सिङ्गटी–लामोसाँघु १३२ केभी दशैंअघि

    1058

    काठमाडौं । प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता भएको ८ वर्षमा सिङ्गटी–लामोसाँघु प्रसारण लाइन सम्पन्न हुने सम्भावना देखिएको छ । निर्धारित समयतालिकाअनुसार नै काम भए आगामी दशैंसम्ममा उक्त प्रसारण लाइन विद्युत् प्रवाहका लागि तयार हुने प्रसारण आयोजनाले जानकारी दिएको छ । ४० किलोमिटरको उक्त प्रसारण आयोजनाको हाल टावरका लागि खाल्डो खन्ने काम हुँदै छ । जम्मा १ सय २५ ओटा टावरमध्ये फागुनभित्र करीब ४५ ओटा टावरका लागि आवश्यक खाल्डो खन्ने काम सकिनेछ ।

    ठेकेदारका कारण उक्त प्रसारण आयोजना निर्माणमा ढिलाइ भइरहेको थियो । तर, अहिले भने काम धमाधम अघि बढिरहेको प्रसारण अयोजना प्रमुख राजन ढुङ्गेल बताउँछन् । ‘आउँदै गरेको वर्षाअगाडि टावरको फाउण्डेशनको काम सक्ने योजनाका साथ काम भइरहेको छ,’ उनले भने, ‘त्यसैगरी वर्षामा टावर ठड्याउने र तार तान्ने काम हुन्छ ।’ फाउण्डेशन तथा टावरका लागि आवश्यक सामग्री आयात गर्न नयाँ व्यवस्था लागू भएकाले कागजी प्रक्रियामा समय लागेको आयोजना प्रमुख ढुङ्गेलले बताए ।

    ‘आवश्यक सामान ल्याउन अर्थ मन्त्रालयबाट एक्जिम कोड लिनुपर्ने व्यवस्था छ,’ उनले भने, ‘तर, विदेशी आयातकर्ताका सन्दर्भमा स्पष्ट व्यवस्था नभइसकेकाले समय लागिरहेको छ ।’ १ हप्ताभित्र कागजातको काम सकी ठेकेदारलाई सामान ल्याउने बाटो खोलिदिने प्रक्रियामा आयोजना लागेको छ ।

    ठेकेदारले शुरूमा ४० ओटा टावर आयात गरी जडान गर्ने तयारी गरेको छ । त्यसपछि अर्को दुई चरण गरी भारतमा निर्मित टावरका लागि आवश्यक सम्पूर्ण सामग्री आउनेछन् । प्रसारण लाइनका लागि आवश्यक तार भने नेपालकै उद्योगबाट
    खरीद गरिनेछ ।

    भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग प्राधिकरणले सन् २०१० अक्टोबरमा सबस्टेशनका साथै उक्त प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको हो । सोअनुसार उसले त्यसको २ वर्षभित्र सिङ्गटीमा सबस्टेशनसहित प्रसारण लाइन निर्माण गरिसक्नुपर्ने थियो ।

    ठेकेदारले काम अघि नबढाउँदा प्राधिकरण सम्झौता तोड्ने निष्कर्षमा पनि पुगेको थियो । तर, यसै वर्षको दोस्रो महीनादेखि निर्माणको काम अघि बढेको हो । समयमा निर्माण शुरू नभएका कारण उक्त प्रसारण लाइनमा जोडिने कतिपय जलविद्युत् आयोजनाको निर्माण प्रारम्भ पनि समयमा हुन सकेन ।

    हाल उक्त प्रसारण लाइनमा जोडिने गरी पीपीए सकिएका आयोजनाको सङ्ख्या ६ ओटा रहेको छ ।

    त्यसमध्ये खानीखोला–१ को ४० मेवामध्ये २५ मेवा विद्युत् उत्पादन वैशाखतिरबाट शुरू हुनेछ । तर, प्रसारण लाइन नबनेका कारण उक्त आयोजनाको विद्युत् खेर जानेछ । सोही प्रसारण लाइन तथा सबस्टेशनको अभावमा सिप्रिङ खोला जलविद्युत् आयोजना (१० मेवा)को वर्षाको बिजुली खेर गइरहेको छ । त्यसले गर्दा आयोजनाले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा दिनुको साटो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माणमा दिइरहेको छ । तर, वर्षाको विद्युत् तामाकोशीलाई चाहिनेभन्दा बढी हुने हुँदा खेर जाने गरेको हो । अब उक्त प्रसारण लाइन बन्न जति धेरै समय लाग्दै जान्छ, सो क्षेत्रबाट उत्पादित विद्युत् खेर जाने मात्रा उति नै बढ्दै जानेछ ।

    स्रोत:अभियान