२८ मेगावाटको तल्लो लिखुमा लगानी जुट्यो

    1205

    ५ अर्ब ५९ करोडको आयोजना ०७८ मा सम्पन्न हुने 

    काठमाडौं,

    रामेछाप जिल्लाको लिखु खोलामा निर्माण हुने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत् आयोजनामा लगानी जुटेको छ । सानिमा हाइड्रो समूहअन्तर्गतको श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन कम्पनीले निर्माण गर्ने आयोजनामा ५ वटा बैंक तथा वित्तीय संस्थाले संयुक्त ऋण लगानी गर्ने सम्झौता गरेका छन्।

    कम्पनीले निर्माण गर्न लागेको आयोजनामा ५ वटा बैंक तथा वित्तीय संस्थाले ४ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । लक्ष्मी बैंकको अगुवाइमा कुमारी बैंक, सेन्चुरी बैंक, प्रभु बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको संयुक्त ऋण लगानी गर्ने भएका हुन् ।

    आयोजनाको कुल लागत ५ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । त्यसमा बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत र बाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणले लगानी गर्नेछन् ।

    लगानी जुटेसँगै आयोजना समयमा निर्माण सम्पन्न हुने निश्चित भएको कम्पनीका सिइओ सुवर्णदास श्रेष्ठले बताए । यही आर्थिक वर्षभित्र निर्माणमा जाने र तोकिएको समयमा काम सम्पन्न गर्न सबै प्रक्रिया पूरा भइसकेको उनले बताए ।

    आयोजनामा लक्ष्मी बैंकले १ अर्ब २४ करोड, कुमारी बैंकले १ अर्ब, सेन्चुरी बैंकले ७५ करोड, प्रभु बैंकले ४० करोड र जलविद्युत् लगानीले ८० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । यसअघि श्वेतगंगा र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेको छ ।

    विद्युत् विकास विभागले पनि विद्युत् उत्पादन अनुमतिपत्र दिइसकेको छ । श्वेतगंगालाई सानिमा ग्रुप र डोल्मा इम्प्याक्ट फन्डले संयुक्त रूपमा प्रवद्र्धन गरेका हुन् । आयोजनाबाट वार्षिक १७ करोड ८४ लाख युनिट बिजुली उत्पादन हुनेछ ।

    रामेछापको साबिक सैपु गाविसको फेदी तथा सिरिसेमा आयोजनाको हेडबक्स रहनेछ भने विद्युत् उत्पादनगृह साबिक बिजुलीकोट गाविसको रातामाटामा रहनेछ । उत्पादित विद्युत् लिखु बेसिनमा १० किलोमिटरमाथि निर्माण भइरहेको लिखु ४ जलविद्युत् आयोजनाको सबस्टेसन वा २७ किमि पर रहेको न्युखिम्ती सबस्टेसनमा जोडिने श्रेष्ठले बताए । आयोजना ०७८ साल मंसिरमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । हाल ठेकेदार छनोट प्रक्रिया अन्तिम चरणमा रहेको र पूरा भएपछि आयोजनाको निर्माण सुरु गरिने उनले बताए । सानिमा ग्रुपले २२ मेगावाटको सानिमामाई, ७ मेगावाटको सानिमा क्याककेड, साढे २ मेगावाटको सुनकोसी आयोजना सम्पन्न गरेको छ । कम्पनीले ५२ मेगावाटको मध्यतमोर आयोजना पनि निर्माण गर्ने जनाएको छ ।

    स्रोत:नयाँपत्रीका