भेरी बबई डाइभर्सन आयोजना: डयाम र विद्युत्गृह निर्माणको बाटो खुल्यो

    2655

    सुर्खेत — राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइर्भसन आयोजनाले बाँध (डयाम) र विद्युत्गृह (पावरहाउस) निर्माणको प्रक्रिया सुरु गरेको छ । सुरुङ खनिरहेको टनेल बोरिङ मेसिन (टीबीएम) ले जोखिमयुक्त क्षेत्र (रिस्क जोन) पार गरेपछि आयोजनालाई अघि बढ्न सहज भएको हो ।

    रिस्क जोन भनिएको तोलीखोला क्षेत्र पार नगरुन्जेल आयोजनाले डयाम र पावर हाउस निर्माणको प्लानिङ गर्न सकेको थिएन ।

    टीबीएमले जोखिमपूर्ण चुरे पर्वत पार गरेसँगै सरकारले नमुनाका रूपमा अघि बढाएको यो आयोजना सफल हुने ठानिएको छ । भौगर्भिक सर्भेका बेला तोलीखोला आसपासमा सुरुङ निर्माण कार्यमा प्रतिकूलता आउन सक्ने अनुमान गरिएको थियो । त्यहाँ माटोमा पानी बढी अर्थात् जमिन लेदो थियो । दैनिक औसत ४० मिटर खनिरहेको टीबीएमले त्यस क्षेत्रमा भने १०–११ मिटरमात्रै खनेको थियो, जुन क्षेत्र पार गर्न टीबीएमलाई तीन महिना लागेको थियो । आयोजनाका अनुसार १२ किमिमध्ये आइतबारसम्म सात किमि ४० मिटर सुरुङ खनिएको छ ।

    छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत पर्ने चिप्लेमा बाँधस्थल बन्दै छ । आयोजना सफल हुने देखिएपछि पावर हाउस र डयाम निर्माणको विस्तृत अध्ययन थालिएको हो । आयोजनाका डिभिजनल हाइड्रोजियोलोजिस्ट हरि खनालले प्राविधिक डिजाइन करिब अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘जोखिमयुक्त क्षेत्र पार गरेर मेसिन अघि बढिसक्यो,’ उनले भने, ‘अब सुरुङ निर्माणमा अवरोध आउने सम्भावना छैन, सम्झौता मितिभन्दा अगावै सुरुङ निर्माण भइसक्छ ।’ पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिँचाइ योजना विस्तार गरिनेछ ।

    दुई महिनाभित्र ठेक्का प्रक्रिया सुरु गर्ने आयोजनाको तयारी छ । जग्गा अधिग्रहणलगायत निर्माणपूर्वका आधारभूत तयारीहरू सम्पन्न हुनेछन् । यसका लागि संघीय सरकारले चालु आवमा ६ अर्ब ९ करोड बजेट छुटयाएको छ । उक्त रकमले सुरुङ निर्माणको भुक्तानी, डयाम र पावर हाउस निर्माणको आधारभूत तयारी गर्न खर्च हुने आयोजनाको दाबी छ । चिप्लेबाट १५ मिटर अग्लो डयाम बनाई प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ ।

    बबईमा खसालिएको पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य छ । त्यस्तै बबई किनारमै ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । स्वदेशी लगानीमा निर्माण हुन लागेको आयोजनाको कुल लागत साढे १६ अर्ब लाग्ने अनुमान छ । बाह्रै महिना सिँचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३ दशमलव १ अर्ब अप्रत्यक्ष तथा विद्युत्बाट दुई दशमलव १ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ । चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) ले सुरुङ निर्माण गरिरहेको छ । सिँचाइ विभाग र कोभेकबीच २०७१ माघमा निर्माण सुरु गरी २०७५ फागुनमा सम्पन्न गर्ने सम्झौता छ ।

    आयोजना प्रमुखको सरुवा
    भेरी–बबई डाइभर्सनमा आयोजना प्रमुखका रूपमा सुरुदेखि काम गरिरहेका शिवकुमार बस्नेतको सरुवा भएको छ । उनी सात वर्षदेखि भेरी–बबईमै कार्यरत थिए । सरकारले ‘पाइलटिङ प्रोजेक्ट’ का रूपमा यसलाई अघि बढाएपछि उनी आयोजना निर्देशकको जिम्मेवारी सम्हालेका थिए । बस्नेतको ठाउँमा सिँचाइ विभागकै सञ्जीव बराल आउँदै छन् ।

    स्रोत: कान्तिपुर