नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड (एनएचई) एक सातादेखि ठप्प

    1378

    रुपन्देही – जलविद्युत् क्षेत्रका उपकरण उत्पादन, मर्मत र जडान गर्ने नेपालकै ठूलो कम्पनी नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड (एनएचई) एक सातादेखि ठप्प छ । नेपालका ठूला जलविद्युत् परियोजनाको काम गर्दै आएको कम्पनीका मजदुरले तलब वृद्धि र थप सुविधाको माग राख्दै हडतालमा उत्रेपछि एक सातादेखि एनएचईको काम रोकिएको हो।

    माग सम्बोधन गर्न कम्पनी सञ्चालकले बेवास्ता गरेको भन्दै मंसिर ७ गतेदेखि मजदुर (कर्मचारी) हडतालमा उत्रेका छन। हडतालका कारण मुख्य कार्यालय बुटवलसहित देशैभरका जलविद्युत् निर्माण तथा राष्ट्रिय प्रसारणका ट्रान्समिसन लाइन, सबस्टेसन जडान जस्ता काम ठप्प भएको छ। करिब दुई अर्ब बराबरको जलविद्युत््को काम रोकिएको छ ।  अहिले कम्पनीमा कार्यरत एक ७८ कर्मचारीले धर्नासहित हडताल गरिरहेका छन्। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बुटवलस्थित कम्पनीको मुख्य कार्यालयमा कालो झन्डा राखेर कर्मचारीले हडताल गरिरहेका छन्।

    कर्मचारी आन्दोलनका कारण रसुवामा सञ्चालित ५४ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको काम ठप्प छ। देशका जलविद्युत्, राष्ट्रिय प्रसारण लाइन तथा सबस्टेसनका महŒवपूर्ण काम एक सातादेखि ठप्प छ । स्वदेशी र विदेशी कम्पनीको लागानी रहेको कम्पनीको काम ठप्प हुँदा पनि कम्पनी सञ्चालकहरु कर्मचारीको मागप्रति उदासीन देखिएको कर्मचारीको आरोप छ । समग्र उद्योग ट्रेड युनियन नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र अखिल नेपाल औद्योगिक मजदुर युनियनले आन्दोलनको नेतृत्व गरेका छन्।

    गत असार २७ गते तलब र सुविधा वृद्धिको माग गर्दै व्यवस्थापनलाई जानकारी गराए पनिमाग पूरा नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको मजदुर नेता भुवन गिरीले बताए कम्पनीले श्रमिकको भावना बुझ्न नखाजेको उनको भनाइ छ।

    दुई वर्षदेखि कर्मचारीको तलब, सुविधा वृद्धि नभएकोले व्यवस्थापनसमक्ष प्रस्ताव लैजादा उल्टो श्रम ऐनले तोकेको सुविधा पनि घटाउन खोजेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको अर्का मजदुर नेता अमितबहादुर आचार्य क्षेत्रीले बताए । श्रम ऐन २०७४ को दफा १७८ को उपदफा ३ बमोजिम खाईपाई आएको सेवा, सुविधा कटौती गर्न पाइँदैन । तर कम्पनीले मजदुरलाई हतोत्साही बनाउने गरी सुविधा बढाउनुको सट्टा कटौती गर्न खोजेकाले सरकारी नीतिकै विरुद्ध कम्पनी गएको कर्मचारी क्षेत्रीको आरोप छ।

    कर्मचारीले खाईपाई आएको तलबमा पाँच हजार, महँगी भत्ता तीन हजार पाँच सय गरी जम्मा आठ हजार पाँच सय बढाउनुपर्ने, महँगी भत्ताबाहेक अन्य शीर्षकमा खाईपाई आएका भत्ता शतप्रतिशत बढाउनुपर्ने, कम्पनीभित्र क्यान्टिनको व्यवस्था गर्नुपर्ने र कारखाना जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।

    कर्मचारीलाई आवासको व्यवस्था हुनुपर्ने, सम्पूर्ण कर्मचारीलाई कम्पनीको सेयर सहुलियत दरमा उपलब्ध गराउनुपर्ने र कार्यालयको ड्रेस समान बनाउनुपर्ने उनीहरुको माग छ । माग पूरा नभए आन्दोलन नरोक्ने अर्का मजदुर नेता पदमराज रिजालले बताए । श्रम मन्त्रालयको पहलमा वार्ता हुँदा पनि लगानीकर्ता मजदुरको माग सम्बोधन गर्न इच्छुक नरहेको उनले बताए।

    व्यवस्थापन पक्षले भने कर्मचारीको मागमा सम्झौता हुनुपर्ने बताउँदै आएको छ । श्रम ऐनले तोकेभन्दा धेरै पारिश्रमिक दिँदै आएको र हालको नयाँ कानुनका कारण पनि कर्मचारीका सबै माग पूरा गर्न नसक्ने कम्पनीका नायब महाप्रबन्धक केशव खकुरालले बताए । उनले कम्पनी कर्मचारीको मागप्रति पूर्वाग्रही नभएको बताउँदै न्यूनतम सेवा सुविधा वृद्धि गरेर जान तयार रहेको जानकारी दिए । उनले भने, ‘तीन हजार दुई सय रुपैयाँसम्म वृद्धि गर्न सक्छौं ।’ उनले कर्मचारीलाई वार्तामा आएर समस्या समाधान गर्न आग्रह गरे।

    कम्पनीका निवर्तमान अध्यक्ष विजयबहादुर श्रेष्ठ यो समस्या सहमतिकै आधारमा टुंग्याउनुपर्ने बताउँछन् । उनले प्रतिस्पर्धाको अवस्थामा कर्मचारीले एकाएक हडताल गर्दा यसले कसैलाई हित नगर्ने बताए । ‘सहमति गर्नुपर्छ, त्यसका लागि हामी प्रयासरत छौं,’ उनले भने । २०३४ सालमा बुटवल इन्जिनियरिङ वर्कसपको रुपमा स्थापना भएको यो कम्पनी २०४२ सालमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड (एनएचई) मा परिणत भएको थियो।

    करिब १४ करोडको लगानीमा स्थापना भएको यो कम्पनीको अहिले चार अर्बको भौतिक सम्पत्ति छ । बुटवलमा १५ बिघा जमिनमा आधुनिक संरचना छ । यसमा बुटवल पावर कम्पनीको सबैभन्दा धेरै ५१.३१ प्रतिशत सेयर छ । आइकेएनआई नर्वेको ४६.९०, बुटवल टेक्निकल इन्डस्ट्रिजको १.०७ र हिमाल हाइड्रोको ०.७१ प्रतिशत सेयर छ।

    यो कम्पनीले एक मेगावाट क्षमताको तिनाउ जलविद्युत् आयोजना सुरुमा गरेको थियो । यसले पाँच मेगावाट (अहिले ९.५ मेगावाट) को आँधीखोला, १२ मेगावाटको झिमरुक, ६० मेघावाटको खिम्ती जलविद्युत् आयोजना सम्पन्न गरेको थियो। यसैगरी एक सय ४४ मेगावाटको कालीगण्डकी  र ३६ मेगावाटको मध्यमस्याङ्दी जलविद्युत््मा यो कम्पनी साहयक भएर काम गरेको छ । यसका अतिरिक्त सबस्टेसन, पुल निर्माण र ठूला जलविद्युत्् उपकरणमा काम गर्दै आएको छ।

     

    स्रोत:नागरिक