विद्युत् आयोजना अन्योलमा

1152

जुम्ला — ठेकेदारले विद्युत्गृह समयमै मर्मत नगर्दा जुम्लाबासी अध्याँरोमा बस्न बाध्य छन् । भारतीय पासी शुभकामना जेभीले विद्युत्गृहमा रहेको टर्बाइन र आवश्यक उपकरण जडान गर्ने जिम्मेवारी २०७२ पुस महिनादेखि लिएको थियो । ‘सम्झौता भएपछि १८ महिनाको समय दिइएको थियो, त्यो समयमा कुनै काम पनि भएन,’ साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढथापाले भने, ‘निकै आलटाल भयो, ठेकेदार कम्पनी बजेट फुत्काउनमै लाग्यो तर काम अन्योलमा परिरहेको छ ।’ अहिलेसम्म १ करोड ३२ लाख रुपैयाँ ठेकेदार कम्पनीले भुक्तानी लगिसकेको उनले जनाए । ठेकेदार कम्पनीले एउटा टर्बाइन जोडेर पनि विद्युत्गृह सञ्चालनमा ल्याउन सकेको छैन ।

जिल्ला समन्वय समितिले भारतीय दूतावासबाट प्राप्त २ करोड ६३ लाखको टेन्डर खोलेकामा ३ करोड ९ लाखमा टेन्डर स्वीकृत भएको थियो । उच्च दरमा टेन्डर स्वीकृत भएपछि बाँकी रकम कताबाट व्यवस्थापन गर्ने भन्ने समस्या भइरहेको छ । उपभोक्ता समितिले टेन्डरअनुसारको थप दिनुपर्ने १५ लाख रुपैयाँ प्रमुख जिल्ला अधिकारीको रोहवरमा दिइसकेको छ ।|

पुस महिनासम्मका लागि दोस्रो पटक समय थपिएको थियो । त्यो समय पनि सकिइसकेको छ । ठेकेदारले एउटा टर्बाइन जोडेर विद्युत् सञ्चालनमा ल्याउन सकेको छैन । बरु पुरानो टर्बाइन झिकेर जिल्लालाई अन्धकार बनाइएको छ । भारतीय दूतावासका सहायक सेक्सन अधिकृत मृगेन्द्रलालले जुम्लामा पुगेर कामको प्रगति विवरण बुझेका छन् ।

सम्झौताका कागजात हेर्नुका साथै खरिद हुनुपर्ने उपकरणका लागि अनुमगन गरेको उनले बताए । उनका अनुसार सम्झौताको कागजअनुसारका सामान छैनन् । एक पटक जिल्ला समन्वय समितिसँग भएको ठेक्का सम्झौताको कागजबीच तुलना गर्नुपर्ने उनले बताए ।

जिल्ला समन्वय अधिकारी हरिप्रसाद घिमिरेले पहिलो किस्तास्वरूप रकम उपलब्ध गराइसकेको जानकारी दिए । उनका अनुसार अब मर्मतको काम सकाएपछि कार्य सम्पन्नको प्रतिवेदन भारतीय राजदूतावासमा पठाएपछि थप निकासा आउनेछ । ठेकेदारले नियमित रूपमा इमान्दारपूर्वक काम सकाएको खण्डमा प्रक्रिया निकै छिटो हुने उनको तर्क छ ।
एलपी देवकोटा
स्रोत:कान्तिपुर