More Multinational companies entering

    1145

    बहुराष्ट्रिय कम्पनी धमाधम

    • विदेशी लगानी भित्रिने वातावरण

    fdi-nepaliभारतसँग भएको पीटीए र माथिल्लो कर्णालीको पीडीएले लगानीको वातावरण सुधार हुने संकेत दिएको छ

    काठमाडौ, आश्विन ११ – अफ्रिकाका सबैभन्दा धेरै सम्पत्तिका मालिक डांगोटेले सिमेन्ट कारखाना खोल्न आवेदन दिएको झन्डै डेढ वर्षपछि भारतका तेह्रौं अनिल अम्बानीको रिलायन्सले पनि त्यसै क्षेत्रमा रुचि देखायो। यी दुवैले सिमेन्ट कारखाना खोले भने १ खर्ब १३ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिने छ।

    पाँच सय ५ ठाउँमा शाखा खोलिसकेको म्यारोट होटलले केही समयअघि नेपालमा पनि लगानी गर्ने अनुमति पाएको छ। मेरियट ब्रान्डमा दुई होटल निर्माणको चरणमा छन्। नीतिगत समस्या, ऊर्जा संकटलगायत समस्याबीच पछिल्लो समय नेपालमै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन खोज्ने यी तीन बहुराष्ट्रिय कम्पनी प्रतिनिधि मात्रै हुन्। विकसित मुलुकमा वर्चस्व जमाइसकेका बहुराष्ट्रिय कम्पनीको संविधानसभाको दोस्रो निर्वाचनलगत्तै आकर्षण बढेको हो। ‘विदेशी लगानीकर्ताको आकर्षण भने बढेको छ,’ उद्योग विभाग विदेशी लगानी तथा प्रविधि हस्तान्तरण महाशाखाका प्रमुख विपिनराज भण्डारीले भने।

    नेपालमा वैदेशिक लगानी स्वीकृति दिने दुई निकाय छन्। एउटा उद्योग विभाग हो। अर्को लगानी बोर्ड। बोर्डले १० अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी स्वीकृति दिने काम गर्छ। त्यसभन्दा कमको विदेशी लगानी विभागबाट स्वीकृति दिन्छ। २०६८ सालमा बोर्ड गठन भएको हो।

    अहिलेसम्म बोर्डबाट औपचारिक रूपमै लगानी गर्न खोजेको भारतीय अर्बपति अम्बानी अध्यक्ष रहेको रिलायन्स सिमेन्ट उद्योग हो। अर्को नाइजेरियाका एलिको डांगेटेको ‘डांगोटे गु्रप’ अन्तर्गतको हो। बहुराष्ट्रिय कम्पनी नै रहेको डांगोटेले ७३ अर्ब रुपैयाँमा सिमेन्ट कारखाना खोल्ने प्रस्ताव पेस गरी बोर्डबाटै एफडीआई स्वीकृत गराइसकेको छ। उद्योग सञ्चालनका लागि गत जेठमा कम्पनी दर्ता गरी प्रक्रिया अघि बढाइसकेको छ।

    बोर्ड स्रोतका अनुसार नेपालमै सोलार प्यानलदेखि अन्य उत्पादन गर्ने गरी भारतीय र चिनियाँ कम्पनीले पनि रुचि देखाएका छन्। ‘भारत र चीनको दुई छुट्टाछुट्टै बहुराष्ट्रिय कम्पनीले लगानी गर्ने तत्परता देखाएका छन्,’ बोर्डका एक अधिकारी भन्छन्, ‘सोलारसम्बन्धी सरकारको स्पष्ट नीति/नियम नभएकाले लगानी गरिहाल्न हिचकिचाइरहेका छन्।’

    गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको कम्पनीसँगको सहकार्यमा शेराटन होटल फेरि नेपाल आउँदै छ। काठमाडौंमै पाँचतारे होटल खोल्नका लागि बहुराष्ट्रिय कम्पनी शेराटनलाई पनि विभागले औपचारिक सहमति दिइसकेको छ। घलेको एमआईटी होल्डिङ गु्रप नेपाल र शेराटन ब्रान्डले चिनिएको सिँगापुरको अन्तर्राष्ट्रिय स्टारवुड होटल एन्ड रिसोर्ट वल्र्डवाइडबीच औपचारिक सहमति गरी नेपालमा लगानी गर्ने स्वीकृति पाएको हो। नारायणहिटी दरबार नजिक रहेको १३ रोपनी जग्गामा पाँचतारे होटल बनाउन तयारी सुरु गरेका छन्। शेराटन नेपालमा दोस्रो पटक आउन लागेको हो।

