विद्युत प्राधिकरणको गजबको झिलिमिली बत्ती : फहरिन्छ राष्ट्रिय झण्डा

    2143

    काठमाडौं : चार वर्षअघि विद्युत प्राधिकरणले सरकारी अखबार गोरखापत्रको पहिलो पेजमा सूचना छाप्दै उर्दी जारी गर्‍यो- झिलिमिली उत्सव बत्ती नबाल्नू, बाले लाइन काट्न सकिनेछ।

    पिक आवरमा बढी विद्युत खपत हुने उपकरण नचलाउन त्योभन्दा अघि पनि प्राधिकरणले सूचना जारी गर्ने गर्थ्यो, तर तिहारमा झिलिमिली बत्ती बाल्ने परम्परालाई नै चुनौति दिँदै उपभोक्ताको लाइन समेत काट्ने धम्की भने पहिलो पटक दिइएको थियो।

    अरुलाई झिलिमिली बत्ती बाले लाइन काट्ने चेतावनी दिने विद्युत प्राधिकरणले आफ्नो केन्द्रीय कार्यालय झिलिमिली बनाउने त कुरै भएन। हरेक वर्ष तिहारका बेला बिजुली बाँड्ने अफिस भने अन्धकारै हुन्थ्यो।

    तर यो वर्षको स्थिति फरक छ।

    सोमबार तिहार सुरु भएदेखि रत्नपार्कबाट पुरानो बसपार्कतर्फ जानेहरु विद्युत प्राधिकरणको भवन अगाडि एकछिन टक्क उभिन्छन् र दङ परेर हेर्छन्। सेल्फी खिच्छन्। किनभने काठमाडौँ उपत्यकाभर मै सबैभन्दा युनिक झिलिमिली बत्ती यहाँ बालिएको छ।

    खासमा बत्ती त अरु जस्तै लिड लाइट नै हो। तर त्यसमा कहिले कस्तो रङको बत्ती बल्छ त कहिले कस्तो। कहिले नेपालको राष्ट्रिय झण्डा बत्तीबाटै फहराउँछ त कहिले नेपाल विद्युत प्राधिकरणको लोगो। कहिले विभिन्न सन्देश स्क्रोल हुन्छन् ।

    कुलमान घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि तीन वर्षअघि काठमाडौँमा तिहारमा लोडसेडिङ भएन। अहिले त विद्युत खपत बढाउन प्रोत्साहन गर्नुपर्ने स्थिति आएको छ।

    विगतमा विद्युत खपत घटाउँ भनेर सूचना दिनुपर्ने अवस्था रहेको थियो। अहिले भने विद्युत खपत बढाउँ भन्ने सन्देश दिनुपर्ने बेला आएको छ। त्यसैका लागि प्राधिकरणले झिलिमिली बत्तीको व्यवस्था गरेको प्राधिकरणका सिभिल इन्जिनियर खेमराज भण्डारीले बताए।

    सन्देश दिनका लागि प्राधिकरणको कार्यालय झिलिमिली बत्तीले सजाउने निर्णय भने अघिल्लो बिहीबार मात्रै भएको थियो। निर्णय भएको चौथो दिन तिहार सुरु हुन्थ्यो।

    ‘एकदमै छोटो समयमा हामीले यो सब तयार पारेका हौँ’, झिलिमिली बनाउने समूहमा समेत रहेका भण्डारीले भने, ‘अलि समय भएको भए योभन्दा अझ राम्रो पनि गर्न सकिन्थ्यो होला।’

    यस्तो झिलिमिली बत्तीका लागि प्राधिकरणले भारतबाट ६ जनाको प्राविधिक टिम ल्याएको छ। पाँच दिनको लागि कोलकाताबाट पाँच लाख रुपैयाँ भाडा तिर्ने गरी बत्ती ल्याइएको हो।

    ६ जना भारतीय प्राविधिकबाहेक प्राधिकरणका दुई जना प्राविधिक यो बत्ती व्यवस्थापनका लागि खटिएका छन्। मुख्य कार्यलयको माथिल्लो तलामा कन्ट्रोल रुम बनाएर बत्ती व्यवस्थापन गरिएकोछ।

    भण्डारीका अनुसार लिडलाइटमा कुन बत्ती कुन बेला कस्तो रङको बल्ने भनी प्रोग्रामिङसहितको चिप्स राखिएको हुन्छ। त्यसैका आधारमा बत्ती बल्ने र निभ्ने भएपछि बत्तीमै राष्ट्रिय झण्डादेखि विभिन्न सन्देशसहितको अक्षरसमेत देखाउन सम्भव भएको हो।

    ‘अर्को वर्ष त लाइटबाट भिडियोसमेत देखाउन सक्नेछौँ होला’, उनी भन्छन्।

    स्रोत :पहिलोपोस्ट