कुलेखानी ३ को परीक्षण धकेलियो

1439

माघ ३, २०७५

हेटौंडा — एक दशकभन्दा बढी समयदेखि निर्माणाधीन कुलेखानी ३ जलविद्युत् आयोजनाले पुस महिनामा पनि परीक्षण उत्पादन गर्न सकेन ।

पुस मसान्तसम्म परीक्षण उत्पादन गर्ने लक्ष्य रहे पनि निर्माण कम्पनीले सुस्त गतिमा काम गरेकाले सम्भव नभएको प्राधिकरणका एक वरिष्ठ अधिकृतले बताए । आयोजनाको ९५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको जनाइएको छ ।

‘अब समय तोक्दातोक्दा फटाहा जस्तै भइसकियो,’ एक अधिकृतले भने, ‘काम धेरै छैन तर तीव्र गतिमा काम भएको छैन ।’ अहिले केबुल तार तान्ने, बाँकी रहेको एउटा टावर ठडयाउने काम भइरहेको छ भने भैंसेस्थित मुख्य सुरुङको मुखमा गेट बनाउने काममा प्राविधिक र मजदुरहरू जुटेका छन् । माघ महिनाको अन्तिमसम्ममा परीक्षण उत्पादन गरिने आयोजनाका एक इन्जिनियरले जानकारी दिए । इलेक्ट्रो मेकानिकलको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङको ढिलासुस्तीका कारण ४४ महिनामा सक्नुपर्ने काम करिब सय महिनाभन्दा बढी बितिसक्दा पनि सकिएको छैन ।

‘चिनियाँ कम्पनीले विभिन्न वहानामा ढिलासुस्ती गरेकाले समयमा निर्माण कार्य सम्पन्न नभएको हो,’ आयोजना प्रमुख सुवास मिश्रले भने । बढीमा ४५ दिनभित्र निर्माण कार्य सकेर कुलेखानी तेस्रोले विद्युत् उत्पादन गर्न सक्षम हुने उनले दाबी गरे । इलेक्ट्रो मेकानिकलको काम सकिने बित्तिकै परीक्षण उत्पादन सुरु गर्ने उनले जानकारी दिए ।

सिभिलतर्फको काम ९९ प्रतिशतभन्दा बढी सकिसकेको छ । इलेक्ट्रो मेकानिकलसँग जोडिएका सिभिलका कामहरू थोरै मात्र छन् । आयोजनाले आधा दर्जनभन्दा बढी प्राविधिकहरू खटाएको छ । निर्माण कम्पनीका दैनिक सयभन्दा बढी कामदार र प्राविधिकहरू खटिएका छन् । सन् २०१२ मा सम्पन्न गर्ने लक्ष्यका साथ सन् २००८ अप्रिल २७ देखि निर्माण कार्य सुरु भएको आयोजना ठेकदार कम्पनी, प्राधिकरणको ढिलासुस्ती र स्थानीयबासीको अवरोधका कारण ढिलाइ भएको हो ।

२ अर्ब ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका रहेको परियोजनाको लागत वृद्धि भएर ४ अर्ब ६३ करोड पुगेको छ । ‘विभिन्न पक्षको ढिलासुस्तीका कारण ८७ प्रतिशत लागत वृद्धि भएको हो,’ आयोजना प्रमुख मिश्रले भने । वार्षिक सरदर ४० दशमलव ६५ गिगावाट आवर विद्युुत् उत्पादन गर्ने क्षमता रहेको छ ।

प्रताप विष्ट
स्रोत:कान्तिपुर