बिजुली सस्तो बनाइदिन भारतलाई राजदूत उपाध्यायको आग्रह

    1459

    जेष्ठ १७, २०७४- भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालले भारतको विहार राज्यबाट किनिरहेको बिजुलीको मूल्य नबढाउन बरु केही घटाइदिन त्यहाँका मुख्यमन्त्री नितिश कुमारसँग आग्रह गरेका छन् । साथै नेपाललाई थप बिजुली उपलब्ध गराइदिन समेत उपाध्यायले नितिश कुमारलाई आग्रह गरेको छन् ।

    विहारबाट नेपालले किनेको बिजुलीको प्रतियुनिट मूल्य ६ भारुको हाराहारीमा रहेको छ । तर, त्यो मुल्य बढेर अब ७ भारु पुग्न लागेकोले नेपालले विहार सरकारको ध्यानाकर्षण गराएको हो । विहारबाट मात्रै नेपालले १५० मेगावट आयात गरिरहेको छ र त्यसमा थोरै बढ्दा पनि नेपाललाई करोडौं आर्थिक भार पर्दछ । घट्नुपर्ने अवस्थमा झन बढ्न लागेकोले चिन्ता थपिएको नेपाली अधिकारीहरुको भनाइ रहेको छ ।

    मुख्यमन्त्री कुमारसँग भएको भेटमा राजदूत उपाध्यायले सो आग्रह गरेका हुन् । विशेषत: १२–१५ वर्षदेखि विहारबाट नेपालले खरिद गरेको बिजुली महँगो भएको नेपालको भनाइ छ । पछिल्लोपटक ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतको केन्द्रीय लाइनबाट किनिएको बिजुलीको मूल्य भने विहारबाट भन्दा आधा सस्तो नै छ । ‘विशेषत: विहारबाट विभिन्न साना प्रसारण लाइनमार्फत हामीले किनिरहेको बिजुली अलि महँगो नै भएकाले त्यसमा पुनर्विचार गर्न राजदूतले आग्रह गर्नु भएको हो,’ भेटवार्तामा सहभागी दूतावासका प्रवक्ता हरि ओडारीले भने ।

    विगत १०–१५ वर्षमा भारतमा नै बिजुली सस्तो भएको र बिजुलीको उत्पादन समेत बढेको अवस्थामा पुरानो मूल्यमा पुनरावलोकन गर्नुपर्ने नेपाली पक्षको भनाइ रहेको छ । पछिल्लोपटक नेपालले थप १४५ मेगावठ बिजुली खरिदको प्रक्रिया अगाडि बढे पनि मूल्यमा कुरा नमिल्दा अगाडि बढ्न सकेको छैन । त्यसैगरी जलस्रोतमा सहकार्य, कनेक्टीभिटी परियोजनलाई अगाडी बढाउने, पूर्वाधार विकास गर्नेलगायत विषयमा समेत कुराकानी भएको छ ।

    • कान्तिपुर