ढल्केबर सवस्टेशन ३ महिनाभित्र २२० केभीमा, ४ वर्षपछि भारतबाट बिजुली आयात गर्नु नपर्ने

    1414

    काठमाडौं । नेपाल–भारत अन्तरदेशीय प्रसारणलाइन अन्तर्गतको ढल्केबर सवस्टेशन आउँदो ३ महिनाभित्र २२० केभीमा सञ्चालनमा आउने भएको छ ।

    ढल्केबरमा कम क्षमताको सवस्टेशनका कारण हाल १३२ केभीबाट १६० मेगावाटसम्म विद्युत प्रवाह भइरहेको छ । आउँदो भदौको पहिलो सातासम्म २२० केभीमा चार्ज हुने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । २२० केभीमा चार्ज भएपछि सो लाइनबाट २ सय मेगाावाट बिजुली आदानप्रदान गर्न सकिने उनले जानकारी दिए । हाल १३२ केभी क्षमताबाट १६० मेगावाट बिजुली आयात भइरहेको छ । आगामी २ वर्षभित्र सवस्टेशनलाई ४ सय केभीमा स्तरोन्नोति गर्ने लक्ष्य लिइएको छ । ढल्केबर सवस्टेशन सम्पन्न नहुन्जेलसम्मका लागि विद्युत प्राधिकरणले भारतसँग थप ३ महिनाका लागि विद्युत आयात नवीकरण गरेको छ ।

    ढल्केबरमा २२० केभी सवस्टेशन सञ्चालनमा आएपछि अन्य नाकाबाट आयात हुने बिजुली कटौती गरी यही प्रसारणलाइनबाट आपूर्तिको तयारी भइरहेको अधिकारीले सुनाए ।

    प्राधिकरणले कटैया–कुसाह, परवानीपुर– रक्सौल नाकामा पनि १३२ केभी क्षमताको प्रसारणलाइनको काम सम्पन्न गरेको छ । यस्तै वर्दघाट–गोरखपुर ४ सय केभी क्षमताको दोस्रो अन्तरदेशिय प्रसारणलाइनको काम पनि अघि बढ्ने तयारीमा छ ।

    निर्माणधिन सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि वर्षातमा भारतबाट हुदै आएको विद्युत आयात बन्द हुने भएको छ । माथिल्लो तामाकोसीका अतिरिक्त निजी र सार्वजनिक क्षेत्रबाट धेरै आयोजना सम्पन्न भई विद्युत उत्पादन थप हुने भएपछि भारतबाट बिजुली आयात बन्द हुने अधिकारीले बताए ।

    उनका अनुसार वर्षातमा बिजुली आयात बन्द भएपनि हिउँदका लागि केही महिना भारतबाट बिजुली आयात गर्नुपर्ने हुन्छ । यसका लागि दुई देशबीच ऊर्जा बैंक बनाउने विषयमा छलफल भएको अधिकारीले जानकार दिए । माथिल्लो तामाकोसीको पहिलो युनिट ०७५ को असारसम्म र अन्य युनिट सोही वर्षको मंसिरसम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

    वर्षातमा बढी भएको बिजुली भारतलाई दिने र हिउँदमा भारतबाट आयात गर्नका लागि ऊर्जा बैंक स्थापनाका विषयमा छलफल भइरहेको उनले जानकारी दिए । उनले आउँदो ४ वर्षभित्र भारतबाट बिजुली आयात बन्द हुने बताए । आउँदो सन् २०२१ सम्म भारतबाट बिजुली आयात बन्द हुने गरी काम अघि बढेको छ ।

    तामाकोसी अर्धजलाशययुक्त आयोजना भएकाले साँझको मागलाई पूरा गर्नेछ  । यस्तै कुलेखानी जलाशय र चमेलिया जस्ता अर्धजलाशययुक्त आयोजना पनि सम्पन्न हुने चरणमा रहेका छन् । आगामी वर्ष निजी क्षेत्र र सार्वजनिक गरी २४५ मेगावाट बिजुली थप हुँदै छ । आउँदो ३ वर्षमा १ हजार २ सय मेगावाट बिजुली थप भई कुल जडित क्षमता २ हजार १ सय मेगावाट नाघ्नेछ ।

    चालु आर्थिक वर्षको हालसम्म १० आयोजना सम्पन्न भई प्रणालीमा ११७ मेगावाट बिजुली थप भएको प्राधिकरणले जनाएको छ । अझै प्रणालीमा ३५ मेगावाट थप हुने तयारीमा छ । लोडसेडिङ हटाउन प्राधिकरणले यो वर्ष १४ अर्ब २० करोड रुपैयाँ खर्चेर १ अर्ब ९७ करोड २० लाख युनिट बिजुली आयात हुने अनुमान गरेको छ । यो गत वर्षको तुलनामा यो वर्ष बिजुली आयात २० करोड रुपैयाँमात्र बढी हो ।

    गत वर्ष प्राधिकरणले १४ अर्ब रुपैयाँ खर्चेर १ अर्ब ७३ करोड युनिट बिजुली आयात गरेको थियो । आयात १३ प्रतिशत बढेपनि सस्तो मूल्यमा बिजुली खरिद गरेकाले यो वर्ष बिजुली खरिदको भुक्तानी रकम २० करोड रुपैयाँमात्र बढेको हो ।

    लोडसेडिङ हटाउन प्राधिकरणले भारतबाट विद्युत आयात गरिरहेको छ । यो वर्षमात्र भारतबाट ३८५ मेगावाटसम्म बिजुली आयात गरिसकेको छ ।

    स्रोत:बाह्रखरी