माथिल्लो भोटेकोशी विद्युत् आयोजनाको पुनःनिर्माण शुरु

    1101

    फागुन १५, चौतारा । माथिल्लो भोटेकोशी विद्युत् आयोजनाको पुनःनिर्माण शुरु भएको छ ।

    तीन वर्षदेखि बन्द अवस्थामा रहेको सो आयोजनाको पुनःनिर्माण कार्य शुरु भएपनि विद्युत उत्पादन हुन अझै दुई वर्ष लाग्नेछ ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाटको सो आयोजना वि.सं. २०७२ को भूकम्प र वि.सं. २०७३ को बाढीले क्षतिग्रस्त हुँदा त्यसको उत्पादन बन्द भई कम्पनी र राष्ट्रले ठूलो घाटा ब्यहोर्नु परेको छ ।

    वि.सं. २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनको टावरलाई क्षति पुुर्‍याएपछि झण्डै चार महीना उत्पादन बन्द भएको थियो । मर्मतपश्चात सञ्चालनमा आएको केहि महीनापछि वि.सं. २०७२ को भूकम्पले पुनः क्षति पुुर्‍याएको थियो । त्यसपछि मर्मत भइरहेको सो आयोजनालाई वि.सं. २०७३ असार २१ गते तिब्बतबाट आएको भोटेकोशी बाढीले पुनः क्षतिग्रस्त बनाएको आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले बताए ।

    अहिले चीनको सिनो हाइड्रो कम्पनीसंग रू. सात अर्बको लगानीमा आयोजना पुनःनिर्माणको ठेक्का सम्झौता भएको छ । आगामी दुई वर्षभित्र आयोजनाको पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक स्थापितले जानकारी दिए ।

    बाह्रबिसे–तातोपानी सडकखण्डअन्तर्गत साविक तातोपानी गाविसको १० किलो भन्ने स्थानमा बाँध बाँधेर तीन दशमलव पाँच किमी सुरुङमार्फत फुलपिङकट्टीको झिर्पुमा निर्मित विद्युत्गृहमा पानी खसालिएको थियो । बाढीले सुरुङमार्गबाहेक बाँध स्थल, विद्युतगृह, पेन स्टक पाइप, प्रसारण लाइनको केही टावर क्षेत्र र विद्युतगृहमा रहेका सम्पूर्ण उपकरणमा क्षति पुु¥याएकाले मर्मत तथा नयाँ निर्माण गर्नुपर्ने आयोजनाले बताएको छ ।

    प्रजातन्त्र पुनःस्थापनापछि वि.सं. २०५१ मा अरुण तेस्रो जलविद्युत् आयोजनाबाट लगानीकर्ताले हात झिकेपछि निजी क्षेत्रबाट यो आयोजनाको निर्माण कार्य शुरु भएको थियो । अमेरिकाको पाण्डा इनर्जी र हार्जा कर्पोरेसनले वि.सं. २०५३ मा शुरु गरेको सो आयोजनाबाट उत्पादित विद्युतलाई अमेरिकी डलरमा खरीद गर्ने गरी विद्युत् खरीद विक्री सम्झौता भएको थियो ।

    शुरुमा ३६ मेगावाटको स्वीकृति पाएको सो आयोजनाले पछि ४५ मेगावाटको स्वीकृति पाएको थियो । रासस