पहिलोपटक भारतीय बिजुली काठमाडौंमा

    1413

    काठमाडौंमा अब लोडसेडिङ नहुने निश्चित –

    काठमाडौं, ५ माघ भारतबाट आयात भइरहेको बिजुली मंगलबार पहिलोपटक काठमाडौं आएको छ । खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको निर्माण सकिएपछि भारतबाट आयात भएको करिब २० मेगावाट बिजुली काठमाडौं आएको हो ।

    ‘प्रसारण लाइन बनेपछि भारतबाट आयातीत बिजुली काठमाडौं उपत्यकामा भित्राउन नयाँ बाटो बन्यो,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, ‘मंगलबार साँझ ६ बजेर दुई मिनेटमा ढल्केबर–खिम्ती–लामोसाँघु प्रसारण लाइन हुँदै भारतबाट आयातीत २० मेगावाट बिजुली काठमाडौं भित्रिएको छ ।’

    १४ वर्षअघि निर्माण सुरु भएको खिम्ती–ढल्केबर प्रसारण लाइन सोमबारबाट परीक्षण सञ्चालनमा आएको थियो । ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात भइरहेको बिजुली हेडौँडाभन्दा पूर्व मात्रै आपूर्ति गरिएको थियो । प्राधिकरणले अहिले सो प्रसारण लाइनबाट साँझमा दैनिक रूपमा १ सय २० मेगावाटसम्म आयात गरिरहेको छ । भारतबाट दैनिक ३-४ घण्टा ३ सय ४० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।

    ६० मेगावाटको खिम्ती विद्युत्गृहको बिजुली खिम्ती–लामोसाँघु हुँदै काठमाडौं भित्रिन्छ । अब भारतबाट आयातीत बिजुली पनि सोही प्रसारण लाइन हुँदै काठमाडौं आउने प्राधिकरणले जनाएको छ । १८ माघपछि १७ जेठसम्ममा प्राधिकरणले दैनिक १ सय ६० मेगावाटसम्म बिजुली भारतबाट ल्याउने छ । एनटिपिसी विद्युत् व्यापार निगमले मुजफ्फरपुर बिन्दुमा प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३.६० भारु) बिजुली दिनेछ । भारतको बिजुली पनि आएपछि काठमाडौं उपत्यकामा बिजुलीको व्यवस्थापनमा सहज भएको प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यकमा बिजुलीको माग करिब ३ सय २५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

    हेटौँडा–कुलेखानी–स्युचाटार अन्तिम चरणमा

    काठमाडौं उपत्यकमा थप बिजुली ल्याउने हेटौँंडा–कुलेखानी– २ स्युचाटार १३२ केभी दोस्रो सर्किट प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । त्यस प्रसारण लाइनअन्तर्गत हेटौँडा–मातातीर्थ खण्डको परीक्षण सञ्चालन (चार्जिङ) भइसकेको छ । मातातीर्थ–स्युचाटार खण्डको प्रसारण लाइनमुनि पर्ने घर भत्काउने काम अन्तिम चरणमा पुगेको छ । ‘१९ घरमध्ये तीन घर मात्रै भत्काउन बा“की छ,’ आयोजना प्रमुख केदारराज सिलवालले भने, ‘एक हप्ताभित्र भत्काइसक्ने गरी घरधनीले काम गरिरहनुभएको भएको छ, त्यसपछि लाइनको चार्ज सुरु हुनेछ ।’

    अहिले हेटौँडा–कुलेखानी–स्युचाटारको पहिलो सर्किटबाट करिब १ सय मेगावाट काठमाडौं आइरहेको छ । दोस्रो सर्किट बनेपछि थप १ सय मेगावाट ल्याउन सकिने सिलवालले बताए । १२३ केभी प्रसारण लाइनको टावरको केन्द्रबिन्दुबाट दायाँबायाँ नौ–नौ मिटर घर बनाउन पाइँदैन । तर, सरकारी निकायबीच समन्वय नहुँदा प्रसारण लाइनको मातातीर्थ–स्युचाटार खण्डमा जग्गाधनीले नगरपालिकाबाटै नक्सापास गराएर तारमुनि घर बनाएका थिए । प्राधिकरणबाट क्षतिपूर्ति दिएर तारमुनिका घरधनीले आंशिक रूपमा घर आफैँ भत्काएका हुन् ।