    एभरेस्ट होटलमा सहकार्य रहेको शेराटन १९८९ मा फर्किएको थियो। सरकारी अधिकारी भने यसलाई वातावरण सुधार भएको दाबी गर्छन्। ‘आधा दर्जनभन्दा बढी तारे होटलहरूले नेपालमा लगानी गर्ने गृहकार्य गरिरहेका छन्,’ अर्थमन्त्री रामशरण महतले भने, ‘भारतसँग भएको ऊर्जा व्यापार सम्झौता (पीटीए) र माथिल्लो कर्णाली जलविद्युत् विकासका लागि भएको आयोजना विकास सम्झौता (पीडीए) ले ऊर्जाको सुनिश्चितता र लगानीको वातावरण बनेको भन्ने देखाएको छ।’

    त्यसमध्ये माथिल्लो कर्णालीको प्रवर्द्धक जीएमआरसँग मुलुककै पहिलो पीडीए भएको छ।

    बहुराष्ट्रिय कम्पनी जीएमआरले नै माथिल्लो मस्र्याङदी पनि बनाउन खोजेको छ। टर्की र नयाँदिल्लीको एयरपोर्टसमेत बनाएको जीएमआरले माथिल्लो मस्र्याङदी र कर्णाली गरी करिब २ खर्ब ४५ अर्ब लगानी जुटाउँदै छ। यसगरी १ खर्ब ११ अर्बको तामाकोसी, १ खर्ब ४८ अर्ब रुपैयाँको पश्चिम सेती जलविद्युत् आयोजना विकासका लागि बहुराष्ट्रिय कम्पनीहरूले नै चासो देखाइरहेका छन्। तर लगानीको वातावरणमा थप सुधार नभई उत्साही भइहाल्न नसकिने उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका बताउँछन्।

    भारतमा भइरहेको वातावरण सुधारका कारण लगानी वास्तविक रूपमा देखिन नेपालका लागि चुनौती थपिँदै गएको मुरारका ठान्छन्। ‘नेपालमा एफडीआई ल्याउने मुख्य मुलुक भारत नै हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगानीका हरेक वातावरण सुधार गरी विदेशीलाई आहान गर्न सुरु गरेका छन्,’ उनी थप्छन्, ‘यताको वातावरण सुधार नहुने उताको वातावरण राम्रो हुनु हाम्रो लागि चुनौतीको विषय हो।’ पीटीए र पीडीए सम्झौताका कारणले जलविद्युत्मा भने लगानी हुने विश्वास उनको छ।

    विगतको अनुभव हेर्दा भने विदेशी लगानीकर्ताले यहाँ प्रशस्तै मुनाफा गरेकाले पनि यहाँ बजारको सम्भावना बलियो देखाउँछ। बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको प्रतिकित्ता सेयर मूल्य १४ हजार ५ सयभन्दा बढी छ। यो सेयर बजारमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा बढी हो। चुरोट र केहीअघिसम्म गार्मेन्टमा समेत लगानी गरेको भारतीयको बहुराष्ट्रिय कम्पनी आईटीसी लिमिटेडले ०६९ फागुन अन्त्यमा करपछि ३ अर्ब ७० करोड रुपैयाँ नाफा कमायो। अर्को बहुराष्ट्रिय कम्पनी डाबर नेपालले पनि गएको वर्ष ३४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

    सेवा क्षेत्रको कम्पनी एनसेलले खुद बिक्री अघिल्लो वर्षभन्दा ११ प्रतिशतले बढाएको छ। त्यस्तै एसियन पेन्ट्सले त २०१२/१३ मा उत्पादन क्षमता बढाएर वार्षिक २० हजार किलोलिटर पुर्‍याएको छ। नेपालमा मात्रै १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्छ। सबैभन्दा बढी कर बुझाउने १० कम्पनीहरूमध्ये आधाजसो बहुराष्ट्रिय नै छन्।

    Source : Kantipur