माथिल्लो त्रिशूली–१ को निर्माण पुसदेखि

    1094

    काठमाडौं । माथिल्लो त्रिशूली–१ को निर्माण पुसदेखि शुरू हुने भएको छ । रसुवास्थित २ सय १६ मेगावाटकोे सो आयोजनाको निर्माण कार्य अघि बढाउन सबै तयारी पूरा भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पहिलो चरणमा आयोजनास्थल पुग्ने पहुँच मार्ग निर्माण गरी भौतिक संरचना विकासको काम शुरू गरिनेछ । उक्त आयोजना कोरियाली लगानीमा निर्माण हुनेछ ।

    नेपालका लागि कोरियाली राजदूत योङ सिक पार्कले आयोजनाको पछिल्लो प्रगतिबारे ऊर्जामन्त्री वर्षमान पुनलाई जानकारी गराउँदै निर्धारित समय र लागतमा पूरा हुने विश्वस्त पारे । आयोजना निर्माणमा कोरियाली लगानी ल्याउन ऋण लिने प्रक्रिया अन्तिम चरणमा पुगेकोसमेत उनले बताए ।

    पुनलाई भेट्न पार्कसँगै माथिल्लो त्रिशूली–१ को प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीका प्रतिनिधि पनि मन्त्रालय पुगेका थिए । आयोजनामा ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपूँजी लगानी हुनेछ । यसमा १५ प्रतिशत विश्व बैङ्कअन्तर्गतको आईएफसी तथा १० प्रतिशत नेपाली लगानी हुनेछ । कोरियाली लगानीमा निर्माण हुने सो आयोजनाको जोखीम न्यूनीकरण गर्न स्थापना हुने हेजिङ फण्डबारे अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कसँग छलफल भएको मन्त्रालयले बताएको छ ।

    स्रोत: अभियान