विद्युत् चुहावट घटाउँदा प्राधिकरणलाई ७ अर्ब कमाइ

1468

विद्युत चुहावट दर तीन वर्षमा २५ बाट १५ प्रतिशतमा झर्‍यो

माघ २४, २०७५

काठमाडौँ — विद्युत् चुहावटमा लक्ष्यभन्दा बढी सफलता मिलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विद्युत् चुहावट प्रतिशत १५ दशमलव ४५ प्रतिशतमा झरेको प्राधिकरणको दाबी छ ।

गत आर्थिक वर्षमा औसत विद्युत् चुहावट २० दशमलव ४५ प्रतिशत थियो । यो आर्थिक वर्षमा चुहावट साढे १८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य थियो । पहिलो ५ महिनामा लक्ष्यभन्दा बढी प्रगति भएको जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चुहावट कम गर्न प्राधिकरणले आफ्नो विभिन्न वितरण केन्द्रलाई फरकफरक लक्ष्य दिएको थियो । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रूपमा चालिएका कदमले विद्युत् चुहावटमा उल्लेख्य कमी आएको बताए ।

‘मैले २०७३ भदौमा जिम्मेवारी सम्हाल्दा विद्युत् चुहावट औसतमा २५.७८ प्रतिशत थियो । त्यसपछि आव २०७३/७४ मा घटाएर २२.९ मा झार्‍यौं, आव ०७४/७५ मा २०.४५ मा रहेको चुहावटलाई घटाएर चालु आवको पाँच महिनामै १५.४५ प्रतिशतमा सीमित गर्न सफल भएका छौं,’ उनले भने । ‘यो वर्षको बाँकी अवधिमा हाल रहेको चुहावटलाई अझै घटाउने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘चुहावट नियन्त्रणका लागि राति खटिँदा हाम्रा कर्मचारीहरूले पिटाइसमेत खाएका छन् ।’ आफूले नेतृत्व सम्हालेयता १० प्रतिशतले चुहावट घटेको र यसले प्राधिकरणलाई वार्षिक ७ अर्बरुपैयाँ थप आम्दानी हुने उनले बताए ।

गृह, ऊर्जामन्त्री तथा सचिव, प्रहरी महानिरीक्षकलगायतको बैठकले विद्युत् चोरी नियन्त्रणका लागि स्थानीय प्रशासन र प्रहरीलाई व्यापक रूपमा परिचालन गर्ने निर्णय गरेको थियो । ‘विद्युत् चोरी नियन्त्रण अभियानमा गृह मन्त्रालय, जिल्ला प्रशासन तथा सुरक्षा निकायहरूबाट निरन्तर साथ र सहयोग पाइरहेका छौं, सबैको संयुक्त प्रयासले मात्र यो अभियान सफल हुनेछ,’ घिसिङले भने ।

सबैभन्दा बढी राजस्व संकलन गर्ने काठमाडौं क्षेत्रीय कार्यालयको गत वर्षको चुहावट ७.९४ प्रतिशत रहेकामा चालु आवको पाँच महिनामा घटेर ७.७९ प्रतिशतमा सीमित भएको छ ।

क्षेत्रीय कार्यालय अन्तर्गतको भक्तपुर वितरण केन्द्रको चुहावट दुई वर्षअघि करिब ४० प्रतिशत रहेकामा अहिले घटेर १३.७२ प्रतिशतमा झरेको छ । लगनखेल वितरण केन्द्रको दुई वर्षअघि करिब १५ प्रतिशत रहेको चुहावट अहिले घटेर ६.४१ मा सीमित भएको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणले चोरी नियन्त्रणमा सहयोग नगरे बत्ती काट्ने (ब्ल्याक आउट) चेतावनी दिँदै आएको छ ।

दोस्रो बढी राजस्व संकलन गर्ने हेटौंडा क्षेत्रीय कार्यालयको चुहावट १३.९१ प्रतिशत रहेकामा घटेर ६.६६ प्रतिशतमा झरेको छ । औद्योगिक ग्राहक रहेको वीरगन्ज र सिमरा र हेटौंडा वितरण केन्द्रले चुहावट घटाएका कारण हेटौंडा क्षेत्रीय कार्यालयको चुहावटमा उल्लेख्य गिरावट आएको हो । गत असारसम्म १०.७२ प्रतिशत रहेको चुहावट मंसिरसम्ममा घटेर २.५० मा झरेको छ । दुई वर्षअघि झन्डै ७० प्रतिशत चुहावट रहेको कलैया वितरण केन्द्रको अहिले घटेर ३९.९५ प्रतिशतमा झरेको छ ।

विराटनगर क्षेत्रीय कार्यालयको चुहावट १४.५१ प्रतिशत रहेकामा घटेर ११.६१ प्रतिशतमा झरेको छ । यसैगरी १४.१४ प्रतिशत चुहावट रहेको बुटवल क्षेत्रीय कार्यालयको चुहावट १३.२८ प्रतिशतमा झरेको छ । पोखरा क्षेत्रीय कार्यालयको चुहावट ११.४१ प्रतिशत रहेकामा घटेर ८.६१ प्रतिशतमा सीमित राख्न प्राधिकरण सफल भएको छ ।

जनकपुर, नेपालगन्ज र अत्तरिया क्षेत्रीय कार्यालयको चुहावट क्रमश: ३४.३६, १५.८४ र १५.२९ प्रतिशत रहेकामा घटेर २६.२४,९.७२ र १२.१९ प्रतिशतमा झरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महसुल बक्यौता असुलीमा कडाइ गर्ने, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गर्ने लगायतका काम अभियानकै रूपमा चलाइरहेको छ ।

मिटर लिन प्रोत्साहित गर्न सुकुम्बासीलाई पनि मिटर सहज रूपमा दिने, स्थानीय तहको सिफारिसबिना नै मिटर जडान गर्ने, अति विपन्नहरूलाई नि:शुल्क मिटर वितरण गरिएको प्राधिकरणले जनाएको छ ।
स्रोत:कान्तिपुर