सुनकोसी जलविद्युत केन्द्रबाट उत्पादन सुरु

    1628

    भोटेकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त १०.०५ मेगावाट क्षमताको सुनकोसी जलविद्युत् केन्द्रबाट बुधबारदेखि सीमितरुपमा विद्युत् उत्पादन सुरु भएको छ ।

    बाढीले पुरिएको बाँधलाई सफा गरी नहरमा पानी पठाउँदा हाललाई २.५ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिएको नेपाल विद्युत प्राधीकरण सुनकोसी केन्द्र उत्पादन शाखाका इन्जिनियर प्रवीण श्रेष्ठले जानकारी दिए ।

    गत असार २१ गते भोटेकोसी नदीमा आएको बाढीले बाँधलाई क्षति पुर्याएपछि उत्पादन हुँदै आएको ७ मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो ।

    दुइ वर्षअघि आएको जुरे पहिरोले ठूलो क्षति पुर्याएपछि बर्खा याममा पनि पूर्ण क्षमतामा आयोजना सञ्चालन हुन सकेको थिएन ।

    जुरे पहिरो र हालैको बाढीले बाँधस्थलमा ठूल्ठूला ढुङ्गा थुप्रिएको र त्यसलाई निकाल्न नसक्दा हाल कमै मात्र विद्युत् उत्पादन गर्न सकिएको सुनकोसी केन्द्रले जनाएको छ ।

    भूकम्प र हालैको बाढीले सो केन्द्रमा करिब ५० करोड मूल्य बराबरको भौतिक सम्पत्तिसमेत क्षति भएको छ ।

    त्यसैगरी भूकम्प र बाढीका कारण भोटेकोसी कोरिडोरमा रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजना, ३.१ मेगावाटको भैरबकुण्ड र बलेफी कोरिडोरमा रहेको ४.२ मेगावाटको बरम्ची जलविद्युत् आयोजना पूर्णरुपमा बन्द भएका छन् ।

    स्रोत  : कारोबार