जलविद्युत् कम्पनीद्वारा ८ अर्ब लगानी

1248

बिहिवार, माघ ३, २०७५

जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले १४ जलविद्युत् आयोजनामा ७ अर्ब ८८ करोड बराबरको लगानी गरेको छ ।

कम्पनीका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेको सभापतित्वमा भएको साधारणसभामा दिइएको जानकारी अनुसार हालसम्म कम्पनीले यति लगानी गरेको हो । साधारणसभाले चुक्तापुँजी २२ अर्ब रुपैयाँ पुर्याउन हकप्रद सेयर जारी गर्ने निर्णयसमेत गरेको छ । साधारणसभाले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने एक अर्ब बराबरको बोनस सेयर प्रदान गर्ने र बोनस सेयरमा लाग्ने कर बराबरको २१ करोड ५ लाख २६ हजार बराबर नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । कम्पनीले हालसम्म स्वपुँजीमा ९२ करोड ३० लाख प्रतिबद्धता गरी ३४ करोड ९० लाख लगानी गरिसकेको छ भने सहायक कम्पनी रेमिट हाइड्रो कम्पनीद्वारा निर्माण गरिने ७१.५ मेगावाटको घुन्सा खोला तथा ५३.७ मेगावाटको सिम्बुबा खोला जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमति प्राप्त गरी विस्तृत अध्ययन गरिरहेको जनाएको छ ।

साधारणसभाले स्वतन्त्र व्यावसायिक सञ्चालकमा डा. मेगबहादुर विश्वकर्मालाई नियुक्ति गर्ने निर्णय गरेको छ । सभामा सर्वसाधारण सेयर धनीबाट सञ्चालकमा सुधीर ज्ञवाली नियुक्त भएको जानकारी दिएको थियो ।

स्रोत:कारोबार