जमरा कुलरियाबाट जलविद्युत उत्पादन तयारी तीव्र

    1780

    काठमाडौँ, जेठ ५ गते । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइबाट आयोजनाबाट जलविद्युत् समेत उत्पादन गर्ने तयारी तीव्र भएको छ । जलविद्युत्समेत उत्पादन गर्न जलविद्युत्सम्बन्धी यन्त्र, उपकरणहरू नेपाल भित्रिइसकेका छन् । सिँचाइसहित आयोजनाबाट ४.७ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाले लिएको छ । आयोजनाका अनुसार जलविद्युत् उत्पादनका लाग्ने धेरै जसो उपकरण तथा सामानहरू भन्सार कार्यालयबाट छुटिसकेका छन् भने केही उपकरण आउने क्रम जारी रहेको छ । दुई महिनाभित्र ती उपकरणहरू जडानको प्रक्रियामा जाने कार्ययोजना आयोजनाले बनाएको छ ।

    आयोजनाका प्रमुख सुशीलचन्द्र आचार्यका अनुसार आयोजनाबाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सिँचाइ प्रणाली र विद्युत् गृहका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण कार्य पनि एकैसाथ भइरहेको छ । कर्णाली नदीको पुलभन्दा दक्षिणबाट इन्टेक निर्माण गरिएको छ । इन्टेकदेखि चार किलोमिटर तल मूल नहरमै विद्युत् गृह निर्माण कार्य भइरहेको छ । जलविद्युत् गृहको ठेक्का पाएको ठेकेदार कम्पनीले वर्षा नलाग्दै विद्युत् गृहको जगलगायतका निर्माण कार्य सम्पन्न गरिसक्ने गरी काम अगाडि बढाएको छ । वर्षामा हुन नसक्ने काम मनसुन सुरु नहुँदै सम्पन्न भएमा वर्षामा पनि जलविद्युत् उत्पादनका लागि सामान, उपरकण जोड्ने काममा अप्ठ्यारो नपर्ने र विद्युत् गृहका कार्य नरोकिने बताइएको छ ।

    यो आयोजना सरकारको आन्तरिक स्रोत र विश्व बैङ्कको ऋण सहयोगमा निर्माण गर्न थालिएको हो । आयोजनाको पहिलो चरणको कार्य सम्पन्न भइसकेको छ भने दोस्रो चरणका कार्यका लागि विश्व बैङ्कको सञ्चालक समितिले ऋण दिने निर्णय र सरकारले सो ऋण लिने निर्णय पनि गरिसकेको छ ।

    दोस्रो चरणका लागि बैङ्कले छ अर्ब ४० करोड ऋण सहयोग गरेको छ । यस चरणमा सरकारले आन्तरिक स्रोतबाट एक अर्ब रुपियाँ र स्थानीयस्तरबाट समुदायबाट ४० करोड रुपियाँ बराबरको सहभागिता जुटाउने प्रतिबद्धता सरकारले गरेको छ । ३८ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याउने लक्ष्यका साथ निर्माण सुरु गरिएको आयोजनाको पहिलो चरणमा कर्णाली नदीमा इन्टेक निर्माण तथा अन्य संरचना निर्माण र तल्लो क्षेत्रमा कल्भर्ट, पुल निर्माण तथा नदी नियन्त्रणका कार्यहरू सम्पन्न भइसकेका छन् । विश्व बैङ्कको दस वर्ष निब्र्याजी ऋण तीन अर्ब ७० करोड रुपियाँ, सरकारको ५० करोड रुपियाँ र स्थानीय तहबाट दस करोड रुपियाँ बराबरको साझेदारीमा पहिलो चरणको कार्य सम्पन्न भएको छ ।

    आयोजना प्रमुख आचार्यले भन्नुभयो, हामीले पहिलो चरणका कार्यहरू सम्पन्न गरिसक्यौँ, पहिलो चरणमा सम्पन्न गर्नुपर्ने कर्णाली चिसापानीमा मुख्य इन्टेक, तल्लो क्षेत्रमा ११ वटा पुल, ११७ किलोमिटर सडक स्तरोन्नतिको काम सम्पन्न भएको छ । उहाँका अनुसार कर्णाली, मोहना र पथरैया नदीको २३ किलोमिटर नदी नियन्त्रण कार्य पहिलो चरणमा गरिएको छ । जसले गर्दा सयौँ बिघा जमिन नदी कटानबाट जोगिएको छ ।

    दोस्रो चरणमा तल्लो क्षेत्रमा (जहाँ सिँचाइ हुने) का नहरका विभिन्न संरचना, सातवटा पुल निर्माण, १२० किलोमिटर सडकको स्तरोन्नति, किसानका उत्पादन राख्ने कोल्ड स्टोर निर्माणलगायतका कार्यहरू गर्ने योजना मन्त्रालयले बनाएको छ ।

    कर्णाली नदीबाट पराम्परागत रूपमा सिँचाइ प्रणाली सञ्चालन हुँदै आएको रानी, जमरा र कुलरिया सिँचाइ प्रणालीलाई बृहत् सिँचाइको रूपमा विकास गर्न यो आयोजना सरकारले सुरु गरेको हो । एक सय वर्षभन्दा पहिलदेखि यी तीनवटा पराम्परागत कुलाबाट कैलालीमा सिँचाइ सुविधा सञ्चालन हुँदै आएको छ । वि. सं. १९८५ मा कर्णाली नदीमा आएको ठूलो बाढीले तीनवटै कुलोमा क्षति पु¥याएपछि सरकारले एकीकृत सिँचाइ आयोजनाका रूपमा अध्ययन गरेको थियो ।

    लक्ष्मीप्रसाद उपाध्याय

    स्रोत:गोर्खापत्र