सौर्य ऊर्जाको पीपीए दर ७.३० रुपैयाँ

    1442

    काठमाडौ । सरकारले सौर्य ऊर्जाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) दर तोकेको छ । ऊर्जा मन्त्रालयले ग्रीड कनेक्टेड सौर्य विद्युत ऊर्जा विकास सम्बन्धी कार्यविधिमार्फत सौर्य ऊर्जाको पीपीए दर प्रति युनिट ७ रुपैयाँ
    ३० पैसा तोकेको हो ।
    यो दर अधिकतम तीन वर्षभित्र पीपीए हुने आयोजनाको लागि कायम हुने व्यवस्था गरिएको छ । सोलारको विजुलीको पीपीए ‘लिऊ या तिर’ (टेक अर पे) सिद्धान्तका आधारमा गरिने छ । सोलारको पीपीए दर ‘रन अफ रिभर’ आयोजनालाई झैं वार्षिक तीन प्रतिशतका दरलले आठवटा मूल्यबृद्धिको दिने कार्यविधिले व्यवस्था गरेको छ ।
    सोलार प्लान्ट जडान गर्न चाहाने प्रवद्र्धकले आयोजनाको लागि आवश्यक जग्गा, बाटो, कनेक्सन प्वाइन्टसम्म प्रसारण लाइन आदिको व्यवस्था आफैंले गर्नु पर्ने छ । सव स्टेसन सम्भव भएसम्म ‘कनेक्सन वे’का लागि आवश्यक ठाउँ विद्युत प्राधिकरणले निशुल्क उपलब्ध गराउने छ ।
    प्राधिकरणले प्रणालीको कूल जडित क्षमताको १५ प्रतिशतसम्म मात्रै सौर्य विद्युत जडान गर्न पीपीए गर्ने छ । घरायसी (रुफटप) वा एक मेगावाटभन्दा कम जडान क्षमताका संस्थागत वा व्यापारिक सौर्य ऊर्जालाई राष्ट्रिय ग्रीडमा जडान गर्न सकिने व्यवस्था गरिएको छ । ग्रीडमा जडान गर्न चाहने व्यक्ति वा
    संस्थाले प्राधिकरणमा निवेदन दिनु पर्ने छ । सरकारले उपलब्ध गराउने छुट तथा सुविधा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत दिने छ ।
    रुफटप तथा संस्थागत सौर्य ऊर्जा उत्पादन आयोजनामा इनर्जी गणना र्न नेट इनर्जी मिटर जडान गरिने छ । रुफ टन तथा संस्थागत सौर्य ऊर्जा उत्पादन आयोजनाले प्राधिकरणबाट लिएको इनर्जीभन्दा प्रणालीमा दिएको ऊर्जा बढि भएमा ७ रुपैयाँ ३० पैसामा भुक्तानिको व्यवस्था गरिएको छ ।
    एक मेगावाटभन्दा ठूला सौर्य ऊर्जा उत्पादन गर्न चाहनेले लाइसेन्सका लागि विद्युत विकास विभागमा निवेदन दिनु पर्ने छ । विभागले एक वर्षको सर्वे लाइसेन्स दिने छ । एक वर्षभित्र अध्ययन हुन नसकेमा बढीमा थप एक वर्ष म्याद थप्न सकिने व्यवस्था कार्यविधिमार्फत गरिएको छ ।