तल्लो हेवाको निर्माण सकिन अझै ६ महिना लाग्ने

    1287

    काठमाडौं । पाँचथरमा निर्माणाधीन २२.२ मेगावाटको तल्लो हेवा जल विद्युत आयोजनाको काम सकिन अझै कम्तिमा पनि ६ महिना लाग्ने देखिएको छ । तर, आयोजनाको प्रवद्र्धक कम्पनी माउन्टेन हाइड्रो नेपाल प्रालीले भने तीन महिनामा सकिने दावी गरिरहेको छ । कम्पनीले वैशाखभित्रमा विद्युत उत्पादन गर्न दावी गरिहेको छ । तर, फिल्डमा भइरहेको कामको प्रगति हेर्दा तीन महिनामा विद्युत उत्पादन हुने कुनै सम्भावना छैन । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार, आयोजनाले विद्युत उत्पादन हुनु पर्ने मिति (आरसीओडी) आगामी १ असार २०७४ छ । कावेली करिडोर १३२ केभी प्रसारण लाइनको स्थलगत निरीक्षण गर्न शुक्रबार पाँचथर पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको अवलोकन गरेका थिए । अवलोकनपछि घिसिङले भने,‘६ महिना अघि आयोजनाको निर्माण कुनै पनि हालतमा सकिंदैन ।’


    उनले आयोजनाको टर्वाइन लगायतका उपकरण जडान गरिरहेको भ्वाइथ हाइड्रोका प्रतिनिधिसँग पनि छलफल गरेका थिए । छलफलमा क्रममा भ्वाइथ हाइड्रोका प्रतिनिधिले उपकरण जडानका लागि कम्तिमा पनि चार महिना लाग्ने बताएका थिए । ‘प्रसारण लाइन बनाएन भन्दै प्रवद्र्धकले प्राधिकरणलाई दोष दिन्छन् तर उनीहरुको फिल्डमा काम नै भएको हुँदैन’,घिसिङले भने ।
    विद्युत गृहका उपकरण जडान गर्न सुरु मात्रै भएको छ । आयोजनाले स्विचयार्ड बनाउन सुरुसमेत गरेको छैन । प्राधिकरणको सव–स्टेसन थापाटारसम्म विद्युत पुर्याउन आयोजनाले बनाउनु पर्ने तीन किलोमिटर प्रसारण लाइनको अत्तोपत्तो छैन । पेनस्टक पाइप जडान भइरहेको छ । आयोजना प्रमुख गणेशप्रसाद सुब्बाले समग्रमा निर्माण प्रगिति ९० प्रतिशत रहेको बताए ।कम्पनीका अध्यक्ष सिताराम तिम्सिनाले भने कावेली करिडोर प्रसारण लाइन निर्माण अनिश्चित रहेकाले आयोजनाको काम केही प्रभावित भएको बताए । कार्यकारी निर्देशक घिसिङले फिदिमको जोरसल्ला र इलामको सिद्धिथुम्कामा रहेको प्रसारण लाइन निर्माणको समस्या समाधान गरी काठमाडौं फर्किएका थिए । प्रसारण लाइन निर्माण असारभित्रमा सक्ने लक्ष्य राखिएको छ ।