कामदारमाथि गरेको थप लगानीको धेरै गुणा बढी मुनाफा प्राप्त हुन्छ

    1109

    निर्माण व्यवसायमा रहनुभएको व्यक्ति जलविद्युत् क्षेत्रमा आउन के ले प्रेरित गर्‍यो ?
    म इञ्जिनीयरिङको विद्यार्थी, आफ्नो शीप प्रयोग गरेर विकासको क्षेत्रमा काम गर्ने चाहनाले नै अमेरिकाबाट नेपाल आएको हुँ । जलविद्युत् क्षेत्रमा काम गर्ने योजना २६ वर्षअघि यो कम्पनीको स्थापना भएदेखिकै हो । तर, यससँग सम्बन्धित सडक, सिभिल कन्ष्ट्रक्शन, प्रसारण लाइनका क्षेत्रमा काम गर्दै अनुभव र दक्षता हासिल गरेर मात्रै परियोजना विकासको काममा हात हाल्नुपर्छ भन्ने सोचअनुसार अघि बढेको हो । त्यसैगरी एउटा जलविद्युत् आयोजनाको ‘कम्प्लिट सोलुशन’ दिने कम्पनी बन्नुपर्छ भनेर हाइड्रो मेकानिकल उपकरणको कम्पनी खोलेर ठूला ठूला पेनष्टक, गेटलगायत उत्पादन पनि गर्‍यौं । यसरी जति पनि काम शुरुआतका चरणदेखि गर्दै आयौं, त्यो विस्तारै जलविद्युत्को क्षेत्रमा काम गर्ने पूर्व तयारीका रूपमा गरिएको थियो । घरजग्गा व्यवसाय (रियल इस्टेट)को काम गर्दाको अनुभवले स्थानीयवासीदेखि स्थानीय राजनीतिक पार्टीहरूसँग कसरी सद्भावका साथ काम गर्ने भन्ने तरीकासमेत सिकिएको छ । यसरी निर्माण क्षेत्रको एजुकेशन, एक्सपेरियन्स र एक्सपोजर तीनओटै पक्ष भएकाले मलाई जलविद्युत् क्षेत्रमा आउन निकै सजिलो भयो ।

    अरूले गरेभन्दा भिन्न तरीकाले काम गर्ने भन्ने यहाँको योजना रहेछ । भिन्न तरीका भनेको कस्तो हो ?
    अरूभन्दा हामी दुईओटा पक्षमा भिन्न छौं । एउटा त हामी अरूले नगरेको काम गर्छौं । अर्को, अरूले गरेकै कामलाई पनि भिन्न तरीकाले गर्छौं । अरूले नगरेको, हामी गुणस्तर, समय र लागत तीन पक्षलाई ध्यानमा राखेर परियोजनाको काम गर्छौं । यसले गर्दा कम समयमा बनाउँदा गुणस्तर नहुने, बढी समय लाग्दा लागत बढ्ने जस्ता समस्या आउन पाउँदैन । अरूले प्रवर्द्धन, लगानी, कण्ट्र्याक्ट वा उपकरण निर्माण कुनै एउटा मात्र काम गर्छन् । हाइड्रोमेकानिकल उपकरण बनाउने आफ्नै कम्पनी हुनु, आवश्यकताअनुसार कण्ट्र्याक्टर, प्रवर्द्धक तथा लगानीकर्ता भएर काम गर्नु हाम्रो भिन्नता हो ।

    यहाँहरूले भन्ने गर्नुभएको ‘हाइड्रो जर्नी’ के हो र कसरी अघि बढ्दै छ ?
    यो हामी जलविद्युत् क्षेत्रमा कहिलेदेखि कहिलेसम्म काम गर्ने भनेर पहिले नै तय गरिसकेको योजना वा यात्रा हो । यसको शुरुआत २६ वर्ष अघिदेखि भएको हो भने अन्त्य अबको १५ वर्षमा हुन्छ भन्ने आशा छ । योबीचमा कम्तीमा १ हजार मेवा विद्युत् उत्पादन गर्ने लक्ष्य छ । अन्तरदेशीय माग आयो भने मात्र हामी त्यसभन्दा अगाडि पनि यो क्षेत्रमा काम गर्नेछौं ।

