कालीगण्डकीमा उत्पादन घटयो

    1081

    पुस ३, २०७४-कालीगण्डकी नदीमा जलस्तर घटेपछि कालीगण्डकी ‘ए’ आयोजनाको विद्युत् उत्पादन घटेको छ । आयोजनाले १ सय ४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८० मेगावाटमा झरेको जनाएको छ ।

    पानी घटेपछि उत्पादन पनि कम हुँदै गएको आयोजना प्रमुख राजेश पाण्डेले बताए । ‘हिउँदमा सधैं यस्तै हो, वर्षाजस्तो फुल फेजको प्रोडक्सन हुँदैन,’ उनले भने, ‘कालीगण्डकीका सहायक नदी, मूल सबैमा पानी घटेकाले असर पर्नु स्वाभाविक छ ।’ वर्षायाममा तीन टर्बाइनबाट विद्युत् उत्पादन गरिन्छ । हिउँदमा भने एउटा मात्र टर्बाइन प्रयोगमा हुने उनले बताए । ‘वाटर लेबल दिनदिनै घटेको छ,’ उनले भने, ‘गएका वर्षभन्दा योपल्ट नदिको बहाव निकै घटेको छ ।’ बिहान–बेलुकी पानी सञ्चित गरी फुल फेजमा नै विद्युत् उत्पादनको प्रयास भए पनि दिउँसोको उत्पादन ८० मेगावाटमा झरेको उनले बताए । यसपटक गत असोज अन्तिमदेखि नै कालीगण्डकी नदीको जलस्तर क्रमिक रूपमा घटदै आएको हो ।

    यस्तै गल्याङ नगरपालिकामा पर्ने आँधीखोला जलविद्युत् आयोजनामा पनि पानीको संकट देखिएको छ । आँधीखोलामा जलस्तर घटेसँगै ९ मेगावाटको आयोजनाको उत्पादन ७ मेगावाटमा झरेको छ ।

    स्रोत:कान्तिपुर