मध्यमर्स्याङ्दीको उत्पादन घट्यो

    1129

    दैनिक औसत ५० मेगावाट मात्रै उत्पादन

    मंसिर ११, २०७४-मर्स्याङ्दी नदीमा पानीको बहाव कम हुन थालेपछि देशकै ठूलो आयोजनामध्येको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्न थालेको छ ।

    बर्खाको समय टर्बाइन खुल्ला छोडदा ७२ मेगावाटसम्म उत्पादन हुने उक्त जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ५० मेगावाट मात्रै उत्पादन हुने गरेको छ । उक्त जलविद्युत् केन्द्रमा राति र दिउँसो एउटा टर्बाइन बन्द गरी एउटा टर्बाइन (३५ मेगावाट) मात्रै सञ्चालन गर्ने गरिएको छ । मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख पशुपतिराज गौतमले दिउँसो २ देखि ३ घण्टा र राति ३ देखि ४ घण्टाको समय एउटा मात्रै टर्बाइन सञ्चालन गरी पानी सञ्चित गरिएको बताए । ‘राति र दिउँसोको पानी जम्मा गरेर साँझ–बिहान पिक आवरमा ७० मेगावाट नै उत्पादिन दिने प्रयासमा छौं,’ उनले भने ।

    मस्र्याङ्दी नदीमा यसपटक चाँडै पानीको बहाव घट्न थालेको हो । कात्तिक ९ बाट पूरै गेट बन्द गरेर पानीलाई सुरुङमार्फत जलविद्युत् उत्पादनमा प्रयोग गरिएको उनले बताए । ‘पोहर साल कात्तिक २५ सम्म घटेको थिएन । यसपटक छिट्टै सुक्यो,’ उनले भने । उनले यसपटकको हिउँदमा गत वर्षको तुलनामा उत्पादन अझ घट्न सक्ने बताए । ‘छिटो नदी सुकेपछि बिजुली उत्पादन पोहोर परारको भन्दा सानो हुने सम्भावना छ,’ उनले भने, ‘गएको वर्ष औसत २७ मेगावाटसम्म थियो । यो वर्ष झन् घट्ने देखिएको छ ।’

    यस्तै ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा पनि पानीको संकट देखिएको छ । यसअघि पानी छोडेर पूरै क्षमतामा विद्युत् उत्पादन गरिरहेको आयोजनाले शुक्रबार/शनिबारदेखि पूरै पानी बन्द गरेर सुरुङमार्फत विद्युत् उत्पादनका लागि पठाएको छ । आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले अहिलेलाई तत्कालै आयोजनाको विद्युत् उत्पादन नघटेको र पानी भने सबै विद्युत् निकाल्न प्रयोग भएको बताए । ‘नोभेम्बर महिना कटेपछि पानी नपुग्न सक्छ । त्यसपछि भने उत्पादन घट्ने सम्भावना छ । पानीको संकट देखिन थालेको छ,’ उनले भने ।

    ठूला आयोजनाजस्तै साना आयोजनाको विद्युत् उत्पादन पनि घट्न थालेको छ । अझ ठाडो खोलामा निर्माण भएका आयोजनाको विद्युत् उत्पादन बढी घट्न थालेको छ । ५ मेगावाटको सिउरी साना जलविद्युत् आयोजना, ४ दशमलव ४ मेगावाटको राँधी साना जलविद्युत् आयोजना, ४ मेगावाटको खुदी साना जलविद्युत् आयोजना, ३ मेगावाटको मिदिमखोला (करापु) जलविद्युत् आयोजना, २ मेगावाटको छन्दीखोला साना जलविद्युत् आयोजना, १ सय ८३ किलोवाटको स्याँगे लघु जलविद्युत् आयोजनाको उत्पादन हिउँद लागेसँगै घट्न थालेको छ । १ सय किलोवाटको मिदिमखोला लघु जलविद्युत् आयोजनाबाट भने विद्युत् उत्पादन भएको छैन । कुल १३८ दशमलव ५८३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडे पनि हिउँदको मध्य भागमा आधा पनि विद्युत् उत्पादन हुन नसकेको गएका वर्षहरूको तथ्यांकले देखाउँछ ।

    – आश गुरुङ, लमजुङ

    स्रोत:कान्तिपुर