जलविद्युत्‌मा जैविक विविधता अध्ययन

1785

कार्तिक २७, २०७६

पोखरा— जलविद्युत्को प्रभाव क्षेत्रमा जैविक विविधतासम्बन्धी अध्ययन गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित नारच्याङमा निर्माणाधीन ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाले जैविक विविधता प्रोफाइल तयार गरेको हो ।

आयोजनाले वातावरण शाखा स्थापना गरी वातावरणीय परामर्शदाता र विज्ञ टोली खटाएर अध्ययन गरेको जनाएको छ । टोलीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्ने जलविद्युत् आयोजनाको २७० वर्ग किलोमिटर क्षेत्रमा दुई वर्षसम्म अध्ययन गर्‍यो । वनस्पतिविद् कमल मादेनको नेतृत्वमा ८ जनाको टोलीले मिस्त्री खोलाको क्याचमेन्ट क्षेत्रमा पाइने वनस्पति, चराचुरुंगी, जीवजन्तुको अध्ययन गरेको थियो । टोलीले उक्त अध्ययनको मस्यौदा प्रतिवेदन शुक्रबार पोखरामा सार्वजनिक गर्‍यो ।

वातावरणीय परामर्शदाता शंकर बस्यालका अनुसार आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अन्तर्गत जैविक विविधता अध्ययन गर्न १६ लाख ९४ हजार रुपैयाँ छुट्याएको थियो । जलविद्युत् प्रभाव क्षेत्रमा जैविक विविधतासम्बन्धी अध्ययन गर्न बजेट छुट्याएर काम भएको यो पहिलोपटक भएको बस्यालको दाबी छ । आयोजनाको ईआईए प्रतिवेदन स्वीकृत हुन निर्माणको मध्यतिर र निर्माण सम्पन्न भएपछि वातावरणी अनुगमन प्रतिवेदन पेस गर्नुपर्छ । तर, स्वदेशी लगानीमा निर्माण भएका आयोजनाले उक्त प्रतिवेदन बुझाउँदैनन् । ‘वातावरणीय अनुगमन प्रतिवेदन बुझाउन वित्तीय क्षेत्र र सरकारले पनि बाध्यकारी बनाएको छैन,’ उनी भन्छन्, ‘सरकारको अनुगम गर्ने निकाय पनि छैन ।’

टोलीले मिस्त्री खोला जलविद्युत् आयोजना क्षेत्र, तातोपानी बजार, मिस्त्री खोला र रेले खोलाको क्याचमेन्ट क्षेत्रमा अध्ययन गरेको थियो । सन् २०१७ को सेप्टेम्बरयता ७ पटक नारच्याङ पुगेर अध्ययन गरेको टोली नेता वनस्पतिविद् कमल मादेनले बताए । उनका अनुसार नारच्याङ, पातलखर्क क्षेत्र, रेले खोला, हुम खोलालगायत ३७ सय मिटर उचाइको खोप्रालेकसम्म अध्ययन टोली पुगेको थियो ।

उक्त क्षेत्रमा १०७ प्रकारका चराचुरुंगी, ९ प्रजातिका स्तनधारी र २५२ प्रजातिका वनस्पति भेटिएको प्रतिवेदनमा उल्लेख छ । वनस्पतिका प्रजातिमध्ये फूल फुल्ने ४ प्रकारका रैथाने बिरुवा भेटिएका छन् । १२ प्रजातिका उन्यु भेटिएका छन् ।

नेपालमा मात्रै पाइने संसारकै सानो गुराँसको प्रजाति रोडोडेन्ड्रोन लनडेसी म्याग्दीमा पहिलोपल्ट भेटिएको मादेनले बताए । ‘यो फूल मनाङ, मुस्ताङतिर भेटिएको थियो,’ उनले भने, ‘हामीले अध्ययन गर्दा म्याग्दीमा पनि पाइयो ।’ रोसकोइया नेपालेन्सिस, बेगोनिया ट्राइबनेन्सिस र हाइपरिकम कोर्डिफोलियम प्रजातिका रैथाने फूल उक्त क्षेत्रमा भेटिएका छन् ।

टोलीले विश्वमै लोपोन्मुख इजिप्सियन गिद्ध (जाल काठा) समेत नारच्याङ क्षेत्रमा भेटाएको मादेनले बताए । भने, ‘यी प्रजातिको खोजी म्याग्दीमा गरिएको थिएन ।’ टोलीले एक्यापको सहयोगमा क्यामरा ट्र्यापिङसमेत गरेको थियो । क्यामरा ट्र्यापिङबाट हिमाली कालो भालु, रतुवा मृग, चितुवालगायत जनावर उक्त क्षेत्रमा भेटिएका थिए ।

वनस्पतिविद् मादेनले अध्ययन प्रतिवेदनलाई फोटो किताबको रूप दिने तयारी भएको बताए । ‘विभिन्न वनस्पतिको वैज्ञानिक नाम र चित्रसहितको किताबको अभाव छ,’ उनले भने, ‘विश्वविद्यालयका विद्यार्थी, अनुसन्धातालाई सन्दर्भ सामग्री बन्न सक्छ ।’ नारच्याङ क्षेत्र जैविक विविधता अन्वेषणका लागि उपयुक्त थलो रहेको उनी बताउँछन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले अध्ययन प्रतिवेदनको आधारमा गाउँपालिकाले संरक्षण योजना बनाउने बताए ।

दीपक परियार
स्रोत:कान्तिपुर