजमेन्ट, अपरेसन म्याजेमेन्ट लगायतमा सहयोग गरेका छौ । जलविद्युत्मा वित्तीय जोखिमता के के छन्, सामाजिक तथा वातावरण मुद्दाहरू के के छन्, कसरी यसलाई मिटिगेट गर्न सक्छौ भनेर हामीले धेरै जलविद्युत् विकासकर्तालाई बुझाइरहेको अवस्था छ । अहिले हाम्रो आन्तरिक उत्पादन बढ्दै गएकोले बजार विस्तारका लागि व्यापारको कुरा आउँछ । व्यापारका लागि उहाँहरूले निजी कम्पनी समेत खडा गरिसक्नुभएको छ । यस्तो अवस्थामा सार्वजनिक क्षेत्रले शिक्षा स्वास्थ्यलगायतका धेरै क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । निजी क्षेत्रले जलविद्युत्मा जुन काम गरिरहेको छ, यसमा सरकार आउनु त्यति जरुरी हुँदैन । विश्व बैक समूह देशीय साझेदार रणनीतिले पनि सरकारी र निजी क्षेत्रलाई कसरी सहयोग गर्ने भन्ने म्यान्डेट छ । यसअन्तर्गत इप्पानलाई सहयोग गर्न लागेको हो ।

 

स्रोत: कारोबार