    पश्चिमको बिजुली काठमाडौंमा

    ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत आयात भइरहेको बिजुली हेटौँडासम्म आइरहेको छ । भारत र नेपालको प्रसारण लाइन मिलान (सिङक्रोनाइजेसन) नभइसकेकाले उक्त बिजुली काठमाडौं ल्याउन भने सकिनेछैन । तर, १४४ मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दीलगायतका विद्युत्गृहबाट हेटौँडापूर्व आपूर्ति गरिएको बिजुलीलाई काठमाडौंतर्फ मोड्न सकिने प्राधिकरणले जनाएको छ । ठूला विद्युत्गृह सबै पश्चिममा रहेका, तर माग पूर्वमा रहेकाले प्राधिकरणलाई बिजुलीको व्यवस्थापन चुनौतीपूर्ण छ । अहिले मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइनमार्फत त्यस क्षेत्रका आयोजनाका बिजुली काठमाडौं आइरहेको छ । त्यस प्रसारण लाइनले थेग्न नसकेको बिजुली मस्र्याङ्दी–भरतपुर–हेटौँडा हुँदै काठमाडौं ल्याउन सकिने सिलवालले बताए ।

    ढल्केबर–मुजफ्फपुर क्रसबोर्डर प्रसारण लाइनको नेपालतर्फको पूर्वाधार तयार नभइसकेकाले १७ पुसदेखि १८ माघसम्म एक सय २० मेगावाट मात्रै प्राधिकरणले आयात गरिरहेको छ । खिम्ती–ढल्केबर र हेटौँडा–कुलेखानी– २ स्युचाटार प्रसारण लाइन निर्माण माघको दोस्रो हप्ता सक्ने र त्यसपछि १७ जेठसम्ममा एक सय ६० मेगावाटसम्म बिजुली भारतबाट ल्याउनेछ । एनटिपिसी विद्युत् व्यापार निगमले मुजफ्फरपुर बिन्दुमा प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३.६० भारु) बिजुली दिनेछ ।

    १४ वर्षपछि सकियो खिम्ती–ढल्केबर

    आयोजना सुरु भएको १४ वर्षपछि खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको निर्माण सकिएको छ । आयोजनाको पहिलो सर्किटको परीक्षण प्रसारण भइरहेको आयोजना प्रमुख श्याम यादवले बताए ।  दोस्रो सर्किट चैतभित्र सक्ने लक्ष्य राखिएको छ । विश्व बैंक, नेपाल सरकार र प्राधिकरणको लगानीमा आयोजना आर्थिक वर्ष ०५९-६० मा सुरु भएको थियो । प्रसारण लाइनको निर्माण सन् २००९ भित्रै पूरा भइसक्नुपर्ने भए पनि स्थानीयवासीको अवरोधले काम रोकिएको थियो । २२० केभी प्रसारण लाइनका लागि दायाँ–बायाँ १५–१५ मिटर जमिन अधिग्रहण गर्दा चलेको दरको १० प्रतिशत मात्रै क्षतिपूर्ति दिने व्यवस्था  छ । तर, स्थानीयले विरोध जनाएपछि ऊर्जा मन्त्रालयले प्रसारण लाइनको मुनिबाट फिडर रोड निर्माण गर्ने र त्यसबापत प्रसारणलाइनको मध्यमार्गबाट दायाँ–बायाँ दुवैतिरका १५ मिटरका जग्गाधनीलाई सडक विभागमार्फत चलेको दरअनुसार शतप्रतिशत मुआब्जा दिएको थियो ।

    काठमाडौंमा अब लोडसेडिङ नहुने निश्चित

    भारतबाट आयातीत बिजुली ल्याउन सम्भव भएपछि उपत्यकामा अब लोडसेडिङ नहुने पक्का भएको छ । तिहारपछि काठमाडौं उपत्यका लोडसेडिङमुक्त छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भारतबाट थप बिजुली उपत्यकामा भित्रिएपछि प्रणालीको विश्वसनीयता र स्थिरतामा वृद्धि भएको बताए । उनले भने, ‘अब लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन सक्ने भएका छौँ ।’

     

    सचेन गौतम/नयाँ पत्रिका