    यो यात्रा तय गर्न हामीले क्यास्केड र कोरिडोरको अवधारणा अघि सारेका छौं । यसरी बन्ने हरेक परियोजनाको फाइदा त्यहीँ वरपरका बासिन्दा र स्थानीय राजनीतिक दललाई समेत हुने भएकाले उनीहरूका बारेमा बुझ्न र बुझाउन सजिलो हुन्छ । त्यसैगरी पहुँचमार्गमा लाग्ने लागतको बचत तथा निर्माण उपकरणको अत्यधिक प्रयोग गर्न सकिन्छ । नजीक नजीकका आयोजना भएमा एकै जना प्रोजेक्ट म्यानेजरले एकभन्दा बढी आयोजना हेर्न सक्छ । यी सबै पक्षको व्यवस्थापनले कम समय र कम लागतमा विद्युत् उत्पादन गर्न हामी सक्षम हुनेछौं ।

    अहिले यो यात्राको कुन स्थानमा पुग्नुभएको छ ?
    हाल सञ्चालनमा रहेको चाकु खोला (६.५ मेवा)मा केही मात्रामा लगानी गरेका छौं । प्रवर्द्धकहरूमध्ये एक प्रवर्द्धकका रूपमा ३ वर्ष अघिदेखि शुरू गरेको सोलु जलविद्युत् आयोजना (२३.५ मेवा) अहिले निर्माण सम्पन्न हुन लागेको छ । त्यसैगरी माइबेनी (९.५ मेवा)को जेनेरेशन लाइसेन्स लिएर निर्माण शुरू भइसकेको छ । मिडिल मेवा (४१ मेवा) र दूधकोशी (१११ मेवा)को सर्भे लाइसेन्स पाइसकेका छौं । अन्य केही आयोजनाको काम प्रारम्भिक चरणमा छ । त्यसैगरी विदेशी लगानीमा बन्ने ठूला परियोजनामा सब कण्ट्र्याक्टरका रूपमा पनि काम गर्ने योजना छ । ऊर्जा डेभलपर नामको कम्पनी खोलेर यी सबै काम गरिरहेका छौं । चुुक्तापूँजी १२ करोड रुपैयाँ रहेको यो कम्पनीको प्रमुख प्रवद्र्धक सीई कम्पनी हो ।

    तपाईंहरूले १ हजार मेवा विद्युत् ल्याउँदै गर्दा त्यही १५ वर्षभित्र अरू प्रवर्द्धक तथा सरकारले पनि धेरै विद्युत् उत्पादन गरिसकेको अवस्था होला । उत्पादित विद्युत् खपत हुने ठाउँ कहाँ कहाँ देख्नुभएको छ ?
    यो विषयमा सबै डेभलपरले मैले लगानी गर्न हुन्छ कि हुँदैन थाहा पाउनुपर्ने, सरकारले समयको आवश्यकताअनुसार विद्युत् उत्पादनका लागि सोहीबमोजिम नीति बनाउनुपर्ने र प्राधिकरणले विद्युत् किन्नुपर्ने भएकाले यसबारे उसले पनि थाहा पाउनुपर्ने हो । तर, यसमा पर्याप्त गृहकार्य भएको छैन । उद्योग, पर्यटन, भौतिक संरचना विकास कुन गतिमा हुन्छ, घरायसी उपभोग कुन परिमाणमा हुन्छ, त्यसकै आधारमा विद्युत्को माग निर्धारण हुन्छ । यो सबैको लेखाजोखा गरेर कसैले आगामी दिनमा कुन समयमा पुग्दा कति विद्युत् चाहिन्छ भन्ने आधार पारदर्शी रूपमा ल्याइदिए राम्रो हुन्थ्यो ।

    प्राधिकरणले प्रसारण लाइनका काम सम्पन्न गर्न नसकेका कारण कतिपय आयोजना तोकिएको समयमा आउन सकिरहेका छैनन् । यो अवस्थामा तपाईंले भनेजस्तो समयमा काम कसरी सकिन्छ र ?
    कोरिडोर र क्यास्केडको अवधारणामा यही कारणले काम गर्न खोजेको हो । सरकारले बनाइदिएन भन्दैमा त्यो परियोजना नै नआउनुपर्ने भन्ने छ र ? निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बूट) मोडलमा हामी पनि त प्रसारण लाइन बनाइदिन सक्छौं नि !

