प्राधिकरणले सहायक कम्पनीबाट मात्रै लगानी गर्ने

    1078

    पुष १६, २०७५

    नेपाल विद्युत् प्राधिकरणले अब सहायक कम्पनीमार्फत मात्रै जलविद्युत् आयोजनाहरूमा लगानी गर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वको विद्युत् प्राधिकरणले कम्पनीमार्फत मात्र जलविद्युत्मा लगानी गर्न लागेको हो । प्राधिकरणका अनुसार पाँच वर्षभित्र २ खर्ब २९ अर्ब ५४ करोड लगानी गर्ने योजना छ । हाल निर्माणाधीन ६० मेगावाटको त्रिशूली ३ ए र कुलेखानी तेस्रोबाहेक अन्य सबै आयोजनाहरू अब कम्पनीमार्फत अघि बढ्नेछन् ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीमार्फत आयोजनाहरू अघि बढाइरहेको बताए ।प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५-७६ मा २६ अर्ब ८३ करोड सहायक कम्पनीमा लगानी गरेको छ भने २०७६-७७ मा ३६ अर्ब ३० करोड, २०७७-७८ मा ३७ अर्ब ९३ करोड, २०७८-७९ मा ४८ अर्ब ४६ करोड र २०७९-८० मा ८० अर्ब २ करोड लगानी गर्ने योजना छ । प्राधिकरणले अघि बढाएका आयोजनाका लागि चालू वर्षमा ६ अर्ब ५७ करोड र २०७६-७७ मा ४ अर्ब ५३ करोड लगानी गर्न लागेको छ । त्यसपछि भने प्राधिकरण आफैले कुनै आयोजना बनाउने छैन । प्राधिकरणले सहायक कम्पनीमार्फत ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीका साथै ३७ मेगावाटको त्रिशूली ३ बी र ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना अघि बढाइरहेको छ भने सहायक कम्पनी चिलिमेले २ सय ७० मेगावाट बराबरका रसुवागढी, साञ्जेन र मध्यभोटेकोसी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । १ सय ८० मेगावाटको आँधीखोला जलाशय, ८ सय २८ मेगावाटको उत्तरगंगा जलाशय, ८ सय ३० मेगावाटको दूधकोशी, ७ सय ६२ मेगावाटको तमोर जलाशय, ६०.२ मेगावाटको मोदी जलविद्युत्, २१० मेगावाटको चैनपुर सेती, १५० मेगावाटको रूपाताल पम्प स्टोरेज पनि प्राधिकरणले कम्पनी मोडेलमा अघि बढाउन लागेको छ ।

    भीम गौतम

    स्रोत:कारोबार