प्राधिकरण र तेह्रथुम पावरबीच विद्युत् खरीद सम्झौता

    2200

    मङ्सिर २, काठमाडौं (अस)। नेपाल विद्युत् प्राधिकरण र तेह्रथुम पावर कम्पनीबीच विद्युत् खरीद सम्झौता भएको छ । सोमवार प्राधिकरण र कम्पनीबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीले ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरङाखोला आयोजनाको निर्माण प्रक्रिया शुरू गरेको छ । वर्षात्को समयमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसाका दरले आयोजनाको विद्युत् प्राधिकरणले खरीद गर्ने सम्झौता भएको कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीले बताए ।

    कम्पनीले २०७६ पुुुस १ गतेसम्ममा आयोजना सम्पन्न गर्ने गरी काम अगाडि बढाएको छ । आयोजनाले जग्गा खरीद र पहुँचमार्ग निर्माणको काम शुरू गरिसकेको बताएको छ । आयोजना बनाउन रू. १ अर्ब ३४ करोड लाग्नेछ । कुल लगानीको ३० प्रतिशत प्रवद्र्धक र ७० प्रतिशत ऋण लगानी गरी आयोजना अगाडि बढाउन लागिएको निर्देशक डाँगीले बताए । उनका अनुसार स्थानीयवासीलाई १० प्रतिशत र आम नागरिकलाई २० प्रतिशत शेयरसमेत वितरण गरिने छ ।

    ऊर्जा मन्त्रालयले १ सय मेगावाट क्षमतासम्मको आयोजनाको विद्युत् खरीद सम्झौता गर्ने अख्तियारी प्राधिकरणका कार्यकारी निर्देशकलाई दिएको छ । सोही कारण पछिल्ला दिनमा निजीक्षेत्रका प्रवर्द्धकको आयोजनाको सहज रूपमा सम्झौता हुन थालेकोमा प्रबन्ध निर्देशक डाँगीले खुशी व्यक्त गरे ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लामो छानबिनका कारण आयोजना दुई वर्ष छ महीना ढिला भए पनि सम्झौता गर्न आपूmहरू सफल भएको डाँगीले बताए । आयोगले वित्तीय व्यवस्थापन गर्न नसकेको भन्दै उक्त आयोजनाको अनुमतिपत्र खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो ।  आयोगको कारबाहीमा नपरेको भए आयोजना २०७४ पुसमा सम्पन्न हुने थियो ।

    Source: Abhiyan