    त्यसो गर्न अहिलेसम्म सरकारले निजीक्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन बनाउन दिएको छैन नि !
    हामीसँग यत्तिका परियोजना छन्, हामी यहाँदेखि यहाँसम्मको लाइन बनाइदिन्छौं भन्दा सरकारले किन नाइँ भन्ला र ⁄ सरकारले आप्mनो जग्गामा घर बनाउन त अरूलाई दिएको छ । सबै ठाउँमा उसले गर्न नसक्ने भएर त हो । प्रसारण लाइनको पनि पहिले प्रस्ताव लिएर गई त हेरौं । दिन्न भन्ने भनाइ आयो भने के गर्न सकिन्छ, विचार गरौंला ।

    निर्धारित समयभन्दा ढिलो हुने र अनुमानभन्दा बढी लागत लाग्ने विषय हरेकजसो आयोजनाले सामना गरेका समस्या हुन् । यसलाई कम गर्ने तपाईंको कुनै मोडल छ र ?
    कुन काम कसरी गर्दा कति समयमा सकिन्छ, हिसाब गर्नुपर्छ । काम गर्दै जाँदा आएका रोकावटले ढिलो हुने देखिए तीन सिफ्टमा काम गराएर भए पनि गर्नु राम्रो हुन्छ । त्यसैगरी उपकरण सडक मार्गबाट ल्याउँदा खर्च थोरै, समय बढी लाग्छ । तर, हवाई मार्गबाट ल्याउँदा खर्च धेरै, समय कम लाग्छ । छिटो हुने निर्माणले आयोजनाको उत्पादनबाट मुनाफा बढी आउँछ भने हवाई मार्गबाटै पनि ल्याउनुपर्छ । त्यसैगरी टर्बाइन ल्याउँदा पनि सस्तो, तर चाँडै बिग्रेर मर्मतमा खर्च गरिरहनुपर्ने भन्दा पनि अलि महँगो तर टिकाउ ल्याउने हो भने समय बित्दै जाँदा महँगोबाट बढी मुनाफा हुन सक्छ । हामी यस्ता विषयमा ध्यान दिएर काम गर्छौं ।

    वैदेशिक रोजगारीमा युवाको आकर्षणले जलविद्युत् क्षेत्रमा कामदार पाउन गाह्रो छ भन्ने सुनिन्छ । यससम्बन्धी तपाईंको अनुभव कस्तो छ ?
    पहिलो त वैदेशिक रोजगारीमा युवा जानुको कारण यहाँ अवसर नभएर र उता पैसा बढी भएर हो । अवसर पनि दिने र पैसा पनि राम्रो दिने हो भने किन जान्छन् ? जलविद्युत्को कुल निर्माण खर्चमा कामदारको खर्च जति हुन्छ, त्यसमा १–२ प्रतिशत थपेर दिँदा त्यस्तो धेरै भार पर्दैन । तर, त्यसले कामदार टिकाउन र समयमा काम सकाउन ठूलो मद्दत पु¥याउँछ । त्यसो हुँदा अनुभवी कामदार रहिरहन्छन् र समयमा काम सकिँदा आयोजनाले चाँडै आम्दानी गर्न पनि थाल्छ । यो नतीजाले अन्ततः कामदारमाथि गरेको थप लगानीको धेरै गुणा बढी मुनाफा प्राप्त हुन्छ । हामी यही सोचका साथ काम गर्छौं ।

    स्रोत:अभियान