चमेलियाको साँघुरिएको सुरुङ ७८ प्रतिशत खुलाइयो

    1651

    दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको साँघुरिए (इस्क्विचिङ)को सुरुङ ७८ प्रतिशत खुलाइएको छ । साँघुरिएको ८ सय ४२ मिटर सुरुङमध्ये ६ सय ५६ मिटर खुलाइसकेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । अब खुलाउन १ सय ८६ मिटर मात्रै बाँकी छ । ठेकेदारले अहिले हप्तामा १० मिटर खुलाइरहेको छ । लक्षित समयमा सक्न हप्तामा ११ मिटर खन्नुपर्ने आयोजनाले जनाएको छ । साँघुरिएको सुरुङ खुलाउनेसहित सिभिलतर्फको निर्माण ०७४ को असोजको दोस्रो साताभित्र सक्ने लक्ष्य राखिएको छ । सम्पूर्ण निर्माण ०७४ पुसको दोस्रो साता (डिसेम्बर ०१७) सकेर विद्युत् उत्पादन सुरु गर्ने तालिका बनाइएको छ । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि आयोजनाका ठेकेदारले असोजको दोस्रो साताबाट सा“घुरिएको सुरुङ खुलाउन सुरु गरेको थियो । ऊर्जामन्त्री शर्माको उपस्थितिमा प्राधिकरण, ठेकेदार र परामर्शदाताले साँघुरिएको सुरुङ खुलाउन असोजको दोस्रो साताबाट सुरु गर्ने ८ बुँदे सहमति गरेका थिए । ‘काम सुरु गरेपछि ठेकेदारले करिब ४६ मिटर सुरुङ खुलाएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘ठेकेदारले काम राम्रोसँग गरिरहेको छ ।’ दुईतर्फबाट काम हुँदै आयोजनाको  ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी)ले साँघुरिएको सुरुङ खुलाउ दुईतिरबाट काम गरिरहेको छ । मुख्य सुरुङको तल्लो र माथिल्लो भागबाट ठेकेदारले काम गरिरहेको आयोजनाले जनाएको छ । ठेकेदारले माथिल्लो भागबाट ३ सय ५२ मिटर र तल्लो भागबाट ३ सय ४ मिटर खुलाएको हो । कंक्रिट गरिएको भाग खुलाउन जटिल रहेकाले खुलाउन बढी समय लाग्ने गरेको छ । ‘सा“घुरिएको सुरुङभित्र पसेर ज्यानकै जोखिम राखेर काम गर्नुपर्ने अवस्था छ, तैपनि अहिले राम्रो काम भइरहेको छ,’ आयोजनाका एक कर्मचारीले भने, ‘यसबाहेक सिभिलतर्फका बाँकी काम पनि समानान्तर रूपमा ठेकेदारले गरिरहेको छ ।’ हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनतर्फको अधिकांश काम सकिएको छ । ०६८ वैशाख (९ मे २०११) मा सक्ने लक्ष्य राखिएको आयोजनाको अहिलेसम्म करिब ९७ प्रतिशत काम भएको छ। लागत पुनर्मूल्यांकन गर्न समिति प्राधिकरणले साँघुरिएको सुरुङ खुलाउन यसअघि भएको १ अर्ब ९ करोड ३८ लाख रुपैयाँ (भ्याटसहित) लागतको पुनर्मूल्यांकन गर्न समिति गठन गरेको छ । समितिमा ज्ञानेन्द्रलाल श्रेष्ठ, तारानाथ सापकोटा, टुकप्रसाद पौडेल र रामहरि शर्मा छन् । लागत स्वीकृतिमा चलनचल्तीभन्दा बढी दर दिएर अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितिले भुक्तानी रोक्न निर्देशन दिएको थियो । लेखा समितिको निर्देशनपछि प्राधिकरणले भुक्तानी रोकेको थियो । भुक्तानी नपाएको भन्दै ठेकेदार  सिजिजिसीले खुम्चिएको सुरुङ खुलाउने काम दुई वर्षदेखि रोकेको थियो । लेखा समितिले पछि पुनर्मूल्यांकन गराएर भुक्तानी दिन निर्देशन दिएको थियो । आयोजनाले परामर्शदातालाई पुनर्मूल्यांकन गर्न दिएको थियो । तर, उसले पुरानै लागतलाई नै सिफारिस गरेपछि स्वतन्त्र विज्ञ समूहमार्फत पुनर्मूल्यांकन गराउन लागिएको हो । प्राधिकरणले भेरिएसन, विवादित बिलको टुंगो नलागेसम्म ठेकेदारलाई अन्तरिम भुक्तानी (प्रोभिजनल पेमन्ट) दिनेछ । सुरुङ खुलाउँदा हुने भेरिएसन रकमको अन्तिम टुंगो नलागेसम्म काम गर्न नसकिने अडान राख्दै आएको ठेकेदार सिजिजिसी एक्कासि पुरानै रेटमा काम सुरु गर्न सहमत भएको  थियो । बाँध, विद्युत्गृह, सुरुङलगायत सिभिल संरचना निर्माण गर्न सिजिजिसीसित सुरुमा २ अर्ब ८८ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्णय प्रक्रियामा प्राधिकरणबाट भएको ढिलाइ, सम्झौताको फितलो कार्यान्वयन, कमजोर भूबनोटलगायतले आयोजनाको सिभिलतर्फको लागत ५ अर्ब ४२ करोड ७४ लाख पुगेको छ । प्राधिकरणले हालसम्म ६ पटक गरी सम्झौताको १ सय ६० प्रतिशत अर्थात् २ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ भेरिएसन स्वीकृत गरिसकेको छ ।

    नयाँ पत्रिका