ईङ्का ड्रेन’को काम नहुँदा माथिल्लो तामाकोशीको मुख्य प्रगति रोकिँदै

    1590

    माघ १६, दोलखा । सुरुङमा चुहिएको पानी रोक्ने प्रविधि ‘ईङ्का ड्रेन’को काम नहुँदा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य प्रगति रोकिएको छ ।

    विभिन्न समस्याहरुबाट गुज्रिँदै लक्ष्यभन्दा करीब ६ प्रतिशत मात्र काम बाँकी रहेको अवस्थामा ‘ईङ्का ड्रेन’को काम नहुँदा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य प्रगति रोकिएको हो । आयोजनाको मुख्य सिभिल ठेकेदार सिनो हाइड्रोले पेनस्टक साफ्टमा चुहिएको पानी नियन्त्रण गर्ने प्रविधि ‘ईङ्का ड्रेन’को काम ४ महीनादेखि सुरु नगर्दा आयोजनाको समग्र प्रगति नै रोकिएको हो ।

    सिनो हाइड्राले आयोजनाको माथिल्लो पेनस्टक साफ्टको ३ सय १० र तल्लो पेनस्टक साफ्टको ३ सय ७३ मिटर ठाडो सुरुङमा ‘ईङ्का ड्रेन’ प्रविधिबाट चुहिएको पानी बन्द गर्नु पर्ने हुन्छ । सिनो हाइड्रोले चुहिएको पानी बन्द नगरि लट–२ को हाइड्रोमेकानिकल ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङले ठाडो सुरुङको पाइप जडान गर्न सक्दैन ।

    चुहिएको पानी बन्द नगरी पाइप जडान गर्न नसकिने बताउँदै आयोजनाको परामर्शदाता नरकन्सल्ट ल्हामेर जेभीले करीब ७ महिनाअघि नै सिफारिस गरेको बताएको छ ।

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले सिनो हाइड्रोले तत्काल काम सुरु गर्ने तालिका पठाएको बताएका छन् । सिनो हाइड्रोले चुहिएको पानी नियन्त्रण नगरी दिएको कारण आफू काम गर्ने पोजिसनमा नभएको लट–२ को हाइड्रोमेकानिकल ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङका साइट इन्चार्ज मिहिर कुमार गुहाले बताएका छन् । गुहाकाअनुसार साइटमा पुगेको करीब ४० ओटा पेनस्टक पाइप चाहेर पनि जडान गर्न नसकिएको हो ।

    सिनो हाइड्रोका प्रतिनिधि बालकृष्ण निरौलाले एकले अर्कोलाई औंला तेर्साएर मात्र नहुने बताउँदै सम्बन्धित स्थानमै गएर हेरे पछिमात्र थाहा हुने बताए । उनले भने, ‘कसले के गरो, कसले के गरेन हेर्ने काम आयोजनाको हो ।’

    हालसम्म आयोजनाको निर्माण कार्य करीब ९४ प्रतिशत सम्पन्न भएको छ भने २०७५ मङ्सिर मसान्तसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।

    के हो ‘ईङ्का ड्रेन’
    ‘ईङ्का ड्रेन’ छिद्र टाल्ने एक प्रकारको प्रविधि हो । ‘ईङ्का ड्रेन’ एक प्रकारको ग्लास फाइबर पेपर हो । छिद्र भएको स्थानमा यो टाँसिदिए पछि निश्चित समयसम्म छिद्र पुरिन्छ र चुहिन रोकिन्छ ।

    स्रोत:अभियान