एडीबीको लगानी २ खर्ब ४ अर्ब

    1017

    काठमाडौं । नेपालमा एशियाली विकास बैङ्क (एडीबी)को लगानी रू. २ खर्ब ४ अर्ब पुगेको छ । एडीबीले कृषि, पूर्वाधार, ऊर्जा, यातायात, खानेपानी, शिक्षा, शहरी विकास र पुनर्निर्माणका ३५ परियोजनामा रू. २ खर्ब ४ अर्ब लगानी गरेको हो ।

    एडीबीले लगानी गरेका ३५ मध्येका १२ परियोजना समापननजीक रहेको, १८ ओटामा काम भइरहेको र ५ ओटा परियोजना शुरुआती अवस्थामा रहेको बताइएको छ । एडीबीका नेपाल प्रमुख मुख्तार खामुदखानोभले परियोजना निर्धारित समयमा सम्पन्न गर्न स्थानीय तहसँग सहकार्य गर्ने बताए । ‘हाम्रा सबै परियोजना स्थानीय स्तरमा सञ्चालित छन्, त्यसैले स्थानीय तहसँग सहकार्य गर्ने भनेका छौं,’ उनले भने ।

    कुल लगानीको ३१ प्रतिशत अर्थात् रू. ७६ अर्ब १० करोड शहरी विकास तथा खानेपानीसम्बन्धी परियोजनामा प्रवाह गरिएको छ । सो लगानी एडीबीले नेपालमा गरेको लगानीको सबैभन्दा ठूलो हिस्सा हो । ऊर्जा क्षेत्रमा एडीबीले रू. ६० अर्ब अर्थात् कुल लगानीको २५ प्रतिशत प्रवाह गरेको छ । यातायात क्षेत्रमा १९ प्रतिशत (रू. ४५ अर्ब ३० करोड) खर्चिएको छ । एडीबीले कृषि तथा प्राकृतिक स्रोतहरूमा ९ प्रतिशत (रू. २३ अर्ब) लगानी गरेको छ । पुनर्निर्माणमा २० अर्ब ३० करोड र शिक्षामा १४ अर्ब १० करोड रुपैयाँ लगानी गरेको छ । उल्लिखित शीर्षकबाहेक एडीबीले ५ अर्ब रुपैयाँ अन्य लगानी पनि गरेको छ । लगानी समीक्षा बैठकमा एडीबीले अस्थिर व्यवस्था र नीतिगत अस्पष्टताले नेपालका परियोजना समयमा सम्पन्न गर्न चुनौती थपिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेको छ ।

    मुख्यगरी विमानस्थल परियोजनामा एडीबी असन्तुष्ट छ । एडीबीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल तथा गौतम बुद्ध विमानस्थल परियोजनालाई लयमा फर्काउनु नै चुनौतीपूर्ण भनेको छ ।

    सरकारले दीर्घकालीन महत्त्वका परियोजनालाई समयमा सम्पन्न गर्न/गराउन दातासँग मिलेर काम गर्ने बताउँदै आएको छ । लगानी समीक्षा बैठकमा अर्थसचिव शङ्कर अधिकारीले विनाअवरोध परियोजना सम्पन्न गरी लागत र समय बचत गर्न सरकारले एडीबीलाई सहयोग गर्ने बताए । एडीबीले सन् २०१७ मा नेपालमा ३३ करोड ९० लाख अमेरिकी डलर लगानी गर्ने लक्ष्य लिएकामा हालसम्म ८८ प्रतिशत अर्थात् २९ करोड ८० लाख अमेरिकी डलरमात्र खर्च भएको बताएको छ ।

    स्रोत:अभियान