स्थानीयको लगानीमा विद्युत् उत्पादन

    1446

    तानसेन : माथागढी गाउँपालिका की इन्दिरा खाँम्चाको दैनिकी फेरिएको छ। अधिकांश समय जाँतो पिसेर दिन गुजार्दै आएकी इन्दिरालाई आजकल सुखका दिन आएका छन्। मकै गहुँ जाँतोमा पिसेर विहान बेलुकाको छाक टार्दै आएकी इन्दिराको गाउँमा लघुविद्युतीकरण भएपछि सुखका दिन सुरु भएको हो। गाउँमा लघुविद्युतीकरण भएपछि ठाउँठाउँमा मिल सञ्चालन भएपछि इन्दिरा जस्ता महिलाका सुखका दिन आएको हो

    नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन गाउँमा लैजान सम्भव नभएपछि गाउँमै लघु विद्युत् उत्पादन गरी गाउँमा वितरण भएपछि गाउँमा सुखका दिन सुर भएका हुन्। गाउँमा विद्युत् नहुदा इन्दिराले दिनहुँ मकै गहुँ झाँतोमा पिसेर विहान बेलुकाको छाक टार्दै आएकी थिइन्। माथागढी गाउँपालिकाको गोठादीको जनताले आफ्नै श्रम पसिनाबाट गाउँमै लघु जलविद्युत् उत्पादन सिंगो गाउँ नै उज्यालो बनाएका छन्। गोठादीका स्थानीयको लगानीमा गाउँमा ३० किलोवाट लघु जलविद्युत् उत्पादन गरिएको छ।

    गोठादीका तीन सय घर परिवारमा २४ सै घण्टा बिजुली बत्ती सुविधा पाएका छन्। एक परिवारले तीन सय दिन श्रमदान र ३४ हजार रुपैयाँका दरले एक करोड दुई लाख रुपैयाँ नगद संकलन गरेपछि गाउँमा लघु जलविद्युत् उत्पादन गरी वितरण भएको उपभोक्ता समितिका अध्यक्ष रनबहादुर खाँम्चाले बताए। गाउँमा विद्युतीकरणका लागि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबाट ५२ लाख रुपैयाँ प्राप्त भएको थियो।

    गोठादीका स्थानीयको लगानीमा गाउँमा ३० किलोवाट लघु जलविद्युत् उत्पादन गरिएको छ।

    स्थानी व्यवसायी प्रेमबहादुर घर्तिले भने,‘ लघु जलविद्युत्बाट गाउँ नै झिलिमिली भएको छ। घरघरमा टीभी रेडियोबाट देश विदेशका समाचार सुन्न पाएका छौं।’ उनले भने,‘ गाउँमा बिजुली बत्ती बलेपछि सुख सुविधा हुँदै गएको छ।’ गाउँमा लघुविद्युत्बाट अहिले फर्निचर मिल, विभिन्न किसिमका घरेलु उद्योग सञ्चालन आएका छन् यसका कारण गाउँमा विद्युत् थपिएको छ भने केही व्यक्तिले रोजगारी पाएका छन्।

    गाउँमा बिजुलीका सरसमानको बिक्री बढेको, होटल रेस्टुराँमा चलहपहल बढेको छ। टुकी बालेर होटल चलाउँदै आएको थिए, बिजुली बत्ती नभएकाले साँझ पर्ने वित्तीकै बन्द गर्नुपर्ने बाध्यता थियो तर विद्युत् जडान गरेपछि हाल होटलमा कारोबार बढ्दै गएको होटल व्यवसायी भक्तबहादुर खाँम्चाले बताए। बच्चाबच्ची टुकी बालेर पढ्न निकै समस्या भएको थियो, रातिमा टुकी बालेर पढ्दा विहान उठ्दा छोराछोरीको मुख कालो हुन्थ्यो अहिले बिजुली बत्तीबाट पढ्न सजिलो भएको छ। टुकीबाट हुने आगलागीका समस्या हटेको स्थानीय देवी थापाले बताइन्।

    गोठादीका जनताले उत्पादन गरेका विद्युत् अहिले गाउँमा पूर्णपरूमा खपत हुन सकेको छैन। बढी भएको विद्युत् माथागढी गाउँपालिकाको अर्काे वडामा बिक्रीका लागि गाउँपालिकाकाले सहजीकरण गर्ने गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए। पाल्पाको दोभान, झुम्सा, कचल, मित्याल, कोल्डाँडा, झडेवालगायत स्थानमा गाउँमै विद्युत् उत्पादन गरी विद्युतीकरण भएको छ।

    स्रोत:अन्नपूर्ण पोस्ट