जलविद्युत् कम्पनी दोर्दीमा लगानी गर्दै

    2665

    साउन १, काठमाडौं ।

    Hydroelectricity Investment & Development Company Limitedजलविद्युत् लगानी तथा विकास कम्पनीले दोर्दी खोला जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । आयोजना निर्माणका लागि उपयुक्त देखिएकाले कम्पनी लगानी गर्ने निर्णयमा पुगेको जलविद्युत् लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले अभियानलाई बताए । उनले भने, ‘आयोजनामा लगानी गर्न हामीले सहमति जनाइसकेका छौं ।’ कम्पनीले आयोजनामा करीब रू. ६५ करोड लगानी गर्ने भएको छ ।

    आयोजनामा प्राइम कमर्शियल बैङ्कको नेतृत्वमा विभिन्न बैङ्क तथा वित्तीय संस्थाले करीब २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्दैछन् । ‘आर्थिक र प्राविधिक दृष्टिले उपयुक्त देखिएकोले आयोजना निर्माणमा लगानी गर्ने निर्णयमा पुगेका हौं,’ रौनियारले भने । ऊर्जा मन्त्रालयका सहसचिव केशवध्वज अधिकारीको संयोजकत्वमा गठित प्राविधिक टोलीले आयोजनामा लगानी गर्न उपयुक्त रहेको प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनपछि कम्पनी आयोजना निर्माणमा लगानी गर्ने निर्णयमा पुगेको हो । आयोजनास्थल लमजुङमा रहेको छ । आयोजनास्थलसम्म बाटोको सुविधा पुगिसकेकाले पनि आयोजना निर्माण कार्य अघि बढाउन सहज हुने आयोजनाको एक प्रवर्द्धकले बताए । सो क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन नपुगेकाले आयोजनाबाट विद्युत् उत्पादन हुनुअगावै प्रसारण लाइन निर्माण गर्नुपर्ने अवस्था रहेको पनि प्रवर्द्धकहरूले बताएका छन् । नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच आयोजनाबाट उत्पादित विद्युत् खरीद गर्ने सम्बन्धमा २०६९ असार १ गते नै सम्झौता (पीपीए) भइसकेको छ । सम्झौताअनुसार प्राधिकरणले प्रतियुनिट हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसाका दरले विद्युत् खरीद गर्नेछ ।

    आयोजनामा लगानी गर्न नेतृत्व गरिरहेको प्राइम कमर्शियल बैङ्कले रू. ६५ करोड लगानी गर्ने तयारी गरेको छ । आयोजना निर्माणका लागि कुल रू. ३ अर्ब ५९ करोड खर्च हुने अनुमान गरिएको छ । त्यसमध्ये २ अर्ब ५० करोड विभिन्न बैङ्क तथा वित्तीय संस्थाले र बाँकी रू. १ अर्ब ९  करोड आयोजना प्रवर्द्धकहरूले लगानी गर्ने बताइएको छ । हिमालयन पावर पार्टनर प्रालिले निर्माण गर्न लागेको सो आयोजनाको क्षमता २७ मेगावाट रहेको छ । सन् २०१४ को जनवरीमा आयोजनाको निर्माण कार्य शुरू गरी सन् २०१७ को जुनभित्र पूरा गर्ने आयोजनाको लक्ष्य छ ।

    Source : Abhiyan