कुलमान घिसिङले भने–देशले लोडसेडिङ तालिका अब कहिल्यै नपाउने

    1254

    कनकाई नगरपालिका नेपालकै पहिलो विद्युत चुहावटमुक्त नगरपालिकाका रुपमा घोषणा गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले शनिवार कन्काई नगरपालिकालाई देशकै पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरेका हुन् ।

    घोषणासँगै घिसिङले देशले अब कहिल्यै लोडसेडिङको तालिका नपाउने र केही महिनादेखि विद्युत प्राधिकरणले जनतालाई बढी विद्युत खपत गर्नका लागि सार्वजनिक सूचना जारी गर्ने दाबी गरे । लोडसेडिङभन्दा पनि अबका दिनममा उत्पादन भएको बिजुली कसरी खपत गर्ने भन्नेतिर सोच्ने बेला आएको घिसिङले बताए ।

    केही महिनापछि नै पूर्वको कावेली करिडोरको १०० मेघावाट बिजुली उत्पादन भएर आउने तयारीमा रहेको बताउँदै घिसिङले उक्त बिजुली पूर्वाञ्चल क्षेत्रमै खपत हुने भएकाले विजुलीको उत्पादन प्रशारण लाइनमा जोड्नसाथ पूर्व क्षेत्रलाई हालको मागअनुसार सम्पुर्ण रुपमा विजुली पुग्ने बताए । अवको डेढ वर्षभित्र नेपाल विद्युत प्राधिकरणले सम्पुर्ण विद्युत आयात गर्न छाडेर आफैँ आत्मनिर्भर हुनेगरी प्राधिकरण र सरकार मिलेर काम गरिरहेको समेत जानकारी दिए ।

    कार्यक्रममा कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कन्काई नगर देशकै पहिलो बन्द निषेधि क्षेत्र भएको स्मरण गर्दै यसअघि नै नगरलाई पुर्ण खोपयुक्त र खुल्ला दिसामुक्त नगरका रुपमा घोषणा गरिसकेको जानकारी गराए । ११ हजार घरधुरीमध्ये अझैपनि २० प्रतिशत जनसङ्ख्याले विजुली बाल्नबाट बन्चित हुनुपरेको मेयर पोखरेलले जानकारी दिए ।

    स्रोत:नयाँपत्रीका