बुटबल पावरले चिनियाँ साझेदारीमा १४० मेगावाटको तल्लो मनाङ मस्र्याङदी आयोजना बनाउने, ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

    1869

    बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले १४० मेगावाट क्षमताको तल्लो मनाङ मस्र्याङदी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।

    चिनियाँ कम्पनीसंगको साझेदारीमा यो आयोजना निर्माण हुन लागेको हो । आयोजनामा चीनियाँ कम्पनीको ८० र बीपीसीको २० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी हुनेछ । बीपीसीलाई आयोजनाबाट विद्युत् उत्पादनको अनुमतिपत्र (लाइसेन्स) दिन विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गरेको छ ।

    ३५ दिनपछि बीपीसीले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट आयोजना निर्माणका लागि लाइसेन्स पाउने छ । काम सुरु गरेको ५ वर्षमा आयोजनाको काम सम्पन्न हुनेछ । आयोजनाबाट ६९ करोड ८२ लाख युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ ।

    विद्युत उत्पादन लाइसेन्स पाएपछि आयोजनाको काम अघि बढ्ने बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । लाइसेन्स पाएपछि आउदो जुलाइदेखि आयोजना निर्माणको काम सुरु गरिने उनले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणसंग विद्युत जडान सम्झौता (कनेक्सन एग्रिमेन्ट) को अन्तिम चरणमा रहेको छ ।

    जडानपछि त्यसपछि विद्युत खरिदबिक्री सम्झौता (पीपीए) हुने श्रेष्ठले बताए । आयोजना निर्माणका लागि संयुक्त कम्पनी गठन हुन बाँकी रहेको उनले सुनाए । आयोजना बनाउन चिनियाँ कम्पनीले वैदेशिक लगानी ल्याउने भएका छन् ।

    तल्लो मनाङ मस्र्याङदीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीका क्रममा रहेकाले लागत तय हुन बाँकी रहेको श्रेष्ठको भनाई छ । आयोजना आर्थिक रुपमा आकर्षक देखिएको संभाव्यत्ता अध्ययनले देखाएको छ ।

    आयोजनाको संरचना मनाङको नासोङ गाउँपालिकाम रहनेछ । आयोजनाबाट उत्पादन हुने बिजुली नासोङ गाउँपालिकाको घेलाञ्चोक र ओडार गाउँमा प्रस्तावित २२० केभी मनाङ हवमा ल्याएर जोडिने छ । विद्युतगृहमा ७१ मेगावाट क्षमताका २ वटा पेल्ट्रन टर्वाइनमार्फत बिजुली उत्पादन हुनेछ । आयोजनामा सुरुङको लम्बाइ ४.६ किलोमिटर लामो हुनेछ । हेड ३२० मिटर अग्लो हुनेछ ।

    बीपीसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब बढी (२ अर्ब डलर) वैदेशिक लगानी ल्याउने चिनियाँसंग सम्झौता गरेको छ । नेपालमा जलविद्युत आयोजना बनाउन चीनका ३ वटा कम्पनी र नेपाली साझेदार बीपीसीको संयुक्त लगानीमा एसजीआईजी इन्टरनेसनल नेपाल हाइड्रोपावर ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडको स्थापना गरेको छ । होल्डिङ कम्पनीमार्फत आउदो ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

    १ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा बीपीसीका २० प्रतिशत र बाँकी चिनियाँको छ । जसअनुसार सिचुवान इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको ५१, चेन्दु सिच्याङ इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको १७ र क्विङयाङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडको १२ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।

    बीपीसीले ३० मेगावाटको न्यादी र ३७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । यस्तै १२.५ मेगावाटको झिम्रुक, ९ मेगावाटको आँधिखोला र ४ मेगावाटको खुदी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । दुई आयोजना निर्माणका लागि बीपीसीले २ अर्ब ४ करोड रुपैयाँ बराबरको थप निष्कासन (एफपीओ) गरिसकेको छ ।

    -विकासन्युज