Nalsing Gad : Energy Crisis

    1272

    ऊर्जा संकट टार्न नलसिंहगाड

    फाल्गुन १०, २०७२- नलसिंह गाड जल विद्युत् आयोजनाको निर्माण भए ऊर्जा संकटको समाधान हुने विज्ञहरूले बताएका छन् । आयोजनालाई छिटो सम्पन्न गर्न जलमाफियाको चलखेल र राजनीति हस्तक्षेप रोकी सरकारी लगानीबाटै निर्माण अघि बढाउनुपर्नेमा उनीहरूको जोड छ । 

    लागत तथा निर्माणका दृष्टिले सबैभन्दा सस्तो भएकाले पनि यसलाई राष्ट्रिय गौरवको आयोजनामा राखिनुपर्ने आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कार्कीले बताए । ‘आयोजना निर्माणले ऊर्जा संकट समाधान हुने उनले बताए । जलाशययुक्त आयोजना भएकाले विद्युतको मौसमी उच्च माग पूरा गर्ने, डुबान तथा विस्थापित कम हुने, विवादित नभएको, नदी स्थिर भएको, जग्गा कम अधिकरण हुने, वनजंगल कम विनाश हुने लगायत कारण यो आयोजना अन्यभन्दा महत्त्वपूर्ण मानिएको हो,’ उनले भने, ‘उक्त आयोजनाको निर्माणको जिम्मा राज्यले नै लिनुपर्छ ।’ पब्लिक प्राइभेट पार्टनरसिप अवधारणाबाट अघि बढे आयोजना अलपत्र पर्ने उनको भनाइ छ । ‘यो पुरानो अवधारण हो,’ उनले भने, ‘यस अवधारणाअनुसार राजनीतिक विवाद र जलमाफियाको चलखेलमा सक्रियता बढ्छ ।’ 

    कुलेखानी र मस्र्याङदी जलविद्युत् आयोजना सरकारले नै निर्माण गर्दा छिटो निर्माण सम्पन्न भएको उनले बताए । ‘नलसिंह गाडलाई विवादित आयोजना बनाउनु हुँदैन । आयोजना सफल पार्न सरोकारवाला सबैको सहयोगको सकारात्मक वातावरणको आवश्यकता छ,’ उनले भने ।

    चालू आर्थिक वर्षमा आयोजनाको डीपीआर कार्यको प्रक्रिया अघि बढेको छ । आयोजना पहिचान भएको २७ वर्ष नाघेको छ । हालसम्म सरकारले आयोजनामा १ अर्बभन्दा बढी खर्च गरिसकेको छ । चालू आर्थिक वर्षमा आयोजनाका लागि ४७ करोड ५२ लाख विनियोजन गरिएको छ । डीपीआरका लागि अन्तर्राष्ट्रिय सूचीकृत परामर्शदाता छनोट भइसकेको आयोजनाका सिनियर इन्जिनियर सूर्यप्रसाद रिजालले बताए । ‘सम्भाव्यता अध्ययनलाई परिमार्जन गरी विद्युत् उत्पादन तथा ४ सय केभी प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकनको कार्य गर्ने छ,’ रिजालले भने । 

    ४ सयदेखि ६ सय मेगावाट विद्युत् उत्पादन क्षमता भएको यो आयोजनाको वाँधस्थल र जलाशय आसपासमा अटोमेटिक एन्ड डिसार्ज गेजिङ तथा वेदर स्टेसन स्थापना गर्ने, विल्डिङ एन्ड क्याम्प प्लान, वाटरसेड म्यानेजमेन्ट प्लान, फाइननसयल मोडालिटी स्टडी, मार्केट सर्भे, ल्यान्ड एन्ड प्रोपर्टी इन्भेन्टोरी सर्भे, सोसियोइकनोमिक बेसलाइन सर्भे, हाइड्रोलोजिकल, भूकम्प सर्भे, भौगर्भिक सर्भे, कोर ड्रिलिङ, पावर अटिमाइजेसन, फिल्ड सर्भेलगायत सम्भाव्यता अध्ययनका कार्य सम्पन्न भइसकेको उनले बताए । गत आर्थिक वर्षदेखि आयोजनाले जग्गा अधिकरण तथा सोको मुआब्जा वितरण र भौतिक पूर्वाधारको कार्य गर्दै आएको छ । गत आर्थिक वर्षमा पावरहाउस साइड दल्ली क्षेत्रको २ सय ३९ रोपनी जग्गा अधिकरण गरेर सोको ११ करोड मुआब्जा वितरण गरेको उनले बताए ।

    आयोजनाका लागि ६ हजार रोपनी जग्गा अधिकरण हुने भएको छ । आयोजनाको विद्युत् गृहदेखि बाँधस्थल सम्मको पहुँचमार्ग, शिविर कार्यालय भवन र समुदाय सहयोग कार्यक्रमअन्तर्गत विभिन्न योजनाहरूको निर्माण भइरहेको उनले बताए । त्यस्तै चालू आर्थिक वर्षमा बाथी मेट्रिक सर्भे र आयोजनाको कन्स्ट्रक्सन पावरका लागि रग्दा गाविसको चौखास्थित ताँसुगारको विस्तृत अध्ययन गरिने छ । उक्त ताँसुगार आयोजनाबाट ५ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । 

    स्रोत : कान्तिपुर