जनयुद्धकालिन शैलीमा उर्जासचिव र प्राधिकरणलाई मन्त्री शर्माको निर्देशन

    1090

    भर्खरै मात्रै उर्जा मन्त्रालय सम्हाल्न आइपुगेका माओवादी केन्द्रका एक नेता जनार्दन शर्माले उर्जासचिवदेखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसम्मलाई जनयुद्धकालिन शैलीको निर्देशन दिएका छन् ।

      प्राधिकरणको ३१औं बार्षिकोत्सवमा बुधबार बोल्ने क्रममा उनले आफूले ३५ हजार जनसेना ह्याण्डल –व्यवस्थापन) गरेर आएकाले प्राधिकरणका ११ हजार कर्मचारीलाई ह्याण्डल गर्न आफूलाई कुनै गाह्रो नहुने बताए ।

      आफू निरन्तरतामा क्रमभंग गर्न आएको हो भन्दै शर्माले हरेक चुनौतिको सामना गर्न आफू तयार रहेको बताए । उनले हरेक आयोजनाको प्रगति दैनिकरुपमा आफूलाई उपलब्ध हुनुपर्छ भन्दै उर्जा सचिव र प्राधिकरणका कार्यकारी निर्देशकलाई पनि निर्देशन दिए ।

    तीन दिनभित्र विद्युत महशुल नबुझाउने ठूला ग्राहकको लाइन काट्न कार्यकारी निर्देशक र युनियनका प्रतिनिधिसहितको टोली जान सुझाव दिँदै उनले युनियनका नेताहरुलाई राजनीति नगर्न पनि चुनौति दिए । एक युनियन नेताको भाषणको प्रतिवाद गर्दै शर्माले भने– मन्त्री भएर आएको तीन दिन भएको छैन, मलाई राजनीति गर्यो भन्ने ? म राजनीति गर्नै आएको हो । तर पार्टीको सदस्यता वितरण गर्न होइन ।’  आफूले कुनै कर्मचारीको सुरुवा बढुवामा हस्तक्षेप नगर्ने तर कार्यविधि भने आफूले भनेअनुसार हुनुपर्छ भन्दै उनले को मान्छ कहाँ उपयुक्त हुन्छ, त्यहाँ त्यहाँ राखेर काम गरिने बताए । मन्त्री शर्माले प्राधिकरणलाई जसरी पनि नाफामा लैजाने प्रतिवद्धता जनाए ।

    दिएको जिम्मेवारीअनुसार काम नगरे हरेकलाई कारवाही गर्ने चेतावनी दिँदै उनले भ्रष्टाचारजन्य गतिविधि र प्राधिकरणलाई घाटामा लाने कुरामा आफ्नो चासो रहने बताए ।

    म यहाँ सेयर लिन आएको होइन दायित्व निर्वाह गर्न आएको हो भन्दै उनले प्राधिकरणलाई पुनःसंरचना गर्नु जरुरी रहेको बताए । उनले प्राधिकरणका सबै राम्रा नराम्रा कुराको आफूले जिम्मेवारी लिने भन्दै काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा नडराउन सल्लाह दिए ।

    अख्तियारको समेत जिम्मेवारी आफूले लिने भन्न भ्याएका मन्त्री शर्माले अख्तियारका नाममा नडराउन सल्लाह दिएका थिए । साथै, उनले आफूदेखि आतंकित नहुन भन्न पनि भ्याएका थिए । आफू आतकिंत बनाउन नभई उत्साह थप्न आएको शर्माको तर्क थियो ।

    सरकारले बनाएको उर्जा कार्ययोजना पूरा गर्न अहिलेको कार्यशैलीले नहुने उनको भनाई थियो । उनले प्राधिकरणको सम्पत्ति जनताको हो, यहाँका कर्मचारीको मात्रै होइन भन्दै हाम्रो सेवा जनताको सुख सुविधाका लागि हुनुपर्छ भने ।

    लोडसेडिङ अन्त्य मात्रै हाम्रो लक्ष्य होइन, जलस्रोतको उपयोगमार्फत आर्थिक संवृद्धि हो भन्दै शर्माले अहिले नै पनि १० हजार मेगावाट विद्युत खपत हुन्छ । त्यो ठाउँ म देखाइदिन्छु भने ।

    हरेक परियोजनामा आफै पुग्ने, प्राधिकरणका ड्राइभरसँग समेत आफ्नो सहकार्य हुने बताएका उनले आफू अनुकुल कर्मचारीलाई काम गराउन फकाउने र धम्क्याउने रणनीतिअनुसार प्रस्तुत भएको देखिन्थ्यो ।  ठूला आयोजना बनाउन जनतासँग पैसा संकलन गर्ने तयारीमा रहेको बताउका मन्त्री शर्माले चाँडै उक्त योजना सार्वजनिक गर्ने पनि बताए ।

    प्राधिकरणको हरेक बार्षिकोत्सवमा व्यवस्थापन, सञ्चालक समिति र सरकारप्रति आक्रोति देखिने युनियनका नेताहरु यस पटक भने निकै संयमित देखिन्थे । उनीहरुले आफूहरुले लामो समयदेखि राख्दै आएको माग प्राधिकरण व्यवस्थापनले पूरा गरेकोमा कार्यकारी निर्देशक मुकेश काफ्लेलाई धन्यवाद दिएका थिए भने काफ्ले पनि माग पूरा भएकोले प्राधिकरणलाई सफल बनाउन अब कर्मचारी अग्रसर हुनुपर्ने बताएका थिए ।

    कार्यकारी निर्देशक काफ्ले गएको आर्थिक वर्षमा भएको प्रगति र भावी योजना प्रस्तुत गरेका थिए भने प्राधिकरण सञ्चालक समितिका सदस्यसमेत रहेका उर्जासचिव सुमन शर्माले व्यवस्थापनबाट आएका कुनै पनि प्रस्तावहरुलाई आफूहरुले विना कारण नरोकेको बताए थिए ।

    उनले प्राधिकरणको विद्युत प्रणालीलाई सुरक्षित बनाउने र प्रविधिको अधिकमत प्रयोग गर्ने कुराको कार्ययोजना तयार गरी समितिमा ल्याउन पनि व्यवस्थापनलाई सल्लाह दिएका थिए ।